७ वैशाख २०८१ शुक्रबार
अर्थ

बिकेन बुटवल पावरको एफपिओ

काठमाडौं – समय थप्दा र संगठित संस्थालाई गुहार्दा पनि बुटवल पावर कम्पनी (बिपिसी)कोे नबिकेको सेयर अब सेयर प्रत्याभूति गर्ने संस्थाले किन्नुपर्ने भएको छ।

बिपिसीले कुल दुई अर्ब चार करोड ४५ लाख ८१ हजारमध्ये करिब ५८ करोड रुपैयाँको थप सार्वजनिक निष्कासन (एफपिओ) सेयर बिक्री नभएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ।बिक्री नभएको सेयर धितोपत्र प्रत्याभूति गर्ने संस्थाले खरिद गर्ने सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बुधबार नागरिकलाई बताए । ‘सर्वसाधारणले खरिद नगरेको सेयर प्रत्याभूति गर्ने संस्था वा बुटवल पावर कम्पनीका संस्थापकले खरिद गर्नेछन्,’ उनले भने, ‘बिक्री गर्न समस्या छैन ।’

एफपिओ निष्कासनसम्बन्धी विवरणमा सर्वसाधारणले खरिद नगरेको सेयर धितोपत्र प्रत्याभूतिकर्ताले खरिद गर्ने सम्झौता भएको उल्लेख छ । ‘सर्वसाधारणबाट निष्कासन कम्पनीको खरिद प्रत्याभूति गरिएका सेयरहरु आंशिक वा पूर्ण खरिद नभएको अवस्थामा खरिद प्रत्याभूतिकर्ताहरुले उल्लेखित अनुपातमा गरिएको प्रत्याभूति प्रतिबद्धता बमोजिम सेयर खरिद गर्ने’ विवरण पत्रमा उल्लेख गरिएको छ।
धितोपत्र प्रत्याभूति गर्ने संगठित संस्थाहरु एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल सम्मुन्नत योजना, नबिल इन्भेन्टमेन्ट बैंकिङ, नबिल ब्यालेन्स फन्ड, नबिल इक्विटी फन्ड हुन् । ती आठ संस्थाले बिक्री नभएको सेयर किन्नेछन्।

बिपिसीले पहिलो चरणमा माघ १५ देखि १९ गतेसम्म एफपिओ बिक्री खुला गरेको थियो । तर, त्यो अवधिमा एपपिओ खरिद गर्न ज्यादै न्यून आवेदन परेपछि उसले फागुन १५ गतेसम्मका लागि म्याद बढाएको थियो । त्यसबीचमा संंगठित संस्थालाई पनि एफपिओ खुला गरिएको थियो ।एक महिना समाप्त भए पनि उक्त कम्पनीको एफपिओको बिक्री भएन । यस अवधिमा ७१.६ प्रतिशत मात्र एफपिओ बिक्री भएको एनएमबी क्यापिटलको भनाइ छ।

सर्वसाधारणले एफपिओ खरिद नगरेपछि बिपिसीले संगठित संस्थालाई समेत एफपिओ खरिद गर्न आह्वान गर्याे। तर, पनि बिकेन।एफपिओको मूल्यकै हाराहारीमा दोस्रो बजारमा उक्त कम्पनीको सेयर खरिद गर्न पाइने भएपछि लगानीकर्ताले एफपिओ सेयर खरिद गर्न रुचि नदेखाएको एक ब्रोकरले बताए । ‘बुटवल पावरको प्रतिकित्ता सेयर पाँच सय ३५ रुपैयाँमा खरिद–बिक्री भएको छ,’ उनले भने, ‘एफपिओ खरिदका लागि पनि प्रतिकित्ता पाँच सय एक रुपैयाँ लगानी गर्नुपर्छ।’

