७ वैशाख २०८१ शुक्रबार
कला

‘मलाई फिल्मभन्दा बाहेकको कुरामा बोल्नु छैन ’

काठमाडौं– वर्षभरि नै विभिन्न विवादमा फसेकी साम्राज्ञीराज्य शाहले यसको प्रष्टोक्तिका लागि यसअघि सामाजिक सञ्जालको सहारा लिँदै आएकी थिइन् । कहिले बेलायतको भिषा नलागेको त कहिले गाउँले फिल्म गर्दिन भनेको कुराले साम्राज्ञीले मनोरञ्जन समाचारमा सधैं गतिलो स्थान पाइन् । पछिल्लो समय बक्षस्थलमा ट्याटु खोपेको कुराले पनि सञ्चारमाध्यममा कम स्थान पाएन ।  तर जब उनले पत्रकारका सामु यी सबैको कुराको मुखेन्जी जवाफ दिनु पर्ने समय आयो, उनले फिल्मबाहेक अरु विषयमा कुरा नगर्ने भन्दै पत्रकारका प्रश्नको बिट मारिन् । साम्राज्ञी आउँदो २३ गते प्रदर्शन हुन लागेको फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थिति थिइन्।

आफूले गाउँले भूमिका गर्दिन नभनेको बताएकी साम्राज्ञीले ट्याटु कान्डमा भने मिडियाले बुझ्दै नबुझी समाचार लेखेको आरोप लगाइन्। ‘ मिडियाले बुझ्दै नबुझी समाचार लेख्यो । त्यो फोटो लिक हुनमा मेरो केही दोष थिएन ,‘साम्राज्ञीले भनिन् , ‘ट्याटु आर्टिस्टले माफी मागेपछि बल्ल तपाईंहरूले कुरा बुझ्नु भयो । तर जब पत्रकारले ‘फोटो खिच्ने पोजमा त तपाईं आफैं पनि कम्फर्टेबल देखिनुहुन्छ नी ?’ भनेर प्रतिप्रश्न गर्यो, साम्राज्ञीले झर्कंदै ‘तिमीसँग’ बाहेक अरु विषयमा कुरा नगर्ने भन्दै माइक पन्छाइन।

पत्रकारलाई समाचार लेख्न सिकाउने मामलामा नाजिर हुसेन पनि अगाडि रहे । उनले पनि ‘ए मेरो हजुर २’सँगको विवाद सम्बन्धी एक प्रश्नमा मिडियालाई दुई तर्फी कुरा सुनेर मात्र समाचार लेख्न आग्रह गरे। 

यसअघि भदौ २ मा प्रदर्शनमा आउने घोषणा गरेर पनि पछाडि हटेको फिल्म वर्षको अन्त्यमा रिलिज हुन लागेको हो ।  आकाश श्रेष्ठ, नाजिर हुसेन र साम्राज्ञीको मुख्य भूमिका रहेको फिल्मले अन्नपूर्ण बेसक्याम्पको यात्रामा हिडेका तीन चरित्रको कथालाई प्रस्तुत गरेको छ । फिल्म एकदमै मेहनत गरेर बनाएकाले दर्शकलाई मनपर्ने निर्देशक शिशिर राणाले बताए । फिल्ममा नयाँ के छ त भन्ने प्रश्न खेपेका निर्देशक राणाले फिल्म खिचिएको लोकेसन नै फिल्मको नविनता रहेको दाबी गरे । फिल्ममा शिशिर राणा पनि महत्वपूर्ण भूमिकामा देखिने छन् ।  प्रमोद कार्कीको छायांकन निर्देशन रहेको फिल्मलाई राणासँगै साकार ओझा, सुमन उप्रेति आदि मिलेर लेखेका हुन्। 
 

प्रकाशित: २८ फाल्गुन २०७४ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App