coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सम्बन्धविच्छेद : निवेदन दिनेमा महिला बढी

ललितपुर – चालू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविच्छेदका एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिला छन् भने पुरुषको संख्या एक÷दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जिता थापा भन्छिन्, ‘सम्बन्धविच्छेदका मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनुको विभिन्न कारण छन्।’

उनका अनुसार श्रीमान्ले सम्बन्धविच्छेद चाहेमा वडा वा गाविसको स्थलगत सर्जिमिन मुचुल्का  र आधिकारिक प्रमाणसहित आउनुपर्छ तर  श्रीमतीले भने मौखिक रूपमै उजुरी दिन पाउने व्यवस्था छ । महिलाहरूले सहज रूपमा सम्बन्धविच्छेदको आवेदन दिन सक्ने तर पुरुषहरूले भने आधिकारिक प्रमाणसहित वडा कार्यालयबाट कानुनी प्रक्रिया पूरा गरेर मात्र उजुरी दिन पाउने व्यवस्था रहेको थापाको भनाइ छ ।

पछिल्लो समय सम्बन्धविच्छेदको निवेदन दिनेहरूमा आत्मनिर्भर तथा श्रीमान् विदेश गएका महिला रहेको ललितपुर जिल्ला अदालतको सहायता कक्षमा कार्यरत सविना घिमिरे बताउँछिन् । श्रीमान् वैदेशिक रोजगारमा गएको अवस्थामा श्रीमती परपुरुषसँग लागेपछि पहिलेको श्रीमानसँग सम्बन्धविच्छेद गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको उनी बताउँछिन् । श्रीमान विदेश गएपछि भेटघाट र शारिरीक सम्बन्धको दूरी बढ्ने भएकाले सम्बन्ध विच्छेदका घटना बढिरहेको घिमिरे बताउँछिन् । यस्तै श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो नहुँदा, श्रीमानबाट पिडित र आत्मनिर्भर महिला पनि सम्बन्धविच्छेदका लागि आउने उनले बताए।

सक्षम र आत्मनिर्भर भइसकेपछि पुरुषको मातहतमा बस्न नचाहेर सम्बन्ध विच्छेद गर्ने महिलाहरुको संख्या पनि बढिरहेको अधिवक्ता  थापा बताउँछिन् । कतिपय महिलाहरू बच्चा भइसकेपछि पनि विवाह दर्ता, नाताप्रमाण तथा  नागरिकताको प्रमाणपत्र नबनेकै अवस्थामा सम्बन्धविच्छेदको प्रमाणपत्र माग गर्दै अदालत आउने गरेको घिमेरे बताउँछिन् । ५० वर्ष कटेका महिलासमेत सम्बन्ध विच्छेदका लागि आउने उनले बताइन्।

अधिवक्ता थापाका अनुसार पछिल्लो समय पुरुषपीडित र महिला पीडक भएका घटना पनि अदालतमा आउने गरेका छन् । यस्तो अवस्थामा पुरुषहरू सम्बन्धविच्छेदका लागि आउने गरेको उनी बताउँछिन् । श्रीमान् वैदेशिक रोजगारमा गएको अवस्थामा श्रीमान्ले पठाएको धनमाल हात पारेपछि सम्बन्धविच्छेद गर्ने महिलाको संख्या पनि बढिरहेको थापा बताउँछिन् । यस्तो घटनामा श्रीमान् विदेशबाट घर फर्कने समयमा महिलाले नै अदालतमा पुगेर सम्बन्धविच्छेदको उजुरी दिने गरेको थापाको भनाइ छ।

गत साउनमा जिल्ला अदालतबाट १९ जनाले सम्बन्धविच्छेद गरेका थिए । त्यस्तै, भदौमा २३, असोजमा २०, कात्तिकमा २९, मंसिरमा १६, पुसमा ३७ र माघको २६ गते सम्म ३३ वटा सम्बन्धविच्छेदको निवेदन परेको अदालतका नायब सुब्बा दिपक काफ्लेले जानकारी दिए ।

 

प्रकाशित: १० फाल्गुन २०७४ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App