८ वैशाख २०८१ शनिबार
खेल

धैर्य गर्न ग्वार्डिओलाको सुझाव

म्यानचेस्टर – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अर्को महिना घरेलु मैदानमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई सहरी डर्बीका लागि निम्त्याउँदा उपाधि जित्ने विश्वासमा रहेका उत्साहित समर्थकलाई धैर्यका लागि आह्वान गरेका छन्।

जोजे माउरिन्होको युनाइटेडले अप्रिल ७ मा डर्बी खेलका लागि सिटीको इत्तिहाद रंगशाला भ्रमण गर्नेछ । मंगलबार स्टोक सिटीमाथि २–० को जित हासिल गरेको सिटी युनाइटेडविरुद्धको उक्त खेलबाट गणितीय रूपमै यो वर्षको इङ्लिस प्रिमियर लिग च्याम्पियन बन्न सक्छ । त्यसका लागि टोलीले त्यसअघि लिग अंकतालिकाको मध्यपंक्तिमा रहेको एभर्टन भ्रमणमा जित निकाल्नुपर्नेछ । इत्तिहादमा पुराना प्रतिद्वन्द्वी माउरिन्होको टोलीमाथि जित हासिल गर्न सके ग्वार्डिओलाले इङ्लिस फुटबलमा पहिलो उपाधि उचाल्नेछन्।

‘सबै जना सधैं उपाधिको विषयमा सोधिरहन्छन् । तर आजको दिनमा हाम्रा लागि यो महत्वपूर्ण कुरा त्यो होइन । अहिले हामीसँग खातामा ८१ अंक छ । यो वास्तवमै धेरै अंक हो । अहिलेलाई यही महत्वपूर्ण छ,’ ग्वार्डिओलाले भने, ‘पक्कै पनि हामी च्याम्पियन बन्न चाहन्छौं । हामीलाई अहिलेको अवस्थामा च्याम्पियन बन्नका लागि बाँकी खेलबाट तीन जित आवश्यक छ । युनाइटेडलाई हराउन सके दुई जित पनि पर्याप्त हुन्छ । तर युनाइटेडभन्दा अगाडि र पछाडि हामीले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा महत्वपूर्ण खेल खेल्नुपर्छ। तत्कालका लागि हामी च्याम्पियन्स लिगमै केन्द्रित हुनुपर्ने भएकाले घरेलु लिगमा धैर्य गर्नुपर्छ।’

प्रिमियर लिग उपाधि जित्न समर्थक व्यग्र हुनुलाई स्वाभाविक भन्दै ग्वार्डिओलाले थपे, ‘मुख्य कुरा च्याम्पियन बन्नु हो । कहिले र कहाँ भन्ने कुराले धेरै अर्थ राख्दैन । तथापि घरेलु मैदानमा युनाइटेडलाई हराएर चाँडै उपाधि जित्न सकियो भने त्यो विशेष हुनेमा दुईमत छैन।’

उच्च फर्ममा रहेको इङ्लिस टोलीले यसपालि इतिहासमै पहिलो पटक युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग पनि जित्ने सम्भावना छ । च्याम्पियन्स लिग अन्तिम आठका लागि शुक्रबार ‘ड्र’ हुनेछ । स्टोकमाथिको जितलगत्तै विशेष अभ्यासका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ग्वार्डिओलाले अबुधाबीको न्यानो अभ्यास शिविरमा पहिलो रोजाइको टोलीसँगै बसेर ‘ड्र’ को प्रत्यक्ष प्रसारण हेर्नेछन्।

एफए कपमा तेस्रो डिभिजनको विगानसँग स्तब्ध हुँदै बाहिरिएपछि सिटीले महिनाको अन्तिम दिन एभर्टनविरुद्ध मैदान उत्रिनुअघि कुनै खेल खेल्ने छैन । ‘हामीले राम्रो आरामको मौका पाएका छौं । पाँच दिनमा हामी तीनवटा अभ्यासमा सहभागी हुनेछौं । बाँकी समय साथमा आराम गर्नेछौं,’ स्टोकविरुद्धको खेलपछि विमानस्थल जाने क्रममा उनले भने, ‘हामी बिहान र बेलुकीको खानामा सँगै हुनेछौं । कोहीले गल्फ खेल्नेछन् । म्यानचेस्टरमा पानी परेको प¥यै छ । त्यहाँको मौसम यहाँभन्दा धेरै राम्रो छ । त्यसैले यहाँ गर्नुपर्ने अभ्यास र आरामका लागि हामी त्यहाँ जान लागेका हौं।’

डिसेम्बरमा समय नपुगी छोरा माटियोको जन्म भएका कारण पारिवारिक समस्यामा पर्दा सिजनको लामो समय खुलेर खेल्न नसकेका डेविड सिल्भाको दुई गोलमा मंगलबार सिटीले स्टोकमाथि जित हासिल गरेको थियो । परिवार भेट्न खेललगत्तै स्पेन जाने योजनामा रहेका सिल्भाले टोलीको जितमा दुई गोल गर्न सक्दा फुटबलबाट व्यक्तिगत तनावपूर्ण जीवनमा राहत मिलेको बताए।

‘फुटबल खेल्दा म सबथोक बिर्सिन्छु । यसले मलाई बेग्लै आनन्द दिन्छ । त्यसैले फुटबल खेल्नु मेरा लागि राम्रो पक्ष हो,’ सिल्भाले भने, ‘मेरो व्यक्तिगत जीवन अहिले त्यति सुखद छैन । मेरो छोरा जीवनका लागि संघर्ष गरिरहेको छ । आजकाल प्रत्येक दिन उसमा सुधार आइरहेको छ । ऊ बलियो बन्दै छ।’

पारिवारिक समस्याकै कारण उनलाई अबुधाबी भ्रमणको सट्टा स्पेन जाने अनुमति दिइएको सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले बताए । ‘डेविडले आफ्नो समस्या बताएका छन् । उनको समस्याका अगाडि हाम्रा लागि बाँकी सबथोक साना हुन्,’ कोम्पनीले भने, ‘यस्तो समस्याका बावजुद उनले मैदान उत्रिएर यति राम्रो प्रदर्शन गरे । त्यो ठूलो कुरा हो।’

स्टोकको भ्रमणमा १०औं मिनेटमा गोल गर्दै सिटीको खाता खोलेका सिल्भाले ५०औं मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरेका थिए । काउन्टर अट्याकमा ग्याब्रिअल जिससले लामो पासमार्फत बनाएको मुभमा रहिम स्टर्लिङको उत्कृष्ट क्रसलाई सिल्भाले मंगलबारको पहिलो गोलमा परिणत गरेका थिए । दोस्रो गोलमा पनि जिससको भूमिका रहयो । सिल्भाले जिसससँग वान टु वान पास खेल्दै दोस्रो गोल गरेका थिए।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App