७ वैशाख २०८१ शुक्रबार
समाज

अधुरै रह्यो हजुरआमाको उपचार गर्ने सपना

काठमाडौं – काठमाडौं सतुंगलकी एन्जिलाश्रेष्ठले सोमबार बिहान करिब १२ बजे घरमा फोन गरेर आफू  युए–बंगला एयरको विमानबाट नेपाल आउँदै गरेको जानकारी गराएकी थिइन् ।
चिकित्साशास्त्र अध्ययन लागि बंगलादेश गएकी एन्जिलाएमबिबिएस अन्तिम वर्षको परीक्षा दिएर नेपाल फर्कंदै थिइन् । ‘म दुई घण्टापछि काठमाडौं आउँदैछु, लिन आउनुहोला,’एन्जिलाले फोनमा बोलेको कुरा सम्झँदै उनका काका पुष्पमान श्रेष्ठले भने।

दुई घण्टापछि उनी नेपाल त आइपुगिन् तर परिवारसँग कहिल्यै भेट नहुने गरी यो संसारबाट बिदा भइन् । एन्जिला चढेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा पर्दा उनले ज्यान गुमाउनु प¥यो । परिवारसँग नेपाल आउँदै छु भनेर बंगलादेशबाट टेलिफोनमा बोलेको शब्दनै उनको र परिवारबीचको अन्तिम सम्पर्क बन्यो।

एन्जिलाले एमबिबिएस अन्तिम वर्षको परीक्षा दिएपछि पढाइ सकिएको भन्दै टेलिफोनमार्फत परिवारसँग खुसी साटेकी थिइन्। एन्जिलाकी हजुरआमा ब्रेन ह्याम्ब्रेजबाट पीडित छिन् । हजुरआमाको उपचारबारे परिवारले चिन्ता लिँदा श्रेष्ठले परिवारलाई सान्त्वना दिँदै आफू डाक्टर बनेर हजुरआमाको उपचार गर्ने बताउँथिन् । ‘हामीले आमाको चिन्ता गर्दा तपाईंहरू चिन्ता नगर्नुहोस्, अब छिट्टै डाक्टर बनेर हजुरआमाको आफैंले उपचार गर्छु भन्थिन् । आज यस्तो नियती भोग्नुपर्याे,’ उनका काका पुष्पमानले भावुक हुँदै नागरिकसँग भने।

नेपाल टेलिकमबाट हालै स्वेच्छिक अवकाश पाएका विदुरमान श्रेष्ठका दुई सन्तानमध्ये जेठी एन्जिला एमबिबिएस पढ्न बंगलादेश गएकी थिइन् भने छोराले भारतको बैंगलोरमा इन्जिनियरिङ पढ्दै छन् । छोरीको पढाइ सकिइसकेको र छोराले समेत इन्जिनियरिङ पूरा गर्न लागेकाले श्रेष्ठ परिवारमा खुसी छाएको थियो । ‘भतिजीले एमबीबीएस पूरा गरेर फर्कंदैँ थिइन्, भतिजाको पनि पठाइ राम्रो थियो ।योे परिवारका लागि खुसीको कुरा थियो, तर सोमबारको घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ ।’ गहभरी आँसुपार्दै पुष्पमानले भने । सानैदेखि जेहेन्दार तथा मृदुभाषी एन्जिला सबैसँग घुलमिल गर्थिन् । उनले स्कुल तहदेखि प्लस टुसम्म आफ्नै घरमा रहेको न्यूभिजन स्कुलमा अध्ययन गरेकी थिइन् । त्यसपछि उनी एमबिबिएस अध्ययनका लागि बंगलादेशस्थित राजीव रबेया मेडिकल कलेजमा भर्ना भएकी थिइन् । डाक्टर बनेर परिवारको सपना पूरा गर्ने र ब्रेन ह्याम्ब्रेजबाट पीडित आफ्नै हजुरआमाको उपचार गर्ने उनको सपना भने अधुरै रह्यो।

एन्जिलाको मृत्युको खबर सुनेपछि उनका बाबुआमा अर्धबेहोस अवस्थामा छन् । मंगलबार बिहान केही समयदुवैजना छोरीको शव रहेको त्रिवि शिक्षण अपस्पतालपुगेपनि सम्हालिन नसकेपछि घर फर्किए। ‘उहाँहरूबेला बेलामा होसमा आउने र पुनः बेहोस हुने गर्नुभएको छ, यहाँ बस्दा झन् गाह्रो हुने भएकाले घरमै पठायौं,’ पुष्पमानले भने । दिदीको मृत्युको खबर थाहापाएपछि बैंगलोरमा इन्जिनियरिङ पढ्दै गरेका भाई पनि मंगलबार साँझ नेपाल आउँदै गरेको पुष्पमानले जानकारी दिए।

एन्जिलासँगै राजीव रबेया मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षको परीक्षा दिएकी पूर्णिमा लोहोनीको पनि विमान दुर्घटनामा परी निधन भएको छ । उनी लमजुङ उदिपुरकी स्थानीय बासिन्दा हुन् । तीन दिदीबहिनी मध्ये जेठी पूर्णिका एमबिबिएस अध्ययनका लागि बंगलादेश गएकी थिइन् । ‘परिवारले निकै दुःख गरेर एमबिबिएस पढ्न पठाएको थियोतर नियतिले ठग्यो,’ अस्पतालमा भेटिएकी उनकी अंकलकी छोरी कमला धितालले भनिन् । ‘सोमबार बिहान मात्र म नेपाल आउँदै छु भनेर फोन गरेकी थिई, दिउँसो अकल्पनीय घटना भयो,’ कमलाले भनिन् । पूर्णिमाका बाबुआमा लमजुङमै शिक्षक रहेको र छोरीको खबर थाहा पाएपछि बाबु सोमबार बेलुकानै काठमाडौं आइसकेको कमलाले जानकारी दिइन्।

एन्जिला र पूर्णिमासँगै १३ जना एउटै कलेजमा पढ्ने नेपाली विद्यार्थी युए–बंगला विमानबाट नेपाल आउँदै थिए । उनीहरूमध्ये ११ जनाको मृत्यु भएको छ भने दुई जना घाइते अवस्थामा रहेका छन् । मृत्यु हुनेमा श्रेष्ठ र लोहनीसँगैचारु बराल, एल्जिना बराल, मिली महर्जन, निगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आस्नाशाक्य, सरिमाश्रेष्ठ र स्वेता थापा रहेका छन् । घाइते प्रिन्सी धामी र समिरा व्यञ्जनको भने काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित: ३० फाल्गुन २०७४ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App