८ वैशाख २०८१ शनिबार
कला

गाउँ–टोल पस्दै ‘राज्जारानी’

क्याप्सन - घुम्ती फिल्मबारे जानकारी गराउँदै भोरका प्रबन्ध निर्देशक राजकुमार महतो ।

जनकपुरधाम – तराई–मधेशमा सामाजिक कुरीतिको रुपमा जडो गाडेको दाइजो प्रथालाई निरुत्साहित गर्ने उदेश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘राज्जारानी’ लाई घुम्ती सिनेमाको रुपमा गाउँ–टोल पुर्‍याउने अभियान सुरु हुँदैछ।

शनिबार सप्तरीको तिरहुत गाउँपालिका –५, लोहजरा टोलबाट सुरु हुन लागेको घुम्ती सिनेमा तराईका मोरङदेखि पर्सासम्म दश जिल्लाका सबै गाउँमा पुर्‍याउने अभियानका अगुवा राजकुमार महतोले बताए । मधेशी समुदायको बाहुल्यता रहेको प्रदेश नम्बर १ स्थित मोरङ र सुनसरी तथा प्रदेश २ का सबै जिल्लामा पुगेर सिनेमामार्फत सर्वसाधारणमा दाईजो विरुद्ध चेतना विस्तार गर्ने लक्ष्य लिएर अभियान सुरु गर्न लागिएको महतोको भनाई छ।

‘यो अभियानले समाजमा दाईजो लिने र दिने प्रवृतिलाई निरुत्साहित गरिने मुख्य उद्देश्य हो’ महतोले नागरिकसँग भने । यस क्षेत्रको सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक विषयवस्तुलाई उजागर गर्न बनाइएको फिचर फिल्मलाई सिनेमा हलमा पुग्न नसक्ने समुदायबीच परिचित गराउन यो अभियानले सार्थक भूमिका खेल्ने उनको दाबी छ।

यो अभियान अन्तर्गत प्रत्येक जिल्लामा कम्तीमा आधा दर्जन स्थानमा पुगेर प्रत्येक ठाउँमा तीन–चार शो प्रदर्शन गर्ने योजना बनाइएको छ । सर्वसाधारणको घरआँगनमै पुगेर फिल्म देखाएपछि कम्तीमा एक लाख २० हजार दर्शकले यसवारे अवगत हुने अनुमान अभियानकर्ताको छ । टोलमै पुग्ने घुम्ती सिनेमा हेर्न दर्शकलाई ५० रुपैयाँको टिकट दर तोकिएको महतोले जनाए।

फिल्ममा राज्जाको भूमिकामा नाजिर हुसैन र रानीको भूमिका केकी अधिकारीले खेलेका छन् । नेपाली भाषामै तयार पारिएको उक्त फिल्मलाई भोर नामक सामाजिक संस्थाले मैथिली भाषामा ‘डब’ गरेको थियो । फिल्म आर्यन फिल्म प्रोडक्शन र भोर कम्पनीले निर्माण गरेको हो । पश्चिम तराईमा भएको सत्य घटनामा आधारित फिल्मको छायांकन बांके जिल्लामा गरिएको हो।

 

प्रकाशित: २७ फाल्गुन २०७४ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App