८ वैशाख २०८१ शनिबार
समाज

दोषीसँग नाम मिल्दा निर्दोष ‘चतुरे’ जेलमा

काठमाडौं – गाउँघरमा बोलाउने नाम ‘चतुरे’ भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा ८ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन् । चोरी मुद्दा लागेका ‘चतुरे’ सँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्। 

लिखु गाउँपालिका ६ धोक्रेका चतुरे तामाङलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो । बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए।  

प्रहरीले खोजेका वास्तविक चतुरे भने गाउँमै छन् । १९ वर्षअघि चतुरे तामाङलाई चोरी मुद्दा लागेको थियो । चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतले २०५५ साल असार ७ मा चतुरेलाई एक महिना १५ दिन कैद र ८ सय ८५ रुपियाँ जरिबाना फैसला गरेको थियो। 

सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल गएका हुन् ।

त्यही मुद्दा फैसला कार्यान्वयनका लागि चतुरे खोज्दै जाँदा उनलाई पक्राउ गरिएको हो । सादा पोसाकमा पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल गएका हुन्। 
घटना के थियो ?

नुवाकोटको हाल लिखु गाउँपालिका वडा नम्बर ६ मा प्रेमबहादुर लामाको गाउँमा बोलाउने नाम ‘चतुरे’ हो। उनको घरदेखि १५ मिनेट माथि चतुरे तामाङको घर छ । तर, प्रहरीले गाउँलेलाई चतुरे नाम सोधेर प्रेमबहादुरलाई पक्राउ गरेको हो। 

उनलाई घर बनाउँदै गरेको समयमा सादा पोसाकमा मोटरसाइकलमा पुगेका दुईजना प्रहरीले ‘एकछिन चौकी जाऊँ, सानो काम छ । आजै फर्केर आउनुहोला’ भन्दै मोटरसाइकलको बीचमा राखी तीनजना चढेर नुवाकोट सदरमुकाम लगेको लामाका छोरा श्याम लामाले बताए। 

२०७४ फागुन १४ गते दिउँसो २ बजे । नुवाकोटको लिखु धोक्रे । प्रेमबहादुर आफ्नो घर बनाउने काममा व्यस्त थिए । 
एक्कासि गाउँमा देखिएका नचिनेका दुई मानिसले सोधे, ‘तपाईंको नाम चतुरे हो?’ प्रेमबहादुरले हत्त न पत्त उत्तर दिए, ‘हो हजुर !’ उनले नयाँ घर बनाउँदै गरेका उनले ठानेछन्, इन्जिनियर घरको निरीक्षण गर्न आए। 

तर, उनीहरु सादा पोसाकमा विदुरबाट गएका दुईजना प्रहरी पो रहेछन् । उनीहरुले केही काम छ, हामीसँगै जाऊँ भनेर मोटरसाइकलमा राखेर सदरमुकाम ल्याइपुर्‍याए । लामालाई १५ गते जेलचलान गरिएछ। 

गाउँलेले सोधखोज गरी बुझ्दा चोरी मुद्दामा १९ वर्षअघिको मुद्दा फैसला कार्यान्वयनका क्रममा ‘चतुरे’ लाई खोजिएको रहेछ । उनको नाम मिलेका कारण उनलाई पक्राउ गरिएको रहेछ। 

भोलिपल्ट प्रेमबहादुरका छोरा नाम फरक परेको भन्दै प्रहरीचौकी पुगेछन् । प्रहरीले लामाले आफू चतुरे भएको स्वीकार गरेकाले पक्राउ गरेको र एक महिना जेल राख्नुपर्ने उत्तर दिएछन्। 

कुनै पनि अभियोग नगरेको व्यक्ति जेलचलान भएको भन्दै उनका छोराले कानुन व्यवसायीको सहयोगमा फागुन १६ मा नुवाकोट जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरे । अदालतका न्यायाधीश बिदामा बसेका कारण मुद्दा मंगलबारसम्म पनि सुनुवाई हुन सकेको छैन। 

लिखु गाउँपालिका ६ का वडा अध्यक्ष हरिशरण लामिछानेले पनि चतुरे लामा भन्ने अर्को व्यक्ति भएको बताए । ‘अदालतको फैसलाअनुसार प्रहरीले समातेर लगेको रहेछ । उनी लेखपढ पनि जान्दैनन् । सोझो भएका कारण फसाइएछ,’ उनले भने, ‘खास दोषी अर्का व्यक्ति रहेछन्।’ 

बोलीचालीको नाम चतुरे भएका कारण इमाादार, अनपढलाई फसाइएको वडाध्यक्ष लामिछानेले नागरिकसँग टेलिफोनमा बताए । ‘दोषी नचिनेर राज्य संयन्त्रको कमजोरीका कारण हचुवाको भरमा लगेर फसाइएको छ,’ उनले भने, ‘पक्राउ गर्नुअघि पुर्जी दिएर नागरिकता, तीनपुस्ते हेर्नुपर्ने थियो । तर, केही नगरी मोटरसाइकलमा लगेछन्।’ 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्तबहादुर कुँवरले स्थानीयका अनुसार ‘चतुरे’ नाम गरेका उनी भएकाले पक्राउ गरिएको बताए । ‘अदालतले पक्राउ गर्न पठाएर हामीले ल्याएका हौं । अदालतले नै जेल पठाएको हो । निर्दोष भए अदालतले छोड्छ,’ कुँवरले टेलिफोनमा भने, ‘यतातिरको चलनै यस्तै छ । अपराध पहिले गरेको हुन्छ । नागरिकता पछि बनाएका हुन्छन्।’ 

एसपी कुँवरले आफूहरुले ल्याउनुपर्ने भएका कारण फरार अभियुक्त भनेर ल्याइएको दाबी गरे । ‘अदालतको आदेशले जेल गएको हो,’ उनले भने, ‘उहाँहरु अदालत पनि जानुभएको छ । हामीले कानुनबमोजिम काम गरेका हौं । निर्दोष भए कानुनी उपचार पनि छ ।’ 

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App