७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारको कामले द्वन्द्व निम्त्याउने खतरा : खाँड

नेपालगन्ज – नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडले सरकारका प्रारम्भिक कामले द्वन्द्व निम्त्याउने खतरा बढेको बताएका छन्। सरकारले नै मुलुकलाई द्वन्द्वको दिशातर्फ लैजान खोजेकाले कांग्रेस चुप लागेर नबस्ने उनको भनाई छ। सरकारको प्रारम्भिक निर्णय हेर्दा मुलुकको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालको नभएको खाँडले ठोकुवा गरे। नेपाल शिक्षक संघ प्रदेश ५ को प्रथम अधिवेशनको नेपालगन्जमा आइतबार उद्घाटन गर्दै नेता खाँडले ‘गैर संवैधानिक’ चाहना पुरा हुन नसक्ने बताए।

संविधानमा भएको व्यवस्था अनुसार कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेपनि लामो समयसम्म रोकेर वर्तमान सरकारले गरेको सिफारिसलाई दुई घण्टामै नियुक्त गरी राष्ट्रपतिले गैर सम्वैधानिक काम गरेको दाबी गरे। ‘सरकार र राष्ट्रपतिले गैर सम्बैधानिक कदम चालेकाले सरकारको प्रारम्भिक काम हेर्दा मुलुकलाई उहाँहरु द्धन्द्धतर्फ लैजादै हुनुहुन्छ,’ उनले भने ‘लोकतान्त्रिक मुल्य, मान्यतालाई कुल्चिदै जानु भयो भने उहाँहरु आफै पतन भएर जानुहुनेछ।’ 

साँस्कृतिक, भौगोलिक, धार्मिक लगायत विविध रहेको मुलुकलाई प्रजातान्त्रिक व्यवस्थाले मात्र सम्बोधन गर्न सक्ने पूर्वमन्त्री खाँडले जिकिर गरे। ‘यो मुलुकलाई कुनै निरंकुशताले सम्बोधन गर्न सक्दैन, लोकतान्त्रिक व्यवस्थालाई कुल्चिदै जानुभयो भने उहाँहरु आफै पतन भएर जानुहुन्छ,’ उनले भने। 

मुलुकमा रहेको राणा शासन, राजतन्त्र समाप्त भएर गएको बताउँदै खाँडले नेपाली कांग्रेसले सह–अस्तित्वलाई सहर्ष स्वीकार गर्ने भएकाले जतिसुकै प्रतिकुलतामा पनि कांग्रेसलाई जनताले साथ दिदै आएको दाबी गरे। नेपाली कांग्रेसले अबको ५ वर्षभित्र ‘वाच डग’ को भुमिका निर्वाह गर्न आवश्यक रहेकोमा नेता खाँडले जोड दिए। अर्को प्रसंङ्गमा अझैपनि नेपाली कांग्रेसको सांगठनिक ढाँचा प्रदेशमा पु-याउन नसकिएको बताए।

प्रकाशित: १३ फाल्गुन २०७४ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App