७ वैशाख २०८१ शुक्रबार
अर्थ

११ महिनापछि रित्तो हात घर

११ महिना साउदीमा काम गर्दा पनि पारिश्रमिक नपाई आइतबार रित्तो हात घर फर्किएका युवा र उनीहरूका आफन्त । तस्बिर : रुद्र खड्का

काठमाडौं – दूधकोशी–८ सोलुखुम्बुका बलबहादुर राईले सानैदेखि ठूला सपना कहिल्यै देखेनन् । सके स्वदेशमै काम नगर्ने, त्यस्तो अवसर नपाए वैदेशिक रोजगारीमा जाने उनको त्यति मात्र सोच थियो । गाउँ, घरका साथीभाई धमाधम वैदेशिक रोजगारीमा जाने क्रम बढेका बेला राईलाई पनि वैदेशिक रोजगारीको मोहले च्याप्न थाल्यो । अन्ततः एक वर्षअघि उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे। 

अनि, गाउँकै एक आफन्तसँग मेनपावरलाई बुझाउने रकम ऋण लिए । त्यसपछि गाउँबाट काठमाडौं आए । एजेन्टले जेजे भन्यो । त्यसलाई मान्दै गए । ११ महिनापछि साउदी अरेबिया जान काठमाडौंको प्रिसिस मेनपावरलाई ७२ हजार रुपैयाँ बुझाए । रकम बुझाएको केही दिनमै मेनपावरले साउदीको अलजुफसाकाका भन्ने ठाउँमा रहेको कोपरेटिभ कम्पनी फर कम्युनिकेस सिस्टम (सिसिसिएस) कम्पनीका लागि पठायो । 

राईसँगै सोही कम्पनीका लागि जान मेनपावर कार्यालयमा सुर्खेत, लेकफर्सा–९ का कर्णबहादुर घले, बाँके, बिनौना–७ का नन्द बिके, ओखलढुंगा, हर्कपुर–५ का युवराज दर्जी, सल्यान, दमाचौरका लोकमान कामी र सोही ठाउँ घर भएका रमेश केसी भेला भइसकेका थिए।

मेनपावरले टाट पल्टेको कम्पनीमा पठाएका कारण वैदेशिक रोजगारीमा गएर कमाउने र घरपरिवारको जीवनयापन सहज बनाउने लक्ष्य लिएका ६ युवा आइतबार रित्तो हात घर फर्किए

विभिन्न ठाउँमा खटिएका एजेन्टमार्फत मेनपावर कार्यालयमा भेला भएका युवाको समूह देखेर पहिलोपटक वैदेशिक रोजगारीमा जान खोजेका राई ढुक्क भए । दलाल र मेनपावरले युवायुवतीलाई प्रलोभनमा पारेर ठगी गर्छन् भन्ने सुनेका राईका लागि भेला भएको समूहले राहत दिनु स्वभाविक थियो । किनकि वैदेशिक रोजगारीमा जाँदा १० हजार रुपैयाँभन्दा बढी तिर्नु पर्दैन भन्ने सुनेका उनले अरु युवासँग पनि मेनपावरले त्यति नै र कतिपयसँग त्यो भन्दा पनि बढी रकम असुलेको सुन्न पाए। 

सबैले ७२ हजार रुपैयाँभन्दा बढी तिरेको र सबैले एउटै कम्पनीमा काम गर्ने भन्ने जानकारी पाएपछि राईले रोजगारदाता कम्पनीबारे गहिरिएर सोधपुछ गरेनन् । एजेन्ट र मेनपावरले जेजे भन्छ। त्यसलाई पत्याउँदै गए । ‘मेनपावर र एजेन्टले  हाम्रो पारिश्रमिक एक हजार दुई सय साउदी रियाल (करिब ३२ हजार रुपैयाँ) भनेको थियो,’ उनले भने, ‘तर, साउदी उड्ने बेला विमानस्थलमा पुगेर सम्झौता पत्र हेर्दा त दुई सय रियाल (पाँच हजार चार सय) मासिक पारिश्रमिक कम रहेछ।’ 

सम्झौता पत्र समेत नहेर्नु मेनपावर र दलालको विश्वासमा पर्नु रहेको उनको भनाइ छ । वैदेशिक रोजगारीमा कुन काम, कस्तो रोजगारदाता र कति पारिश्रमिक पाउने गरी जाँदैछौं भन्नेबारे नबुझेका कारण राईलगायतका ६ जनाको समूह यतिखेर तनावमा छ। 

मेनपावरले टाट पल्टेको कम्पनीमा पठाएका कारण वैदेशिक रोजगारीमा गएर कमाउने र घरपरिवारको जीवनयापन सहज बनाउने लक्ष्य लिएका ६ युवा आइतबार रित्तो हात घर फर्किएका छन् । 
साउदीको कम्पनीमा ११ महिनासम्म काम गर्दा तीन महिनाको मात्र पारिश्रमिक पाएका पीडितले कति दिनसम्म त भोकभोकै बस्नु परेको पीडा समेत सुनाए । सुर्खेतका कर्णबहादुर घलेले मासिक पारिश्रमिक देला भन्दै पर्खेर काम गर्दा ११ महिना बितेको बताए । विद्युत्को हेल्पर काम गर्ने सम्झौतामा साउदी गएका उनीहरूले साहुकै कारण १३ पटकक प्रहरी नियन्त्रणमा बस्नु परेको गुनासो गरे।

