७ वैशाख २०८१ शुक्रबार
समाज

बोक्सी घटनाका अभियुक्त सार्वजनिक, पीडितलाई ‘भिडियो’ले न्याय दिलायो

प्रहरीले सार्वजनिक गरेका भोलेबाबा, स्मारिक चौधरी र किस्मत चौधरी । तस्विर : नागरिक

धनगढी– फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन १८ बर्षिय राधा चौधरीलाई भोलेबाबा भनिने रामबहादुर चौधरीसहितकाले ६ घण्टा निरन्तर कुटपिट गरे। कुटपिट गरिएकी युवती न्यायका लागी इलाका प्रहरी कार्यालयमा गइन। समान्य कुटपिट भन्दै मिलापत्र गराएर भोलेबाबालाई छोडियो। यो घटनाको जानकारी पाएपनि समान्य कुटपिट मानेर संचारकर्मी र संचारमाध्यमले पनि महत्व दिएन। दोश्रो दिन फागुन २५ गते सयौको भिडबीच क्रुर र बर्बर ढंगले भोलेबाबाले कुटपिट गरेको मोबाइलबाट खिचेको भिडियो सार्वजनिक संगै भाइरल बन्यो। यो भिडियोपछि घटनाले अर्कै मोड लिएको हो। दुई दिनपछि मात्र घटनाको समाचारले राम्रो स्थान र चर्चा पायो। ‘भिडियो सार्वजनिक नभएको भए समान्य कुटपिट भनेर गाउँलेले यो घटना सामसुम पारिसक्थे’, कैलालीका प्रहरी नायव प्रहरी उपरिक्षक बिनोद घिमिरेले भन्छन। त्यस दिन इलाका प्रहरी कार्यालय सुख्खडमा समान्य झारफुक गरेको भनेर भोलेबाबालाई छुटाउन सयौ स्थानिय पुगेको उनी बताउँछन।

‘भिडियो हेरेपछि घटना गम्भिर भएको हामीले पनि थाहा पाएका हौं’, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। पहिलो दिन समान्य कुटपिट भनेर सुचना आएको उनले बताए।

यसअघि पनि भोलेबाबाले घोडाघोडी नगरपालिका ५ देउकलियामा कयौं अन्य व्यक्तीमाथि पनि बोक्सी र बोक्साको आरोपमा कुटपिट, दुर्व्यवहार गरेका थिए। ती घटना बाहिर आएनन्। उनलाई कारवाही गर्नुपर्ने अवाज उठेन। घरबाटै लगेर ६५ बर्षीय एक बृद्धालाई बोक्सा भन्दै तातेको त्रिशुल गालामा हानेर उनले पोलिदिएका थिए। गाउँका भलमन्सालाई समेत सबैको खुट्टा ढोक्न लगाएर दुर्व्यवहार गरे। सयौको भिडमा एक युवतीलाई पेन्टी देखाउन लगाएका थिए। अन्य व्यक्तीलाई पनि कुटपिट गरेका थिए। केही मन परेका युवतीलाई बोक्सी लागेको भन्दै १५ दिनसम्म आफ्नो आश्रममा बस्न बाध्य पारेका थिए।

‘भोलेवावाले देवताको अवतार भन्दै कुटपिट, दुर्व्यवहार गर्दा पनि यसअघि कसैले अवाज नउठाउँदा उनले राधामाथि घटना घटाएका हुन’, स्थानिय खेम सापकोटाले भने। हातहातमा मोवाइल भएकाले यो क्रुर घटना सार्वजनिक भएर पीडितले न्याय पाउने माहोल बनेको उनी बताउँछन। ‘जनप्रतिनिधीको घर भोलेबाबाको छेउमै छ, उनी बोक्सीको आरोपमा कुटपिट हुँदा रमिते भए र भोलेबाबालाई जोगाउन खोजे’, स्थानिय युवती रेनुका बोहराले भनिन्, ‘भिडियो बाहिर नआएको भए यसअघिका घटना जस्तै यो घटना पनि सामसुम पार्ने कोशिस भइसकेको थियो।’ केही युवाले मोबाइलबाट खिचेको भिडियो सार्वजनिक भएको हो। ‘भिडियो’ हेरेपछि मात्र संचारकर्मीले यो घटनालाई महत्व दिएको स्थानिय संचारकर्मी बताउँछन। 

६ जनामाथि मुद्दा

बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको घटनामा ६ जनामाथि प्रहरीले मुद्दा दर्ता गरेको छ। ३ जना संलग्न भएकोमा र ३ जना मतियारको रुपमा मुद्धा दर्ता गरिएको कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताए। घोडाघोडी नगरपालिका वानं ५ देउकलिया बस्ने २३ बर्षीय भोलेबाबा भनिएका रामबहादुर चौधरी, १८ बर्षीया किस्मती भनिने किस्मत चौधरी र घोडाघोडी नगरपालिका वानं ३ का २४ बर्षीया स्मारीका चौधरीविरुद्ध बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा मुद्दा दर्ता गरेको उनले बताए। यसैगरी घोडाघोडी नगरपालिका वानं ५ वस्ने ३४ बर्षीय बेद प्रसाद चौधरी, ५ वस्ने ३३ बर्षीय चनकला चौधरी र भोलेवावाकी आमा ४१ बर्षीय सितारानी चौधरीलाई मतियारको रुपमा मुद्दा दर्ता गरिएको उनले बताए। कैलाली जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरिएको उनले बताए। बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने ३ जनालाई बिहीवार पत्रकार समक्ष प्रहरीले सार्वजनिक गरेको थियो।

प्रकाशित: १ चैत्र २०७४ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App