७ वैशाख २०८१ शुक्रबार
समाज

फराकिला सडकमै जान्छ ज्यान

उपत्यकाका फराकिला सडकमा सवारी दुर्घटना भई ज्यान गुमाउनेको संख्या बढेको छ। 
चालकले सवारीसाधन तीव्र रूपमा गुडाउने र पैदलयात्रुले जथाभावी बाटो काट्दा फराकिला सडकमा धेरैको ज्यान जाने गरेको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको गत साउनदेखि माघसम्मको तथ्यांकअनुसार फराकिला सडकमै सबैभन्दा धेरै सवारी दुर्घटना भएको छ । यो क्रम बढेको महाशाखाले जनायो।

ट्राफिकको तथ्यांकअनुसार उपत्यकाका नयाँ बसपार्क–नागढुंगा, कोटेश्वर–सूर्यविनायक, गौशाला–एयरपोर्ट, बूढानीलकण्ठ–टोखा–महाराजगन्ज, बौद्ध–कपनलगायत सडकखण्डमा दुर्घटना धेरै हुने गरेको देखिन्छ। महाशाखा प्रवक्ता उमेश रञ्जितकारले ठूला सवारी दुर्घटना चालकको लापरबाही, तीव्र गति, ओभरलोड र यान्त्रिक गडबडीका कारण हुने गरेको बताए। 

तीव्र गति, मादक पदार्थ सेवन (मापसे), अनावश्यक ओभरटेकको प्रयास, ओराला र घुमाउरा सडक, लेन अनुशासन अवज्ञा र यान्त्रिक गडबडीलगायतले पनि दुर्घटना बढेको छ। 

‘हरेक दुर्घटनाको पछाडि छुट्टाछुट्टै कारण हुन्छन्, उपत्यकामा सवारीसाधनकै लापरबाहीले धेरै दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘सवारीचालकमा धैर्य नहुँदा एकापसमा ठक्कर खाएको समेत देखिन्छ।’ 

यसैगरी तीव्र गति, मादक पदार्थ सेवन (मापसे), अनावश्यक ओभर टेकको प्रयास, ओराला र घुमाउरा सडक, लेन अनुशासनको अवज्ञा र यान्त्रिक गडबडी लगायतले पनि दुर्घटना बढेको उनले बताए । पैदलयात्रुले जथाभावी बाटो काट्नेलगायत कारण पनि सवारी दुर्घटना हुने गरेको छ। 

ट्राफिक इन्जिनियर आशिष गजुरेल उपत्यकामा चल्ने सवारी–चालक र सडक प्रयोगकर्ताले सडक अनुशासन पालना नगर्दा धेरै दुर्घटना हुने गरेको बताउँछन्। ‘हाम्रोमा न सवारीचालकले सडक अनुशासन पालन गर्छन्, न त पैदलयात्रुले ट्राफिक नियम पालना गर्छन्,’ उनले भने, ‘त्यसले गम्भीर प्रकृतिका दुर्घटना हुने गरेका हुन्, सडक चौडा भएसँगै सवारीसाधन तीव्र गतिमा हुइँक्याउने चलन बढेको छ।’ 

गजुरेलका अनुसार सहरी सडकमा तीव्र रूपले सवारी चलाउँदा सवारी दुर्घटना हुने दर बढेको हो । ‘सहरी सडकमा प्रतिघन्टा ४० किलोमिटरमा सवारी गुडाउनुपर्छ, हाम्रोमा सडक खाली देख्नेबित्तिकै प्रतिघन्टा ७० किलोमिटरभन्दा बढी गतिमा गुडाउने चलन छ,’ उनले भने, ‘गति कन्ट्रोलदेखि सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने भएको छ ।’ 
महाशाखाका अनुसार गत साउनदेखि माघसम्म उपत्यकामा तीन हजार पाँच सय ७० वटा सवारीसाधन दुर्घटना परेका छन् । दुर्घटनामा एक सय पाँच जनाले ज्यान गुमाए भने एक सय १३ गम्भीर घाइते भए । त्यस्तै, दुई हजार तीन सय ९६ सामान्य घाइते भएका थिए। 

‘सहरी सडकमा प्रतिघन्टा ४० किलोमिटरमा सवारी गुडाउनुपर्छ, हाम्रोमा सडक खाली देख्नेबित्तिकै प्रतिघन्टा ७० किलोमिटर भन्दा बढी गतिमा गुडाउने चलन छ।’

सडकको खराब अवस्था र सवारीसाधनको अत्यधिक चापले दुर्घटना निम्त्याउने गरेको प्रवक्ता रञ्जितकार बताउँछन् । सहरी क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित छड्के, चेकजाँच, अनुमतिपत्र वितरणमा कडाइ, सवारीचालक तथा पैदलयात्रुलाई जनचेतना, बढी दुर्घटना हुने स्थानमा चेकिङ, रातको समयमा सडक लेन छुट्ट्याउने बत्ती राख्नेलगायत योजना अघि बढाइएको महाशाखाले जनाएको छ । 
मोटरसाइकल दुर्घटना धेरै 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने गरेको छ । उपत्यकामा गएको सात महिनामा मोटरसाइकल दुर्घटनमा परी ३७ जनाले ज्यान गुमाएका छन् । अचेल युवाले तीव्र गतिमा बाइक चलाउने गर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ। 

‘दुईपांग्रे सवारीसाधन ज्यादै असुरक्षित हुन्छ, उपत्यकामा भने अत्यधिक मात्रामा दुईपांग्रे सवारीसाधन गुड्ने गर्छन्,’ ट्राफिक इन्जिनियर गजुरेलले भने, ‘अधिकांश दुर्घटनामा मोटरसाइकल चालकको नै ज्यान जाने गरेको छ।’

गत साउनदेखि माघसम्म सानाखाले चारपांग्रे सवारीसाधन दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ। यसैगरी, ट्रक र टिपरको ठक्करबाट ११–११, बस दुर्घटनाबाट १८ र अन्य सवारीसाधन दुर्घटनाबाट १६ जनाको मृत्यु भएको छ। 
रञ्जितकार सडकमा व्यवस्थित पूर्वाधार नहुँदा सडक दुर्घटनाको जोखिम बढिरहेको बताउँछन्। ‘उपत्यकामा भएका फुटपाथ जति सबै व्यापारीले अतिक्रमण गरेका छन्, पैदलयात्रीका लागि टेक्ने ठाउँ समेत छैन, जोखिम मोलेर सडकमा हिँड्नु बाध्यता छ,’ उनले भने, ‘सडक सुधार्न पटकपटक सडक विभाग तथा महानगरपालिकालाई घचघच्याइसक्यौँ, अहिलेसम्म अत्यावश्यक पूर्वाधार बन्न सकेको छैन।’

प्रकाशित: २ चैत्र २०७४ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App