खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल हलेसी आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको टहरा डोजर लगाएर भत्काउन थालेको छ । हलेसी आसपासका सार्वजनिक एवं सडकको जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हटाउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेको पाइएपछि नगरपालिकाले शुक्रबार डोजर लगाएर ती संरचना भत्काउन थालेको हो । टहरा हटाउन चौथोपल्ट दिएको सूचनाको म्याद बित्दासमेत बेवास्ता गरिएपछि बल प्रयोग गर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।
नापी कार्यालयबाट झिकाइएको प्राविधिक टोलीले सार्वजनिक जग्गा मिचे/नमिचेको टुंगो लगाएको केही दिनमै नगरपालिकाले डोजर लगाएर हलेसी आसपासका दर्जनौं टहरा भत्काएको हो । सुरक्षाकर्मीसहित हलेसी पुगेका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीको उपस्थितिमा २१ जना स्थानीयको २३ वटा टहरा भत्काइएको मेयर राईले बताए । मेयर राईले भने, ‘भोट घटे घटोस्, नापीले गरेको नापजाँचका क्रममा सार्वजनिक ठहर भएका एक इन्च पनि जग्गा छाड्दैनौं ।’ सार्वजनिक जग्गामा बनाइएका टहरा हटाउन नगरपालिकाले मंसिरयता पहिलो र दोस्रोपल्ट ३५÷३५ दिने तथा तेस्रो र चौथोपल्ट १५÷१५ दिनको सूचना जारी गरेको थियो ।
अन्तिमपल्ट दिइएको म्याद फागुन २ गते सकिएको थियो । सार्वजनिक सूचना प्रकाशन, सूचना टाँस एवं माइकिङ गरेर आग्रह गर्दा समेत टहरा हटाउन अटेर गरिएको नगरपालिकाले जनाएको छ । सार्वजनिक जग्गा तथा सडक मिचेर बनाइएका अन्य टहरा पनि क्रमशः हटाइने मेयर राईले बताए । ‘बाँकी टहराले सार्वजनिक जग्गा मिचे÷नमिचेको यकिन गरेर भत्काउने छौँ,’ उनले भने।
प्रकाशित: १२ फाल्गुन २०७४ ०२:२४ शनिबार