८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ५, ७ र कर्णालीका २२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

नेपालगन्ज- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका २२ वटा नगरपालिका र गाउँपालिकाको केन्द्र, नाम तथा नाम र केन्द्र दुवै हेरफेर गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसका आधारमा मन्त्रालयले केन्द्र, नाम तथा नाम र केन्द्र दुवै दुबै परिवर्तन गरी नेपाल राजपत्रमा समेत प्रकाशित गरेको हो।

   प्रकाशित राजपत्र अनुसार प्रदेश ५ मा १२, प्रदेश ७ मा ६ र कर्णाली प्रदेशमा ४ वटा स्थानीय तहको केन्द्र, नाम तथा नाम र केन्द्र दुबै परिवर्तन गरिएको छ । प्रदेश ५ मा ९ वटा स्थानीय तहको केन्द्र मात्र हेरफेर गरिएको छ, भने ३ वटाको केन्द्र र नाम दुबै हेरफेर गरिएको पाइएको छ । प्रदेश ७ मा ४ वटाको केन्द्र, १/१ वटा स्थानीय तहको नाम तथा केन्द्र र नाम दुबै हेरफेर गरिएको छ। कर्णाली प्रदेशमा ३ वटाको केन्द्र तथा एक स्थानीय तहको केन्द्र र नाम दुबै हेरफेर गरिएको छ।

    प्रदेश ५ को गुल्मीस्थित छत्रकोट गाउँपालिकाको केन्द्र यसअघि पल्लीकोटमा रहेकोमा छत्रकोट–३ हर्दिनेटाको चाएगामा कायम गरिएको छ । गुल्मीकै धुर्कोट गाउँपालिकाको केन्द्र वडा नम्बर ४ जैसीथोकबाट हाल वडा नम्बर ४ को बर्बोटमा सारिएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व) बुङदीकाली गाउँपालिकाको नाम बौदीकाल परिवर्तन गरिएको छ, भने केन्द्र डेढगाउँबाट बबकमा सारिएको छ। रुपन्देही स्थित कञ्चन गाउँपालिकाको केन्द्र कञ्चन २ गजेडीबाट वडा नम्बर २ ब्यहोरीमा हेरफेर गरिएको छ। कपिलबस्तुको बुद्धभुमी नगरपालिकाको केन्द्र बुड्ढीबाट वडा नम्बर ४ बुड्ढी प्रतिक्षालय हनुमान चोकमा सरेको छ। अर्घाखाँची पाणिनी गाउँपालिकाको केन्द्र खिदिमबाट दुर्गाफाटमा सारिएको छ।

  रोल्पाको सुर्वणावती गाउँपालिकाको नाम सुनिल स्मृती गाउँपालिका नामाकरण गरिएको छ, भने केन्द्र मिझिङबाट वडा नम्बर ४ सुलिचौरमा स्थानान्तर गरिएको छ। रोल्पाकै सुकिदह गाउँपालिकाको नाम गंगादेव गाउँपालिका र केन्द्र जिनावाङबाट वडा नम्बर ५ सानाडाँडामा कायम गरिएको छ । रुकुम (पूर्वी भाग) को भुमे गाउँपालिकाको केन्द्र साविक मोराबाङ गाविस कार्यालयबाट वडा नम्बर २ खाबाङ बगरमा सरेको छ । दाङ बबई गाउँपालिकाको केन्द्र हंसपुरबाट वडा नम्बर ५ हापुरेमा सरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको केन्द्र साविक कचनापुर गाविस कार्यालयबाट वडा नम्बर २ अगैयामा सारिएको छ । बाँकेकै बैजनाथ गाउँपालिकाको केन्द्र बनकटवाबाट वडा नम्बर ५ रामपुरमा कायम गरिएको छ ।

 यस्तै प्रदेश ७ स्थित बाजुराको गौमुल गाउँपालिकाको केन्द्र मानाकोटबाट वडा नम्बर ६ घटमुनालाई तोकिएको छ। बाजुराकै स्वामीकार्तिक गाउँपालिकालाई स्वामीकार्तिक खापर गाउँपालिका नामाकरण गरिएको छ, भने केन्द्र वाईबाट सुइजिउला, वाईमा कायम गरिएको छ । सोही जिल्लाको छेडेदह गाउँपालिकालाई खप्तड छेडेदह गाउँपालिका नामाकरण गरिएको छ ।

 डोटीको सायल गाउँपालिकाको केन्द्र डौडबाट वडा नम्बर ५ दुदिलागडा, ओमनगरमा कायम गरिएको छ। डडेलधुराको नवदुर्गा गाउँपालिकाको केन्द्र मणिलेक २ बाट सपल्ला बान्चोरामा र बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविक शिवलिंग गाविस कार्यालयबाट गर्जेमा सारिएको छ ।

  यसैगरी कर्णाली प्रदेशस्थित दैलेख महावु गाउँपालिकाको केन्द्र रानीवनबाट वडा नम्बर ४ गौडावाजमा सरेको छ। जाजरकोटको बारेकोट गाउँपालिकाको केन्द्र नायकवाडाबाट वडा नम्बर २ लिम्सामा सारिएको छ । डोल्पाको ठूलोभेरी नगरपालिकाको केन्द्र वडा नम्बर ३ दुनैबाट जुफालमा कायम गरिएको छ । कालिकोटको कालिका गाउँपालिकाको नाम शुभकालिका नामाकरण गरिएको छ, भने केन्द्र सुकाटियाबाट कालेखोलादेखी सुकाटिया डाँडासम्म कायम गरिएको छ। नगरपालिका र गाउँपालिकाको सभाले यसअघि सिफारिस गरेपनि मन्त्रालयले हालै राजपत्रमा प्रकाशित गरेको हो।

प्रकाशित: १६ फाल्गुन २०७४ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App