८ वैशाख २०८१ शनिबार
समाज

कमलरीदेखि संसदसम्म

दाङ – आठ वर्षको कलिलो उमेरमा आर्थिक बिपन्नताका कारण परिवारले साहुको घरमा कमलरी राखिदिएपछि शान्ता चौधरीले १० वर्षको अवधि कमलरी दासतामै गुजार्नु पर्‍यो । एक दशक कमलरी दासता झेलेकी उनै शान्ता अहिले प्रतिनीधिसभा सदस्य बनेकी छिन्।  

प्रत्यक माघको एक गते वर्षदिनको ‘करार’ सकिन्थ्यो । वार्षिक सम्झौता सकिएपछि साहुले घर पठाइदिन्थे । साहुसँगको श्रम करार पूरा गरेर माघ मनाउन घर फिर्ने दाङ रामपुरकी शान्ताको मुक्ति अनुभव दुईतीन दिनभन्दा बढी टिक्दैनथ्यो । माघमा दैलो टेक्ने नयाँ साहुसँग नयाँ सम्झौता भैसक्थ्यो । कमलरी जीवनको सास्ती उस्तै । जुठाभाँडा माझनु मात्रै हैन, साहुको अपहेलित व्यवहारले मन खिन्न बन्थ्यो।  

कमलरी दासता उन्मुलनका लागि २०६४ देखि कमलरी मुक्तिको आन्दोलन सुरुवात भयो । आन्दोलनको नेतृत्व उनै शान्ताले लिइन् । आन्दोलनले सार्थकता पायो । शान्ताले कमलरी उन्मुलन हुने गरी आएको परिवर्तनलाई प्रजातान्त्रिक परिपाटीले ल्याएको परिवर्तनका रूपमा बुझेकी छिन् । ‘प्रजातान्त्रिक परिपाटीअनुसार हरेक नागरिकमा अधिकार पाउनुपर्छ भन्ने चेतना बढ्दै गयो,’ शान्ता भन्छिन्, ‘त्यसैको उपज कमलरी उन्मुलन जस्तो ठूलो परिवर्तनलाई लिन सकिन्छ।’

कमलरी दासता उन्मुलनकी अभियन्ताको राजनीतिक यात्रा यहीँबाटै सुरु भयो । हरेक परिवर्तनको शक्ति राजनीतिमा रहने हेक्का राखेकी उनी राजनीतिमार्फत नै कमलरीप्रथा अन्त्य गर्न सकिनेमा दृढ थिइन् । कमलरी मुक्ति आन्दोलनबाट एमाले राजनीतिमा होमिएकी शान्ता कमलरी मुक्त भएको केहि समयमै पार्टीको नजरमा परिन् । २०६४ को पहिलो संविधानसभामा उनी समानुपातिक सभासद् चुनिइन् । संविधान निर्माण मुख्य जिम्मेवारीसहित संविधानसभा प्रवेश गरेकी शान्ताले संविधान निर्माणको जस भने लिन पाइनन् । कारण संविधान निर्माण नगरेरै संविधानसभा विघटन भयो । कमलरी मुक्ति आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गरेकी शान्तालाई एमालेले दोस्रो संविधानसभा निर्वाचनमा पनि उत्तिकै रेस्पोन्स ग¥यो । तत्कालीन दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार चुनिएकी शान्ता यो प्रतिस्पर्धामा फेल भइन् । कांग्रेसकी सुशीला चौधरीबाट पराजित शान्ता एमाले राजनीतिबाट भने विमुख भइनन् । अन्ततः चार वर्षपछि अहिले प्रतिनिधिसभामा पुनः समानुपातिक सांसद बनेकी छन् । कमलरी आन्दोलनबाट राजनीतिक जग निर्माण गरेकी शान्ताको प्रतिनिधिसभा प्रवेशको प्रमुख लक्ष समाजमा व्याप्त गरिबी हटाउनु रहेको छ । ‘गरिबीका कारण मैले १० वर्षसम्म भोग्नु परेको पीडा कसैले पनि भोग्नु नपरोस् भन्ने मेरो सबै भन्दा ठूलो सरोकार हो,’ उनले भनिन्, ‘यसका लागि नै मेरो अबको भूमिका रहने छ।’ 

शान्तासंँगै वर्षौँसम्म कमलरी दासताले पिल्सिएका दुई पूर्वकमलरी अहिले निर्णायक तहमा पुगेका छन् । कमलरी मुक्ति आन्दोलनमा खेलेको अग्रणी भूमिकाकै कारण उनीहरू अहिले माननीयको हैसियतमा पुगेका हुन् । यीमध्येकी अर्की पूर्वकमलरी हुन्, बर्दियाकी कृष्णी चौधरी । यी पूर्वकमलरी अहिले पाँच नम्बर प्रदेशको उपसभामुख चुनिएकी छिन् । शान्ता जस्तै कृष्णीलाई पनि ७ वर्षे कलिलो उमेर देखि कमलरी दासताबाट पिल्सिनु परेको थियो । बाल्यकालदेखि भोग्नु परेको यो दासताले बाल्यकाल मात्रै हैन, बैंंशसमेत छोपिदियो ।  अविवाहित अवस्थाको साढे सात वर्ष कमलरी दासतामै बिताएकी कृष्णीलाई विवाहपछि पनि यो दासताले उन्मुक्ति दिएन । विवाहपछिका थप १३ वर्ष यही दासतामै कष्ट झेल्नु पर्‍यो। 

त्यो बेलाको निकै कष्टकर जीवन स्मरण गर्दै उनले भनिन्, ‘यहाँ सम्मकी साहुका छोराछोरीले खाएर फालेको जुठो भात खाएर दिनरात कटाउनु पथ्र्यो।’ 

२०५७ साउन २ गते मुक्त कमैया घोषणा भयो । यो घोषणासँगै कमलरी दासताबाट उनले मुक्ति पाइन्।  उनी आफ्नो मुक्तिमा मात्रै सीमित बनिनन् । यसलाई अभियानकै रूपमा व्यापक बनाउने अभियानमा नायक समेत बनिन्। ‘यो घोषणापछि म यो अभियानलाई जिल्ला तहमा व्यापक बनाउनतिर लागेँ,’ उनले भनिन् ‘हाम्रो टोलका १२ जना महिलाको समूह बनाएर मैले नेतृत्व लिएँ ।’ कमैया कमलरी मुक्तीका लागि विभिन्न अभियानको नेतृत्व लिँदै उनले पनि यो अभियानका लागि राजनीति उत्तिकै अपरिहार्य देखिन्। 

उनले २०६४ देखि एमालेबाट राजनीतिक यात्रालाई सुरुवात गरिन् । एमाले निकट अनेमसंघको जिल्ला सदस्य रहेकी कृष्णी अहिले यही राजनीतिक सिंढीबाट माथि उक्लिइन्  र प्रदेशसभाको उपभासमुख पदमा बहाल भएकी छिन्। कमलरी दासताबाट भुक्तभोगी कृष्णीका लागि निमुखाको उत्थान सबैभन्दा ठूलो जिम्मेवारी काँधमा आइपरेको महसुस भएको छ । ‘निमुखाको उत्थान नै मेरो पहिलो मिसन हो,’ उनले भनिन् ‘गरिब निमुखा भएर बाँच्नुपर्दाको पीडा कस्तो हुन्छ, त्यो म जस्तो भोगेकालाई मात्रै थाहा छ ।’ 

प्रकाशित: २४ फाल्गुन २०७४ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App