८ वैशाख २०८१ शनिबार
अर्थ

एयर एसियालार्इ नेपाल उडान राेक्ने चेतावनी

काठमाडौं – मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उसको नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ। 

विमानस्थल व्यवस्थापनले आगामी मंगलबार (फागुन २२) भित्र सम्पूर्ण बक्यौता वापत २४ करोड रुपैयाँ चुक्ता नगरे नेपाल उडान तत्काल रोक्ने भन्दै एयर एसियाको मलेसियास्थित मुख्यालयलाई पत्र पठाएको छ। बारम्बार ताकेता गर्दा पनि एयर एसियाले ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको छ। 

‘जति धाउँदा पनि एयर एसियाले बक्यौता तिर्न आनाकानी गर्दै आयो, त्यही भएर फागुन २२ सम्मको म्याद दिएका छौं,’ त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने, ‘अन्तिम म्यादभित्र पनि बक्यौता चुक्ता नगरे उसको उडान तत्काल रोक्ने छौं ।’ 

उनका अनुसार दुई महिनाअघि पुस २४ भित्र बक्यौता नतिरे उडान रोक्नेसम्म कारबाही गर्ने भनेपछि एयर एसियाले किस्ताबन्दीमा रकम तिर्दै जाने लिखित प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार उसले पुस २३ मा २ करोड र भोलिपल्ट २४ गते थप १० करोड रुपैयाँ चुक्ता गर्ने र बाँकी ११ करोड रुपैयाँ किस्ताबन्दीमा तिर्दै जाने भनेको थियो । एयर एसियाले हाल काठमाडौंका लागि सातामा पाँच उडान गर्दै आएको छ । बक्यौता रकम एयर एसियाको मुख्यालयबाट आएको थियो ।
तर, एयर एसियाले पुस २४ मा प्रतिबद्धता विपरीत १ करोड ३० लाख रुपैयाँमात्र चुक्ता गरेर विमानस्थल व्यवस्थापनलाई झुक्याएको थियो । त्यसपछि विमानस्थलले एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्स एन्ड ट्राभल्सका सञ्चालक हरिमान लामालाई बोलाएर थप प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको थियो । लामाले १५ दिनभित्र सबै बक्यौता चुक्ता गर्ने बताएका थिए । त्यसबेला एयर एसियाले फागुन १६ गतेभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएको थियो । उसले आफैं तोकेको म्याद गुज्रिएको तीन दिन भइसकेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक तथा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन १९ भित्र एयर एसियाको उडान रोक्न निर्देशन दिए पनि विमानस्थल व्यवस्थापनले थप तीन दिन (फागुन २२) अन्तिम म्याद दिएको छ । ‘बक्यौता चुक्ता नगरेसम्म कानुनी कारबाही गर्दै जाने हो,’ विमानस्थलका ती अधिकारीले भने, ‘फागुन २२ भित्र नतिरे उडान रोक्छौं।’

उनका अनुसार गत बिहीबार एयर एसियाको मुख्यालयलाई बक्यौता चुक्ता गर्न अन्तिम म्याद दिइएको पत्र पठाइएको थियो । लगत्तै भोलिपल्ट शुक्रबार उसले के–कति परिमाणबराबरको रकम चुक्ता गर्न बाँकी हो, त्यसबारे जानकारी दिन पत्राचार गरेको थियो । ‘विस्तृत विवरणसहित शनिबार पनि एयर एसियालाई पत्र पठाएका छौं,’ उनले भने। 

ठूलो परिमाणको बक्यौता चुक्ता गर्नुपर्ने ताकेता सुरु भएपछि एयर एसियाको नेपालस्थित जिएसए इन्सेन्टिभ्स टुर्सका सञ्चालक लामा विमानस्थलको सम्पर्क बाहिर थिए । त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाइएको थियो । उसको जिएसए इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । त्यसको जवाफ पनि दुई सातासम्म आएको थिएन। 

नेपाल उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष २०७३÷७४ असार मसान्तसम्म १ अर्ब ९२ करोड २ लाख ३३ हजार रुपैयाँ नतिरेको समाचार नागरिक दैनिकले मंसिर ७ गते प्रकाशित गरेको थियो । बक्यौताबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको संयोजकत्वमा छनबिन समिति समेत गठन भएको थियो । समितिले पुस पहिलो साता प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई प्रतिवेदन बुझाइएको थियो। 

बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए । अझै ठूलो परिमाणबराबरको रकम उठाउन बाँकी छ ।

प्रकाशित: २० फाल्गुन २०७४ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App