८ वैशाख २०८१ शनिबार
कला

नविनकी भइन् आशिष्मा

काठमाडौं– फिल्ममा दर्जनौं पटक दुलही बनेकी आशिष्मा सोमबार साँच्चिकै दुलही बनेकी छिन् । सोमबार कालीमाटीस्थित एक पार्टी प्यालेसमा  बानेश्वर निवासी नविन चन्द्र प्रधानसँग नेवारी परम्परा अनुसार लगनगाँठो कस्दै उनले  नविनलाई वरण गरेकी थिइन् ।  नविन पेशाले व्यापारी हुन्। 

दुवैले ६ महिना पुरानो चिनजानलाई विवाहमा परिणत गरेका हुन् । आशिष्माका भाइमार्फत चिनचान अगाडि बढेपछि दुवैले परिवारको सहमतिमा विवाह गर्ने निर्णय गरेका थिए । ‘पहिला फोटो हेराहेर भएको थियो । पछि भेट हुँदै गएर कुरा मिलेपछि विवाहको निर्णयमा पुगेका हौं,’ एउटा अन्तर्वार्तामा आशिष्माले भनेकी थिइन् । नविनलाई भने आशिष्मासँग चिनजान हुनुअघि उनको कलायात्राका बारेमा जानकारी नभएको बताएका थिए । नागरिकको शुक्रबारसँग कुरा गर्दै उनले आशिष्मासँग विवाहको कुरा चल्न थालेपछि युट्युबमा भिडियोहरू हेरेको बताए । ‘पहिला त केही हेरेकै रहेनछु । विवाहको कुरा चल्न थालेपछि बल्ल युट्युबमा उनको काम हेरेको थिएँ । राम्रै काम गर्दिरहिछन् जस्तो लागेको थियो,’नविनले सोही अन्तर्वार्तामा भनेका थिए।

आशिष्माले विवाहपछिको करिअरको सम्बन्धमा राखिएको जिज्ञाषामा त्यो परिवारको सल्लाह अनुसार नै हुने बताएकी छिन् । ‘हुन त उहाँहरूले बिहे पछि पनि फिल्ममा काम गर्न नरोक्ने बताउनु भएको छ । तर त्यो कुराको निर्णय पछाडि नै हुन्छ,’ आशिष्माले भनिन् । आशिष्माले पछिल्लो समय नेपाली फिल्ममा अभिनयसँगै नेवारी फिल्मको निर्माणमा पनि हात हालेकी छिन् । उनले निर्माण गरेको नेवारी फिल्म ‘लाखे भाजु’ पोस्ट प्रडक्सनको चरणमा रहेको छ। 

‘अन्तराल’बाट नेपाली फिल्ममा डेब्यु गरेकी आशिष्माले ‘संरक्षण’, ‘लभ यु बाबा’, ‘तोरी लाहुरे’, ‘बाटो मुनिको फूल २’ ‘राघव’, ‘अधकट्टी’ आदि फिल्ममा अभिनय गरेकी छिन् । उनले नेपाल भाषाका फिल्ममा पनि अभिनय गरेकी छिन्। 

नवीनसँग अशिष्माको तेस्रो बिहे हो । नेवारी परम्पराअनुसार युवतीको पहिलो बिहे बेलसँग हुन्छ भने दोस्रो सूर्यसँग । तेस्रो पटक मात्र युवकसँग बिहे गर्ने नेवारी परम्परा रहेको छ। 

प्रकाशित: २९ फाल्गुन २०७४ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App