एफपिओको तुलनामा बुटवल पावरको दास्रो बजारमा किनबेच हुने सेयर मूल्य अन्तर बढी नभएकाले पनि लगानीकर्ता एफपिओ खरिद गर्न उत्साहित नभएको ती ब्रोकरले बताए । एफपिओमा लगानी गर्नेको पैसा कम्तीमा एक महिना होल्ड हुन्छ ।नेपाल धितोपत्र बोर्डले बिपिसीलाई  साधारण सेयर निष्कासन (आइपिओ) नगरी एफपिओ ल्याउन अनुमति दिएपछि सर्वसाधारणलाई मर्का परेको त छँदैछ । त्यसमाथि महँगो मूल्यमा एफपिओ बिक्री गरेर सर्वसाधारणलाई डुबाउने खेलमा बिपिसी लागेको थियो । तर, उसको त्यो अभिायानलाई लगानीकर्ताले तुहाइदिएका छन्।

एफपिओसँगै दोस्रो बजारमा बिपिसीको सेयर मूल्य एकाएक बढाएर प्रतिकित्ता साढे सात सय रुपैयाँसम्म पुर्याइएको थियो । तर, अहिले एफपिओकै नजिक आएको छ ।बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको थियो ।बिपिसीले एक सय रुपैयाँ अंकित मूल्यमा चार सय एक रुपैयाँ प्रिमियम जोडेर पाँच सय एक रुपैयाँमा एफपिओ ल्याएको हो । उसले ४० लाख ८१ हजार कित्ता एफपिओ सार्वजनिक गरेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भए पनि उक्त कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दालाई प्राथमिक सेयर निष्कासन गरेको छैन । बिपिसीले सरकारी स्वामित्वमा रहेको १२ प्रतिशत सेयरमध्ये प्रिमियम (एक सय ५१ रुपैयाँभन्दा बढी) मा बेचेकोलाई नै सर्वसाधारणलाई सेयर जारी (आइपिओ) गरेको भन्दै आएको छ । तर, त्यसलाई आइपिओ जारी गरेको भन्न नमिल्ने तर्क विज्ञहरुले गरेका छन्।

सुरुमा सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको कम्पनीको सेयर बिपिसीलाई बिक्री गरिएको थियो । अहिले पनि यो कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआइडिसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत् प्राधिकरणको १३ प्रतिशत सेयर छ । यसैगरी, बिपिसीकै स्वामित्व (सांग्रिला इनर्जी लिमिटेड, टिएनके नेपाल र स्वतन्त्र) को ७५ प्रतिशत सेयर र सरकारले सर्वसाधारणलाई प्रिमियममा र कर्मचारीलाई बिक्री गरेको १२ प्रतिशत सेयर छ।

सरकारबाट सेयर मात्र किनेकाले पनि आफूले आइपिओ जारी गर्नु नपर्ने र सरकारले नै आइपिओ जारी गरेको जिकिर बिपिसीले गरेको छ ।कम्पनीको स्थापना २०२२ पुस १४ गते प्राइभेट लिमिटेडका रुपमा भएको थियो । यसलाई २०४९ सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो । २०५९ सालमा निजीकरण गरी निजी, सरकारी, कर्मचारी तथा सर्वसाधारणलाई सहभागी गराई कम्पनी अगाडि बढाइएको थियो।  

कानुनी रुपमा बिपिसीले सर्वसाधारणलाई १५ प्रतिशत र आयोजना प्रभावित स्थानीयलाई कम्तीमा १० प्रतिशत सेयर दिएपछि मात्र एफपिओ निष्कासन गर्न पाउँछ, अन्यथा पाउँदैन । आयोजना प्रभावित स्थानीयले आइपिओ जारी गर्न बारम्बार माग गरे पनि बिपिसी स्थानीयलाई सेयर दिन तयार छैन ।
बिपिसीले १२ मेगावाटको झिमरुक विद्युत् केन्द्र तथा ९.४ मेगावाटको आँधीखोला विद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । आफ्नै वितरण प्रणालीमार्फत स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लामा ५० हजारभन्दा बढी ग्रामीण घरधुरीलाई विद्युत् वितरण गर्दै आएको छ।

आयोजना प्रभावित बासिन्दाले भने सेयर पाउनुपर्ने माग गर्दै आएका छन् । जलविद्युत आयोजना प्रभावितलाई कम्तीमा १० प्रतिशत सेयर अनिवार्य रुपमा वितरण गर्नुपर्ने र सर्वसाधारणलाई १५ प्रतिशत सेयर वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, बिपिसीले उक्त सेयर वितरण नगरी एफपिओ जारी गरेको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् ।

 

 

 

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App