coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पाहुना खुवाउने पर्व

उपत्यकाका नेवार समुदायले मनाउने दोस्रो ठूलो चाड पाहुना खुवाउने जात्रा (पाहांचःह्रे)शुक्रबारदेखि सुरु हुँदैछ । तीनदिनसम्म चल्ने जात्रामा नेवार समुदायभित्र पाहुनालाई भोज खुवाउने, भगवान् शिवको पूजा गर्ने, साना केटाकेटीलाई जडीबुटी राखेर बनाइएको परिकार मरःजा खुवाउने चलन छ । यो खुवाएपछि बच्चालाई कुनै रोगव्याधि नलाग्ने विश्वास गरिन्छ । काठमाडौंको थँहिति र लगनटोलको बीचमा बस्ने नेवार जातिले यो पर्वलाई दसैँपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्छन्।

नेपालभाषामा ‘पाहाँ’को अर्थ ‘अतिथि’ र चःह्रेको अर्थ ‘चतुर्दशी’तिथि हुने भएकाले पनि यो जात्रा प्रत्येक वर्ष चैतकृष्ण चतुर्दशीका दिन मनाउने चलन रहेको संस्कृतिविद् चुन्दा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार यो पर्व अतिथि सत्कारसँग जोडिएको छ । जात्रा अवधिभर महादेवलाई पञ्चमकार अर्थात् मत्स्य, मांस, मध्य, मुद्रा र मैथुन राखेर पूजा गर्ने प्रचलन रहिआएको छ । ‘यो जात्रा महादेव र उनकी तीनवटी बहिनीसँग जोडिएको छ,’ उनले भनिन्, ‘जसमा कंकेश्वरी,उचु भद्रकाली र लुमहि भद्रकाली थिए ।यसैलाई स्मरण गर्दै आजसम्म पनि चैत्रकृष्ण अष्टमीका दिन पशुपतिबाट दुदुंच्यांच्यां जात्रागर्ने परम्परा छ।’

‘जात्राका बेला अहिले पनि टोलटोलमा रहेका लुकुमहाद्यः अर्थात् ‘लुकेर बसेको महादेव’लाई लुँबुँवहःबुँभनी तोरी र मुलाको फूल चढाउने र पूजा गर्ने चलन छ।’

‘जात्रा अवधिमा मुख्यतयाकंकेश्वरी, नरदेवी, टंकेश्वरको नीलवाराही, भद्रकाली देवीहरूको जात्राहुने पनि हुने गर्छ,’ संस्कृतिविद् बज्राचार्यले थपिन्, ‘हरेक टोलमा गणेश, भैरव, गंगालगायत भगवान्को पूजाआजा गर्ने चलन छ ।’ 
यसै जात्राका अवसरमा काठमाडौंकै बांगेमुढा, प्यंगःथांस्थित नरसिंहको जात्रापनि देखाउने चलन छ। 

जात्रा संरक्षणका अभियन्ता राजन महर्जनले यो जात्रा भष्भासुरसँग झगडा परेर लुकेका महादेवलाई जगाउने जात्रा रहेको बताए । उनका अनुसार परापूर्व कालमा महादेव भष्मासुरसँग झगडा परी फोहोरले भरिएको ठाउँमा लुक्न जान्छन् । उनी लामो समयसम्म आउँदैनन् । उनैलाई जगाउन उनका बहिनीहरूले यो जात्रा सुरु गरेको पनि किंवदन्ती छ ।‘फोहोरमा लुकेका महादेवले पनि अरुले देख्ला भनेर लुँबुँवहःबुँ (अर्थात् सुनको फूल र चाँदीको फूल)ले छेकेर यो भोजन ग्रहण गरेको मान्यता छ,’ उनले भने, ‘जात्राका बेला अहिले पनि टोलटोलमा रहेका लुकुमहाद्यःअर्थात् ‘लुकेर बसेको महादेव’लाई लुँबुँवहःबुँभनी तोरी र मुलाको फूल चढाउने र पूजा गर्ने चलन छ ।’ उनका अनुसार जात्राको पहिलो दिन काठमाडौंका विविध शक्ति पीठहरूको विशेष पूजा गर्ने गरिन्छ ।यो दिनलाई नेवार समुदायमा आतिथ्यता बढाउने, भ्रातृत्व र सद्भाव कायम गर्ने दिनकारूपमा पनि लिइन्छ । महर्जन भने, ‘पाहांचःह्रे पर्वका बेला काठमाडौंको भित्री सहरमा विशेष गरेर कंकेश्वरी र भद्रकालीको जात्रालाई प्रमुख मान्यता दिइन्छ ।’ 

जात्राको पहिलो दिन जात्रामादेखाइने देवताहरूको मूर्तिलाई मूलमन्दिरमा लगिन्छ । जसलाई नेवारीमा द्यः गमय् तयेगु भनिन्छ ।त्यहाँ विधिवत रूपमा होमपूजा पनि गरिन्छ । त्यसको भोलिपल्ट औँशीका दिन टोलटोलमा ‘मरःजा’ खुवाइन्छ । यसमा व्रतबन्ध नभएका बालक र बेलविवाह सम्पन्न नभएका बालिकालाई सरिक गराइन्छ । त्यसैदिन राति कंकेश्वरी, वटु भद्रकाली र तेबहाः भद्रकाली देवीका तीनवटा खटलाई टुँडिखेलमा जुधाइन्छजसलाई नेवारीमा खः ल्वाकेगु भनिन्छ ।त्यसैदिन इन्द्रचोकमा काठमाडौंकी कुमारीलाई उपस्थित गराएर अजिमा खुवाउने गरिन्छ। 

जात्राको अन्तिम दिन चैत्र शुक्ल प्रतिपदाका दिन दिउँसो असनमा अन्नपूर्ण मन्दिरको अगाडि टुँडिखेलमा जस्तै तिनै वटा खट जुधाएर जात्रा समापन गरिन्छ । जसलाई असनय् खः ल्वाकेगु भनिन्छ ।चतुर्दशीको दिनदेखि सुरु भएको जात्रा चैत्र शुक्ल प्रतिपदाका दिन असनमा देवखट जुधाइसकेपछि देवघरमा देवता भित्र्याउने क्रियासँगै सकिन्छ।

प्रकाशित: २ चैत्र २०७४ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App