७ वैशाख २०८१ शुक्रबार
राजनीति

गाउँपालिकाहरुमा चुलिँदैछ केन्द्र र नामको विवाद

सखुवा पर्सौनी गाउँपालिका अगाडी बुधवार प्रदर्शन हुँदै । तस्बिर : नागरिक

वीरगन्ज– संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संबिधान अनुसार स्थानीय सरकारको हैसियत पाएको स्थानीय तहमा पहिलो गाँसमै ढुंगा परेझै बिवाद देखिएका छन्। पर्सामा रहेका चार वटा गाउँपालिकाहरुमा सेवाकेन्द्र र नामाकरणको बिषयमा बिवाद नराम्ररी चुलिएको छ। 

यसै क्रममा पर्साका २ वटा गाउँ पालिकामा सेवा केन्द्र सार्ने बिषयमा बन्द नै गरिएका छन्। रातारात सखुवापरसौनी गाउँपालिकाको नाम र केन्द्र प्रमुख लागयत केही जनाले फेर्न चाहेको भन्दै बुधवारदेखि अनिश्चितकालीन बन्द गरिएको छ त्यहाँ। रंगपुर टाँडी बजार र महुवन विचको चल्तीको सडकखण्ड र पँचगावा बजार बन्द गराउदै स्थानीयले प्रदर्शन गरेका छन्। उनीहरुले साबिकको गाउँपालिका कार्यालय अगाडी टायर बालेर दिनभरी प्रदर्शन गरेर गाउँपालिका प्रमुख प्रदीप जैसवालको पुतला जलाए। 

गत २३ गते राति प्रमुख जैसवालले  गाउँपालिका केन्द्र फेर्ने रातारात रजिष्टर घुमाएर निर्णय गराएको आन्दोलनरत स्थानीयले बताए। गाउँपालिका उपप्रमुख फुलमति चौधरीका अनुसार प्रमुखले सखुवा पर्सौनीको नाम फेरेर पारसनाथ राख्ने र सेवा केन्द्र महुवनमा लैजाने भनेर निर्णय गराएपछि स्थानीय आन्दोलित भएका हुन। ‘सुरुमा सबै थोक राम्ररी चलिरहेको थियो, कुनै बिवाद थिएन, जनता आशावादी भएका थिए,’ उप्रमुख चौधरीले भनिन, ‘बिना सरसल्लाह उहाँहरुले यस्ता निर्णयहरु गरेपछि बाताबरण अशान्त बनेको छ, एकलौटी र मनोमानी किसिमले प्रमुखले यस्तो निर्णय गरेपछि जनतामा आक्रोश बढेको छ।’

६ वटा वडा रहेको सखुवा पर्सौनीमा हाल ३३ जनाको गाउँसभा रहेको छ। गाउँसभाका २१ जनासंग उक्त निर्णयमा प्रमुख जैसवालले राति घरमै पुगेर सहिछाप गराएको उपप्रमुख चौधरीको भनाई छ। त्यसमध्ये अरु ४ जनाले आफुसंग बलजफ्ती सहि लिइएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै पत्र लेख्दै निर्णय उल्ट्याउन उपप्रमुखको अध्यक्षतमा गरिएको अर्को निर्णयमा हस्ताक्षर गरेका छन्। ‘गाउँपालिकाको निर्णयपुस्तिका हामीसंग छ, उहाँले बजारबाट रजिष्टर किनि सहि छाप गराउनु भएको हो,’ उप्रमुख चौधरीले भनिन्, ‘यो कदमले अशान्ति बढेको छ।’ निर्णयबिरुद्ध बनेको संघर्ष समितिका संयोजक जयराम महतोल साबिक अनुसािर नाम र सेवा केन्द्र कायम नगरिएसम्म आन्दोलन जारी राख्ने बताए। ‘हामी कुनै पनि हालतमा केन्द्र सार्न दिन्नौ,’ स्थानीय अगुवा हरिन्द्र दास थारुले भने, ‘गाउँपालिकाका अधिकांश बासिन्दाको चाहना हो यो।’

