७ वैशाख २०८१ शुक्रबार
समाज

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

नोबेल अस्पतालमा शल्यक्रिया गरिँदै । तस्बिर ः नागरिक

विराटनगर– विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्रचोकका ४२ वर्षीय हीरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो।

आचार्यको एन्युरिजम (मस्तिष्कभित्रको नसामा बनेको रगतको पोका फुटेको) र ब्रेन ट्युमरको एकैसाथ सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालले जनाएको छ । यस्तो शल्यक्रिया विश्वमै दुर्लभ र जटिल मानिने चिकित्सकहरूको भनाइ छ । अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गरेको नोबेलले इन्ट्राअपरेटिभ एमआरआई र आइसेभेन नेभिगेसनजस्ता उपकरणको सहायतामा दुवै रोगको सफल शल्यक्रिया गरेको हो।

ब्रेन ट्युमरभित्र एन्युरिजमको समस्या विश्वमै दुर्लभ र जटिल मानिने नोबेल अस्पतालका न्युरो सर्जन डा. प्रकाश काफ्ले बताउँछन् । ‘यस्तो समस्या विश्वकै रेकर्डमा हालसम्म १ सय ७६ वटामात्र पाइएको छ,’ उनी भन्छन्, ‘अत्याधुनिक उपकरणका कारण दुर्लभ र जटिल शल्यक्रिया पनि सफल भयो ।’ यसलाई जापानबाट प्रकाशित हुने कुरुमी मेडिकल जर्नलले पनि पुष्टि गर्ने नोबेल न्युरो साइन्सेजका निर्देशक डा. आइप चेरियनले बताए।

प्रोफेसर जुहा एन्टेरो हर्नेशनेमी, डा.आइपी चेरियन, प्रकाश काफ्ले, सुनिल मुनाकोमी, भ्लादिमिरोभिज सर्गे, फिट्री सुमार्दी, दीपक पौडेल, विजय केसीलगायतका चिकित्सक टोलीले शल्यक्रिया सम्पन्न गरेका हुन् । ‘एन्युरिजमको समस्याले मात्र पनि बिरामीको ज्यान जाने सम्भावना हुन्छ, अझ ब्रेन ट्युमरभित्र भएको एन्युरिजम खतरनाक भए पनि शल्यक्रिया सफल भयो,’ डा. चेरियनले बताए।

शल्यक्रिया सफल भएपछि बिरामीका आफन्तले खुसी व्यक्त गरेका छन् । ‘अप्रेसन सफल हुने हो कि होइन भन्ने डर थियो,’ बिरामीकी श्रीमती अंकिता आचार्यले भनिन्, ‘सफल भयो, ज्यान बच्यो यसमै खुसी छौं ।’ केही दिनअघि अत्यधिक टाउको दुखाइले आचार्य मुर्छा परी ढलेपछि उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नोबेल अस्पतालमा लगिएको बिरामीका दाजु सुरेश आचार्यले बताए।

दक्षिण एसियामै पहिलोपटक अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गरेको अस्पताल सञ्चालक डा. सुनिल शर्माको भनाइ छ। 

प्रकाशित: १० फाल्गुन २०७४ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App