६ वैशाख २०८१ बिहीबार
खेल

अबको लक्ष्य एकदिवसीय मान्यता

हङकङविरुद्ध जित हात पारेपछि मैदानबाट फकर्दै नेपालका सोमपाल कामी (बायाँ) र रोहितकुमार पौडेल। तस्बिर : सौजन्य रमन सिवाकोटी

काठमाडौं – रोहितकुमार पौडेल र सोमपाल कामीको अविजित ८९ रनको साझेदारीप्रेरित नेपालले सोमबार आइसिसी विश्वकप छनोट प्रतियोगितामा हङकङलाई ५ विकेटले हराउँदा अफगानिस्तान भाग्यमानी साबित भयो।

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा नेपालले हङकङलाई हराएपछि समूह ‘बी’ बाट अफगानिस्तान सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । समूह ‘बी’बाट स्कटल्यान्ड र आयोजक जिम्बाब्वेले यसअघि नै सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । अफगानिस्तान, नेपाल र हङकङको समान २ अंक भए पनि रनरेटका आधरमा अफगानिस्तानले सुपर सिक्समा स्थान बनायो।

कमजोर रनरेट भएका कारण हङकङलाई सुपर सिक्समा स्थान बनाउन नेपालमाथि जित हालिस गर्नुको विकल्प थिएन । तर, बुलावायो एथ्लेटिक क्लबमा हङकङ नेपालसामु निरिह बनेपछि अफगानिस्तान भाग्यमानी बन्यो । टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन बनायो । १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ५८ बलअघि ५ विकेट गुमाउँदा १ सय ५५ रन बनाएर पूरा ग¥यो । जितपछि नेपाल समूह ‘बी’को चौथो स्थानमा उक्लिएको छ । हङकङ अन्तिम स्थानमा छ । सोमबारै भएको जिम्बाब्वे र स्कटल्यान्डबीचको खेल बराबरीमा सकिएको छ । बराबरीपछि समान ७ अंक भए पनि रनरेटका आधरमा जिम्बाब्वे समूह विजेता र स्टकल्यान्ड उपविजेता बन्दै सुपर सिक्समा प्रवेस गरेका छन् । सुपर सिक्स पूग्ने मुख्य लक्ष्य हासिल गर्न असफल नेपाली टोलीले अब एक दिवसीय मान्यताका लागि संघर्ष गर्नेछ ।

नेदरल्यान्ड्सबाहेक अन्य शीर्ष तीन एसोसिएट राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । पुछारका दुई एसोसिएट टोली (नेदरल्यान्ड्सबाहेक) विश्व क्रिकेट लिग डिभिजन–२ मा झर्नेछन् । तीन एसोसिएटमध्ये स्कटल्यान्ड र युनाइटेड अरब इमिरेट्स(युएई)ले सुपरसिक्समा स्थान बनाइसकेका छन् । त्यसैले अब नेपाल, हङकङ र पिएनजीमध्ये एकले एक दिवसीय मान्यता पाउनेछ । नेपालले बिहीबार पहिलो प्लेअफमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ भने हङकङले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । उक्त खेल जितेमा नेपालले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले दुवै खेल जिते २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाउनेछ।

नेपालका स्पिनरत्रयले आपसमा ६ विकेट बाँढेपछि टस जितेर ब्याटिङ गरेको हङकङले १० बलअघि सबै विकेट गुमाएर १ सय ५३ रनको योगफल बनाएको थियो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ३, वसन्त रेग्मीले २ र ललितनारायण राजवंशीले १ विकेट लिए । त्यस्तै करण केसीले २ तथा सोमपाल कामीले १ विकेट हात पारे । हङकङकका निजाकट खानले ४७ रन बनाउँदा कप्तान बाबर हायतले २० रन जोडे । इसन खानले २१, हसन नवाजले १३ र तानविर अफजलले १० रन बनाए।

विगतको तुलनामा नेपालका ओपनरले सुधारिएको प्रदर्शन गर्दै पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरे । अनिलकुमार शाहले २६ रन जोड्दा ज्ञानेन्द्र मल्लले १२ रन बनाए । तर, अफगानिस्तान र स्कटल्यान्डविरुद्ध अर्धशतक बनाएका पारस खड्का ११ रन जोडेर आउट हुँदा आरिफ शेख पनि २ रन बनाएर पवेलियन फर्किए । १९.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले १२ रन जोडेर आउट हुँदा नेपाल ६६–५ को स्थितीमा थियो।

त्यसपछि रोहितकुमार र सोमपालले ८९ रनको अविजित साझेदारी गरेपछि नेपाल ५ विकेटको विजयी नतिजा निकाल्न सफल भयो । रोहितकुमारले ८६ बलमा ५ चौकासहित अविजित ४८ रन बनाए भने सोमपालले ४० बलमा ५ चौकासहित अविजित ३७ रन जोडे । हङकङकका अजिज खान र इसन खानले समान २–२ विकेट लिँदा तनविर अफजलको नाममा १ विकेट रह्यो।

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App