८ वैशाख २०८१ शनिबार
अर्थ

चार किस्तामा ४० करोड चुक्ता गर्ने एयर एसियाको प्रतिबद्धता

काठमाडौं – मलेसियाको सस्तोमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बेन्यामिन इस्मेलले चार किस्तामा सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता जनाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थप चार महिना म्याद दिएको छ।

एयर एसिया एक्सका सिइओ इस्मेलले शुक्रबार त्रिभुवन विमानस्थल व्यवस्थापनलाई इमेल गरी चार किस्ताका दरले आगामी वर्ष साउन १५ गतेभित्र सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएपछि विमानस्थल व्यवस्थापन थप लचिलो बनेको हो।

यसअघि विमानस्थलले फागुन २२ गतेभित्र सम्पूर्ण बक्यौतावापत ४० करोड रुपैयाँ चुक्ता नगरे एयर एसिया एक्सको नेपाल उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसबारे उसले पत्रमार्फत एयर एसियाको मुख्यालयलाई जानकारी दिएको थियो।

‘एयर एसिया एक्सका सिइओ इस्मेलले चार किस्तामा सबै बक्यौता चुक्ता गर्ने र अर्को वर्ष असार ३२ गतेभित्र २५ करोड रुपैयाँबराबरको बैंक ग्यारेन्टी उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि हामीले म्याद थपेका हौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले शनिबार नागरिकसँग भने, ‘एयर एसिया एक्सले सेवा शुल्कवापत २७ करोड र जरिवाना १३ करोड गरी कूल ४० करोड रुपैयाँ तिर्न बाँकी छ।’
महाप्रबन्धक क्षेत्रीका अनुसार एयर एसिया एक्सले २०७५ वैशाख १७ भित्र कूल बक्यौताको ४० प्रतिशत, जेठ १७ भित्र २० प्रतिशत, असार १६ भित्र २० प्रतिशत र साउन १५ गतेभित्र २० प्रतिशत चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ।

‘यसरी किस्ताबन्दीमा बक्यौता चुक्ता गर्ने भने पनि एयर एसिया एक्ससँग २५ करोड रुपैयाँबराबरको बैंक ग्यारेन्टी भने लिएर छाड्छौं,’ उनले भने, ‘उसले भनेअनुसारै चुक्ता गर्दै गएर विश्वासिलो आधार देखिए बैंक ग्यारेन्टी हटाउन सक्छौं।’

यसअघि त्रिभुवन विमानस्थल व्यवस्थापनले फागुन २२ भित्र सबै बक्यौता चुक्ता गर्न भनेपछि एयर एसिया एक्सका दुई उच्च अधिकारी नेपाल आएर छलफल गरेका थिए । उक्त छलफलमा फागुन २५ भित्र २५ करोडबराबरको बैंक ग्यारेन्टी उपलब्ध गराउने प्रतिबद्धता जनाएर उनीहरू मलेसिया फर्किएका थिए ।
त्यसपछि एयर एसिया एक्सका सिइओ इस्मेलले इमेल गरी ५० लाख मलेसियन रिंगिटभन्दा बढी खर्च गर्न सञ्चालक समितिमा पेस गर्नुपर्ने र समितिबाट अनुमोदन हुन समय लाग्ने भन्दै किस्ताबन्दी तथा बैंक ग्यारेन्टीका लागि म्याद मागेका थिए।  

बारम्बार ताकेता गर्दा पनि एयर एसियाले ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको छ । चार घन्टासम्मको दुरीमा उडान गर्नेलाई एयर एसिया र त्यसभन्दा लामो दुरीमा उडान गर्नेलाई एयर एसिया एक्स भनिन्छ । नेपालमा एयर एसियाले उडान गरिरहेको छ।एयर एसिया एक्सले यो पहिलो पटक प्रतिबद्धता भने गरेको होइन । दुई महिनाअघि पुस २४ भित्र बक्यौता नतिरे उडान रोक्नेसम्म कारबाही गर्ने भनेपछि उसले किस्ताबन्दीमा रकम तिर्दै जाने लिखित प्रतिबद्धता गरेको थियो ।

प्रतिबद्धताअनुसार उसले पुस २३ मा २ करोड र भोलिपल्ट २४ गते थप १० करोड रुपैयाँ चुक्ता गर्ने र बाँकी ११ करोड रुपैयाँ किस्ताबन्दीमा तिर्दै जाने भनेको थियो । त्यसबेला उसको बक्यौता २३ करोड रुपैयाँ थियो । एयर एसिया एक्सले हाल काठमाडौंका लागि सातामा पाँच उडान गर्दै आएको छ । त्यसबेला बक्यौता रकम एयर एसियाको मुख्यालयबाट आएको थियो।

तर, एयर एसिया एक्सले पुस २४ मा प्रतिबद्धता विपरीत १ करोड ३० लाख रुपैयाँमात्र चुक्ता गरेर विमानस्थल व्यवस्थापनलाई झुक्याएको थियो । त्यसपछि विमानस्थलले एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्स एन्ड ट्राभल्सका सञ्चालक हरिमान लामालाई बोलाएर थप प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको थियो । लामाले १५ दिनभित्र सबै बक्यौता चुक्ता गर्ने बताएका थिए । त्यसबेला एयर एसिया एक्सले फागुन १६ गतेभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक तथा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन १९ भित्र एयर एसियाको उडान रोक्न निर्देशन दिए पनि विमानस्थल व्यवस्थापनले थप तीन दिन (फागुन २२) अन्तिम म्याद दिएको थियो।

ठूलो परिमाणको बक्यौता चुक्ता गर्नुपर्ने ताकेता सुरु भएपछि एयर एसियाको नेपालस्थित जिएसए इन्सेन्टिभ्स टुर्सका सञ्चालक लामा विमानस्थलको सम्पर्क बाहिर थिए । त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाइएको थियो । उसको जिएसए इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । त्यसको जवाफ पनि दुई सातासम्म आएको थिएन।

नेपाल उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष २०७३÷७४ असार मसान्तसम्म १ अर्ब ९२ करोड २ लाख ३३ हजार रुपैयाँ नतिरेको समाचार नागरिक दैनिकले मंसिर ७ गते प्रकाशित गरेको थियो । बक्यौताबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको संयोजकत्वमा छनबिन समिति समेत गठन भएको थियो।

समितिले पुस पहिलो साता प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई प्रतिवेदन बुझाइएको थियो ।
बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए । अझै ठूलो परिमाणबराबरको रकम उठाउन बाँकी छ।
 

 

प्रकाशित: २७ फाल्गुन २०७४ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App