७ वैशाख २०८१ शुक्रबार
समाज

जघन्य अपराध

काठमाडौं –काठमाडौंका तारे होटलमा १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा कैलालीको घोडाघोडीमा एक किशोरीमाथि बोक्सी आरोपमा कुटपिट हुँदै थियो । बिहीबार १८ वर्षीया राधा चौधरीलाई बोक्सी भन्दै एक पुरुष र महिलाले पालैपालो कुटेको भिडियोसमेत सार्वजनिक भइसकेको छ। 

युटुबमार्फत सार्वजनिक भिडियोमा ती किशोरीलाई लगातार कुटिएको छ । भिडियो हेर्दा थाहा हुन्छ, एउटी किशोरीलाई मरणासन्न हुनेगरी कुट्दा छेउमा दर्शकजस्तै बसेकाहरू चुँसम्म बोलेका छैनन्। 

सर्वोच्च अदालतले कसैलाई बोक्सा वा बोक्सीको आरोप लगाउनु, सताउनु, अपहेलना वा बहिष्कार गर्र्नु, आक्रमण गर्नु, सामाजिक बेइज्जती गर्नुलाई यसअघि नै ‘जघन्य अपराध’ भनेको छ। 

‘बोक्सीको आरोप लगाएको हिंसा हेरी ताली पिट्नेहरू बोक्सीको अस्तित्वमा विश्वास गर्ने’ भएकाले हेरी बस्ने सर्वोच्चको नजिरमा उल्लेख छ।

समाजमा बोक्साबोक्सी हुँदैनन् भन्नेमा समाजलाई विश्वास दिलाउनुपर्ने सर्वोच्चले भनेको छ । धामीझाँक्रीले अन्धविश्वास फैलाउने, त्यसकै आडमा शोषणसमेत गरिरहेकाले सबैलाई बुझाउन जरुरी भएको समेत सर्वोच्चले बोक्सीको आरोपमा मारिएकी चितवनकी ढेगनीदेवीको मुद्दा फैसला गर्ने क्रममा उल्लेख गरेको हो। 

महिलामाथि बोक्सी आरोपमा कुटपिट, मलमूत्र खुवाउने, मार्नेसम्मका घटना निरन्तर भइरहेका छन् । बोक्सीको आरोप लगाउनेलाई जेल र जरिबाना दुवै सजायको व्यवस्था कानुनले गरेको छ । बोक्सी भन्दै कुट्ने व्यक्ति दोषी ठहर भएमा ५ देखि ८ वर्षसम्मको जेल सजाय व्यवस्था छ। 

कानुनमा के छ ?
कसैलाई बोक्सीबोक्सा भन्न र आरोप लगाउन पाइँदैन । कानुन बनेको जम्मा दुई वर्ष भएको छ । ‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ मा बोक्सीको आरोप लगाउनेलाई कैद र जरिवाना दुवै सजाय तोकिएको छ । बोक्सीको आरोप लगाएको अवस्था हेरेर सजाय र जरिवानाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ। 

यस्तो कसुर गर्नेलाई ५ वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना व्यवस्था छ । 
बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, यातना दिने, कुनै किसिमले क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई सजायको व्यवस्था छ। 

कैलालीकी राधालाई घरबाट निकालेर अलि पर अर्को घरमा लगी कुटपिट गरिएको थियो । उनलाई क्रुर अमानवीय र अपमानजनक व्यवहार गरिएकाले ऐनको दफा ३ को (छ) अनुसार ५ देखि ८ वर्ष कैद र एक लाख रुपियाँसम्म जरिवाना हुनुपर्नेछ। 

बोक्साबोक्सी र भूतप्रेत हुँदैनन् 
सर्वोच्च अदालतले बोक्साबोक्सीविरुद्ध पाठ्यक्रम बनाएर लागू गर्न आदेश दिइसकेको छ । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सचेतनाका लागि बोक्साबोक्सीविरुद्ध उपयुक्त पाठ्यक्रम बनाएर समावेश गर्न शिक्षा मन्त्रालयलाई आदेश दिइसकेको छ।  

७ वर्षअघि चितवनको बघौडामा बोक्सी आरोपमा एकल महिला ढेगनीदेवी महतोलाई पनि मारिएको थियो। ढेगनीदेवीकी सासु झारी महतोको जाहेरीले सरकारवादी मुद्दामा सर्वोच्चले गत असारमा यस्तो आदेश दिएको थियो। 
‘बोक्साबोक्सी र भूतप्रेत हुँदैनन् । धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न सकिँदैन । ठीक पार्न सकिन्छ भन्नु अन्धविश्वास हो,’ सर्वोच्चले भनेको छ, ‘जुन कुरा विज्ञानसम्मत छैन । त्यसलाई स्विकार गर्नु हुँदैन।’ 

अन्धविश्वासविरुद्ध विद्यालय तहदेखि नै सचेतना फैलाउन पाठ्यक्रम उपयुक्त हुने भन्दै सर्वोच्चले आदेश दिएको थियो ।
अन्धविश्वासविरुद्ध चेतना जागृत गर्न पाठ्यक्रम नै आवश्यक भएको सर्वोच्चको ठहर छ । ‘बोक्सीको आरोपसँग जोडिएका आर्थिक, सामाजिक, कानुनी, न्यायिक एवं मानवअधिकारसम्बन्धी आयाम र कुप्रथा अन्त्य गर्नेबारे रणनीतिसहितको विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नू,’ सर्वोच्चले भनेको छ, ‘कुप्रथाविरुद्ध सञ्चारमाध्यमबाट प्रचारप्रसार गरी सचेतना दिनू।’

बोक्सीप्रथा मात्र नभई धामीझाँक्री प्रथाविरुद्धसमेत कानुनी व्यवस्था हुनुपर्र्ने सर्वोच्चको ठहर छ । ‘बोक्सीप्रथा विरुद्ध मात्र होइन, त्यसको कारकका रूपमा रहेको धामीझाँक्री प्रथाविरुद्ध नै हाम्रो राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्छ’ फैसलामा भनिएको छ।  

प्रकाशित: २७ फाल्गुन २०७४ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App