यसैविच गाउँ पालिका प्रमुख जैसवालले एक बिज्ञप्ति जारी गर्दै सखुवा पर्सौनी गाउँपालिकामा कुनै बिवाद नभएको दावी गरेका छन्। उनले गाउँपालिकाको कार्य नियमित रुपैमै संचालित भइरहेको बताएका छन्। 

डेढ महिनादेखी आन्दोलन

सुवर्णपुरका स्थानीयले बुधबारेदेखी फेरी सुरु गरेको दोस्रो चरणको आन्दोलनको क्रममा जारी रिले अनसन । 

पर्साको ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोधमा सुवर्णपुरमा डेढ महिनादेखि बजार र गाडी बन्द छ। माघ १५ गते बसेको ठोरी गाउँपालिकाको प्रथम गाँउ परिषदले सुर्वणपुरमा रहेको सेवा केन्द्र सारेर निर्मलवस्तीको घ्याङ्ग डाडामा सार्ने निर्णय गरेपछि १६ गतेदेखि थालिएको आन्दोलन बिचमा पछिल्लो समयमा वर्ताका लागि भनेर ९ दिन स्थगीत रहे पनि बुधवार स्थानीयले फेरी पनि बन्द–हड्ताललाई निरन्तरता दिएका छन्। सो बन्दका कारण वीरगन्ज ठोरी सडकखण्डमा गाडी चल्न सकेको छैन।

सुर्वणपुरवासीको आन्दोलनका कारण निर्माणधीन हुलाकी सडकको काम पनि रोकिएको छ। संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका सुर्वणपुरवासीले सेवा केन्द्र यथावत राख्नु पर्ने, समान अनुपातमा वडाहरुमा बजेट विनियोजन गर्नु पर्ने, ठोरीमा बनाउन भनिएको २५ शैयाको अस्पताल पायक ठाउँमा राख्नुपर्ने माग राखेका छन्। बन्दले गर्दा स्थानीयको जनजीवन कष्टकर बन्दै गएपनि बाध्यतावस आन्दोलन गर्नु परेको आन्दोलन परिचालन समितिका सह संयोजक सुन लामाले बताए। 

साबिक सुर्वणपुर गाबिसका पुर्व अध्यक्ष समेत रहेका आन्दोलन समितिका संयोजक जरी लामाले गाउँपालिका प्रमुख पिएल श्रेष्ठले निरंकुश किसिमले सेवा केन्द्र सार्ने निर्णय गरेको बताए। श्रष्ठले आफ्नो टोलमै बिना पुर्वाधार सेवाकेन्द्र लगेर आफ्नो बर्चश्व मात्र देखाउन चाहेको स्थानीयको आरोप छ। ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले भने परिषदबाट स्थानीय जनचाहना अनुसार निर्णय गरेको बताए। ‘हामीले बहुसंख्यक जनाताको चाहना अनुसार नै निर्णय गरेका हौं, उहाँहरुको दबावमा आएर निर्णय फिर्ता गर्ने हो भने त्यो पनि सम्भव छैन, अर्को ठुलो आन्दोलन हुन्छ,’ श्रेष्ठले भने, ‘मैले वार्तामा आउन भनेकै छुँ, उहाँहरु आफ्नो अडानमा बसेकोले समस्या लम्बिएको हो। 

त्यसतै पर्साको बिन्दवासनी र कालिकामाइ गाउँपालिकामा पनि सेवा केन्द्र सार्ने बिषयमा बविाद चुलिएको छ। त्यहाँ आन्दोलन र प्रदर्शन नभए पनि निर्वाचित जनप्रतिनिधिहरुविच ब्यपाक असहमति देखिएको स्थानीय बताउँछन्। 

प्रकाशित: ३० फाल्गुन २०७४ १५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App