८ वैशाख २०८१ शनिबार
समाज

कक्षा कोठा अभावमा भर्याङमुनि कक्षा सञ्चालन

बाबियाचौर – म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्याङमुनि राखेर पढाउने गरिएको छ। 

विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाँ छकोठे पक्की भवन बनाइए पनि कार्यालय र पठनपाठन सञ्चालनका लागि दुईवटा कोठाको अभाव भएको हो । कोठा अभावका कारण कक्षा ४ का विद्यार्थीलाई नयाँ भवनको पहिलो तलाको भर्याङमुनि राखेर पठाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक युकुमार गर्बुजाले बताए। 

उक्त कक्षामा २० जना विद्यार्थी छन्। भ¥याङमुनि बसेर पढ्दा चिसोमा जाडो हुने, गर्मीमा घामले पोल्ने र पानी पर्दा बाछिटाले रुझाएर असजिलो हुनेगरेको विद्यार्थीले गुनासो गरेका छन् । प्रअ गर्बुजाका अनुसार स्रोतकेन्द्रको कार्यालयलाई विद्यालयको प्रशासनिक र शिक्षक कर्मचारीको कक्षका रुपमा प्रयोग गरिएको छ। 

उक्त विद्यालयमा हालै जिल्ला शिक्षा कार्यालयको रु ४८ लाख र विद्यालयको २२ लाख रुपैयाँको लागतमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो। २०७२ सालको भूकम्पका कारण पुरानो आठकोठे भवन जीर्ण बनेपछि पुनःनिर्माण गरिएको हो। 

उक्त विद्यालयमा रहेका दुई–दुई कोठे दुईवटा ब्लक भवनमध्ये एउटामा छात्रावास र अर्कोमा कार्यालय तथा स्टोर सञ्चालन गरिएको छ। पुरानो चारकोठे र नयाँ छकोठे भवनमा बालकक्षादेखि कक्षा दशसम्मका विद्यार्थीका लागि ११ वटा कोठा आवश्यक रहेको छ। 

नयाँ भवनका दुईवटा कोठा कम्प्युटर ल्याब र पुस्तकालयका लागि प्रयोग भएको छ। नयाँ भवनमा तला र चारवटा कोठा थप गर्न पहल गरिएको प्रअ गर्बुजाले बताए। उक्त विद्यालयमा २९३ जना विद्यार्थी अध्ययनरत छन्। 

प्रकाशित: ३० फाल्गुन २०७४ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App