८ वैशाख २०८१ शनिबार
फोटो फिचर

तस्बिरमा हिउँद (फोटो फिचर)

हामीले हिउँद याममा विभिन्न समस्या देख्छौँ र भोग्छौँ पनि । जाडो मौसममा प्रकृतिले हामीलाई विभिन्न अप्ठेरासँगै  रमाइला क्षण अनुभव गर्ने मौका पनि दिन्छ । हिउँदका बेला हाम्रा डाँडा–पाखामा कतै हिउँ परेको देख्छौँ त कतै शीतलहर । जाडोमा कतिपयको जनजीवन कष्टकर बन्न पुग्छ । हामीले भोगेका तीनै समस्यालाई र मौसमले देखाएका परिवर्तनलाई तस्बिरमा कैद गरेका छन्, प्रशन्न बज्राचार्यले । उनैले खिचेको फोटोले हिउँद (विन्टर) शीर्षकमा गरिएको ‘फोटो नेपाल प्रतियोगिता’को उपाधि जित्न सफल भएको छ । बज्राचार्यले जाडोको जीवनशैलीलाई तस्बिरमा कैद गरेका थिए। 

नेपाल पर्यटन बोर्डले फोटो पत्रकार क्लबसँगको सहकार्यमा गरेको प्रतियोगितामा उनले खिचेको फोटो उत्कृष्ट भएको थियो । प्रतियोगितामा दुई सय ३० फोटोग्राफरका पाँच सय नौ फोटोलाई पछि पार्दै बज्राचार्यको फोटो उत्कृष्ट भएको थियो । नेपालमा पहिलोपटक भएको फोटो नेपाल प्रतियोगितामा विक्रम मगरको फोटोले दोस्रो तथा प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हासिल गरेको छ।

फोटो नेपाल नाममा गरिँदै आएको प्रदर्शनी नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, वन्यजन्तु तथा चरा–चुरुंगीका रोचक पक्षलाई तस्बिरमा समेट्न मद्दत पुर्याएको छ । प्रतियोगितामार्फत देशका विभिन्न क्षेत्रको जीवनशैली लगायत विषय समेट्ने उद्देश्य राखिएको थियो। 

विजेता फोटोग्राफर बज्राचार्यले पर्यटन बोर्डबाट शुक्लाफाँटाको तीन दिन दुई रातको टुर प्याकेजसँगै नगद पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी, पर्यटन बोर्डले दोस्रो भएका विक्रमलाई तीन दिन दुई रातको लुम्बिनीको टुर प्याकेज र नगद पाँच हजार रुपैयाँ दिएको छ । प्रतियोगितामा तेस्रो हुने प्रमिनलाई तीन दिन दुई रातको चितवनको टुर प्याकेज र नगद पाँच हजार रुपैयाँ उपलब्ध गराएको छ।

प्रतियोगितामा सहभागी पाँच सय नौ फोटोमध्ये पहिलो चरणको जजिङमार्फत ३८ फोटोग्राफरका उत्कृष्ट ५० फोटो प्रदर्शनीमा समावेश छन् । प्रदर्शनीमा समावेश फोटोमध्ये अन्तिम चरणको जजिङमार्फत शीर्ष तीन फोटो चयन गरिएको हो । हिउँद (विन्टर) थिममा गरिएको प्रतियोगितामा जाडो यामको जनजीवनसँग सम्बन्धित फोटो सहभागी थिए ।
नेपाल पर्यटन बोर्डले दुई वर्ष अघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य साथ पिजे क्लबसँगको सहकार्यमा प्रत्येक महिना फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल नाममा फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनी सँगै सुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानका रूप लिँदा देश चिनाउने फोटो प्रदर्शनी दुई वर्षदेखि निरन्तर रूपमा भइरहेको छ। 

फोटो नेपाल पर्यटन प्रवद्र्धनमा सरकारी, गैरसरकारी निकाय र विभिन्न संघ–संस्थासँगै सोखिन फोटोग्राफर र सर्वसाधारणलाई पनि प्रवद्र्धकका रूपमा लाग्न प्रोत्साहित गर्ने अभियानका रूपमा पर्यटन बोर्डले बयान गरेको छ। 
प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार पर्यटन बोर्डमा हुने गरेको फोटो नेपाल प्रदर्शनीले थुप्रै सर्वसाधारण र सोखिन फोटोग्राफरलाई यो अभियानप्रति आकर्षित गरेको पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताए । ‘प्राकृतिक, सांस्कृतिक सुन्दरता वा घुमफिरका सोखिनले मन पराउने खालका गतिविधि क्यामरामा क्याप्चर गरी त्यसलाई सार्वजनिक गरेका छौँ,’ कार्कीले भने, ‘सोखिन फोटोग्राफरलाई पनि नेपाल चिनाउने तस्बिर खिच्न प्रोत्साहित गर्नु हाम्रो लक्ष्य हो ।’ 

फोटो नेपालको सफलताबाट उत्साहित भएर पर्यटन बोर्डले प्रतियोगितात्मक रूपमा यसलाई विस्तार गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए ।

प्रतियाेगितामा सहभागी अन्य तस्बिरहरू 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App