‘साउदी पुगेकै दिन सिसिसीएस कम्पनीले राहदानी कब्जामा लियो,’ सल्यानका लोकमान कामीले भने, ‘राहदानी कब्जामा लिएपछि अन्यत्र जान सकिएन । कम्पनीले परिचय पत्र बनाइदिएन । अनि प्रहरीले भेट्यो कि पक्राउ गरिहाल्थ्यो ।’ महिना बित्दै जाँदासमेत पारिश्रमिक नदिएपछि अन्त्यमा पीडितहरू साउदीको श्रम अदालतमा पुगेको र सोही अदालतको सहाराले घर फर्कन पाएको कामीले बताए। 

‘कम्पनीले पारिश्रमिक नदिएको थाहा पाएपछि साउदीमा क्रियाशील नेपाली साझा मञ्चका साथीले थाहा पाउनु भयो । र, हामीलाई श्रम अदालतमा जान सल्लाह दिनु भयो,’ बाँकेका नन्द बिकेले भने, ‘श्रम अदालत जाँदा खतरा हुन सक्ने जान्दाजान्दै उजुरी गर्याैं । अन्य उपाय पनि थिएन ।’ अदालतमा उजुरी परेपछि न्यायधीसले सिसिसीएस कम्पनीका साहुलाई बोलाएर सोधपुछ गरेको र घर फर्कने व्यवस्था नभए जरिवानासमेत तिराउने बताएपछि घर फर्कन पाएको उनको भनाइ छ। 

अदालतको निर्देशनपछि कम्पनीले घर फर्कनलाई टिकट दिएपनि काम गरेको तलब नदिएको बिकेले बताए । ‘घर फर्कंन पाउने/नपाउने अन्योल रहेको बेला टिकट पाउनुलाई ठूलै उपलब्धि ठान्यौं,’ ओखलढुंगाका युवराज दर्जीले भने, ‘त्यसपछि मुद्दा फिर्ता लिएर घर फक्र्यौं।’

 साउदीमा अप्ठेरो पर्दा त्यहाँस्थित नेपाली दूतावास र काठमाडौंस्थित वैदेशिक रोजगार विभागमा गुनासो गर्दा कुनै वास्ता नगरेको दर्जीले बताए । ‘नेपाली दूतावासमा घर कहिले फर्कंन पाइएला भनेर सोध्दा त्यहाँका कर्मचारी अम्बिका अधिकारीले चन्द्रमामा जहिले पुगिन्छ । त्यतिबेला नै घर पुग्न सकिएला भनेर हतोत्साही गरे,’ उनले भने, ‘रियादको दूतावासले सहयोग नगरेपछि हामी जेद्दाको कन्सुलर कार्यालमा पुग्यौं, जहाँका कर्मचारी मनहरी दंगालले सहयोग गर्नुभयो ।’ पीडितका अनुसार अलजुफसाकाका भन्ने ठाउँमा कार्यरत नेपालीलाई सहयोग गर्नुपर्ने जिम्माको बाँडफाँट भने रियादस्थित दूतावासको थियो । पीडितले दूतावासका कर्मचारी र दलालबीच साँठगाँठ हुनसक्ने आशंका गरेका छन्। 

११ महिना काम गर्दा रित्तो हात घर फर्केका पीडितले अब मेनपावरविरुद्ध क्षतिपूर्तिका लागि विभागमा उजुरी गर्ने बताएका छन् । वैदेशिक रोजगार ऐनमा सम्झौता अनुसार कामदारले पारिश्रमिक नपाए बिगोमा ५० प्रतिशत रकम थपेर क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने उल्लेख छ । मेनपावरले ती युवासँग ७२ हजार रुपैयाँदेखि एक लाख २० हजार रुपैयाँसम्म लिएको भए पनि १० हजार रुपैयाँको मात्र रसिद दिएको सल्यानका रमेश केसीले बताए। 

विभागका निर्देशक मोहन अधिकारीले पछिल्लो समयमा साउदीमा गएकाहरूबाट समस्यामा परेको भन्दै उजुरी पर्ने क्रम बढेको बताए । ‘विभागमा दर्ता भएका उजुरीमध्ये ६० प्रतिशतजति साउदीकै छन्,’ अधिकारीले भने, ‘समस्या सुन्दा साउदीको रोजगारीलाई निरन्तरता दिनु र नदिनुमा कुनै अर्थ देखिँदैन ।’ पछिल्लो सात महिनामा वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै विभागमा एक हजार दुई सय १४ उजुरी परेका छन् । तीमध्ये मेनपावरविरुद्ध (संस्थागत) का पाँच सय ८५ र दलालविरुद्ध (व्यक्तिगत) ६ सय २९ छन् । 

 

प्रकाशित: २८ फाल्गुन २०७४ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App