६ वैशाख २०८१ बिहीबार
राजनीति

ओली सरकारले विकास र समृद्धिमा कायापलट गर्छ : भारतीय नेता

काठमाडौं– नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबको विशेष साक्षात्कारमा बोल्दै नेता जोलीले भने, ‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ, म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग रहन्छ।’ भारत सधैं नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहने उनको भनाई थियो। जोलीले भने, ‘भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षधर छ, हाम्रो प्रधानमन्त्री मोदीजीको पनि यही चाहना हो।’

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे। उनले भने, ‘हाम्रो आशा छ, यस जनादेश अनुसार अब नेपालमा राजनीतिक स्थायित्व हाँसिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि ओली सरकारसँग मिलेर काम गर्ने उनको विश्वास थियो। 

नेपाल–भारतबीचको प्रवुद्ध व्यक्ति समूहले द्धिपक्षीय सम्बन्धमा देखिएका सबै खाले समस्याहरुलाई हल गर्न साथर्क रुपमा काम गर्ने उनले विश्वास व्यक्त गरे। 

नेपालमा भैरहेको धर्म परिवर्तनबारे पत्रकारद्धारा सोधिएको एक प्रश्नमा जोलीले भने, ‘कुन धर्म मान्ने हो वा नमान्ने हो, यो नेपालीहरुले आँफै तय गर्ने विषय हो, यसबारेमा बोल्ने मेरो अधिकार छैन्।’ यद्धपी उनले आफू हिन्दु भएकोमा गौरवान्वित भएको सुनाए। उनले भने, ‘पैसा वा प्रलोभनको आधारमा नेपालमा भएको धर्म परिवर्तनबारे मैले अघिल्लो पटक नेपालका पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ, माधव नेपाल, देउवा र ओलीसँग कन्र्सन राखेको थिएँ, उहाँहरु यो गलत हो भन्ने कुरामा एकमत हुनुहुन्थ्यो, उहाँहरुले धर्मपरिवर्तनबारे आफ्नो चिन्ता व्यक्त गर्नुभएकै हो।’

४ दिने निजी भ्रमणमा नेपाल आएका जोली मंगलबार स्वदेश फर्किएका छन्।

प्रकाशित: २९ फाल्गुन २०७४ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App