८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीलाई ट्रम्पको बधाई

काठमाडौं– अमेरिकी राष्ट्रपटि डोनाल्ड जे. ट्रम्पले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४१औं प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलाीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रशंसासमेत गरेका छन्। 

‘प्रधानमन्त्री नियुक्त हुनुभएकोमा तपाईंलाई बधाई छ,’ राष्ट्रपति ट्रम्पको बधाई तथा शुभकामना सन्देशमा भनिएको छ, ‘ऐतिहासिक रुपमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेर नेपालले आफू समावेशी लोकतान्त्रिक शासनतर्फ अघि बढेको बलियो प्रमाण पेस गरेको छ।’ 

संविधान जारी भएपछि ओलीको नेतृत्वमा गठन भएको पहिलो निर्वाचित सरकारसँग सहकार्य गर्न अमेरिका तयार रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । उनले भनेका छन्, ‘स्थिरता, सुशासन, भ्रष्टाचारविरुद्ध लड्ने अठोट र दिगो आर्थिक विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने तथा रोजगार सिर्जना गर्ने लक्ष्य जुन तपाईंले लिनुभएको छ, त्यसमा हामी सघाउनेछौं ।’ उनले अमेरिकी जनताका तर्फबाट ओलीको सफल कार्यकालको कामनासमेत गरेका छन्। 

यस्तै जापानका प्रधानमन्त्री सिन्जो अबेले पनि प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । विभिन्न चरणको निर्वाचन सम्पन्न गरी नेपाल लोकतान्त्रिक मार्गतर्फ अघि बढेको जनाउँदै प्रधानमन्त्री अबेले नयाँ सरकारसँग सहकार्य गर्न जापान तयार रहेको उल्लेख गरेका छन् । उनले भूकम्पपछिको पुनर्निर्माणमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् । ओलीको कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ प्रगाढ हुने विश्वास अबेले व्यक्त गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएकै दिन ओलीलाई टेलिफोन गरी बधाई तथा शुभकामना दिएका थिए । पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीले पनि ओलीलाई बधाई तथा शुभकामना सन्देश पठाई सफल कार्यकालको कामना गरिसकेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७४ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App