७ वैशाख २०८१ शुक्रबार
कला

हिउँका  बालबालिकाको कथा उत्कृष्ट

काठमाडौं – नेपालको उच्च हिमाली क्षेत्रका तीन विद्यार्थीको कथा समेटिएको फिल्म ‘द चिल्ड्रेन अफ द स्नो’ले यो वर्षको ‘मानव अधिकार फिल्म फेस्टिभल’मा ‘बेस्ट इन्टरनेशनल नन फिक्सन’को अवार्ड जितेको छ । बेलायतका निर्देशक जारा बाल्फोर र मार्कस स्टेफन्सनको फिल्मले ७० बढी मानव अधिकार सम्बन्धी फिल्मलाई पछि पार्दै अवार्ड जितेको हो। 

फेस्टिबलमा युरोपमा देखिएको आप्रवास समस्यालाई प्रस्तुत गरिएको फिल्म ‘अक्सिजेन’ले ‘बेस्ट इन्टरनेशनल फिक्सन स्पेसल मेन्सन’ अवार्ड पायो । फिल्मका निर्देशक यूकेका इडवार्ड वाट्स हुन् । त्यस्तै टर्की र इरानको कथा प्रस्तुत गरिएको फिल्म ‘इभ रेन्स स्लोली’ले ‘बेस्ट इन्टरनेशनल फिक्सन’को अवार्ड पोल्टामा पार्याे । साइद निजाती मिकलिन निर्देशित फिल्मले सन १९८० को दशकमा शिक्षकले विद्यार्थीहरूलाई कसरी स्वतन्त्रताबारे पढाए भन्ने विषय देखाएको छ।

पाकिस्तानी निर्देशक माहिरा ओमारको फिल्म ‘परविन रहमानः दी रिबिल अप्टिमिस्ट’ले ‘बेस्ट इन्टरनेशनल नन फिक्सन स्पेसन मेन्सन’को अवार्ड जित्यो । यो फिल्मले बहादुर महिलाको कथा प्रस्तुत गरेको छ। 

अवार्डमा नेपाल पानोरामा अन्तर्गत दीपक तोलांगेको ‘छारो डस्ट’ ले ‘नेसनल ननफिक्सन अवार्ड’ पायो । यो फिल्मले इटाभट्टामा काम गर्ने बालबालिकाको कथालाई देखाएको छ ।
श्रीलता राणा निर्देशित फिल्म ‘वधः लेट हर ब्रेथ’ले ‘नेसनल फिक्सन अवार्ड’ पायो । फिल्मले एउटी बालिकाको तीतो बाल्यकाल, युवावस्था र सम्बन्धहरुलाई प्रस्तुत गरेको छ । फेस्टिबलमा नेपालको मुगु क्षेत्रका बालबालिकाको मनोविज्ञान र जीवनशैली समेटिएको फिल्म ‘जालगेडी’ले ‘जुरी अवार्ड’ पायो । यो फिल्मका निर्देशक राजेशप्रसाद खत्री हुन् । विजेता तथा फेस्टिभलका सहभागीलाई राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक, नेपालका लागि जर्मन राजदुत रोलान्ड स्याफर, फिल्मकर्मी नविन सुब्बालगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको छैठौं संस्करणको फेस्टिभल  गत फागुन २३ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो । आयोजकका अनुसार महोत्सवमा सामाजिक रुपमा अधिकारबाट वञ्चित र सामाजिक न्यायको पक्षमा वकालतमुखी महिला, दलित, अल्पसंख्यक र पिछडिएका समुदायका लायगतका सवालमा निर्माण भएको फिल्मलाई राखिएका थिए। 

यो महोत्सवमा आयोजकसँग राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ (युएन), गर्भनेन्स फ्यासिलिटी, जर्मनी दुतावासले सहकार्य गरेका थिए । महोत्सवको हरेक दिन महिला सशक्तिकरणलाई लक्षित गरी ३० भन्दा बढी चित्रकला प्रदर्शन गरिएको थियो।

प्रकाशित: २८ फाल्गुन २०७४ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App