८ वैशाख २०८१ शनिबार
अर्थ

सामूहिक कृषि व्यवसायमा युवा

बिक्रीका लागि पोखरीबाट माछा निकाल्दै । तस्बिर : नागरिक

खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवाहरु पूर्णकालीन रुपमा समूह बनाएर कृषि पेसामा लागेका छन् । घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर बुवासुङका १० युवाले सामुहिक खेती सुरु गरेका हुन्।

कृषिको व्यवसायीकरण गर्दै कृषिलाई पनि आकर्षक पेसाकारुपमा स्थापित गर्ने लक्ष्यका साथ उनीहरुले ठूलो क्षेत्रफलमा आलु, अदुवा, अलैंची, अम्रिसो, माछा, तरकारी लगायत खेती लगाएका हुन् । सुम्नीमा मेरुङ कृषि समूहको नाममा २०७० बाट सुरु गरिएको सामूहिक खेतीले हाल प्रतिफल दिन थालेको समूहका सदस्य गजेन्द्र राईले बताए।

जमिन खनजोतदेखि बीउ छर्ने, गोडमेल गर्ने, मलजल गर्ने, भित्र्याउने काममा उनीहरु सबै खट्ने गरेका छन् । सबै युवा कृषि फर्ममा आलु, अदुवा, तरकारी, ग्रासकार्प जातको माछा लगायत हेरचाहकै काममा दिन बिताउँछन् । होलटाइमर बनेर सामूहिक खेती लगाएको दोस्रो वर्षदेखि नै आलु, अदुवा र माछाबाट आम्दानी आउन थालेको राईले बताए । हालसम्म २५ लाख रुपैयाँ लगानी भइसकेको उनीहरुले बताएका छन् ।
आलुबाट वार्षिक ५० देखि ६० हजार र अदुवाबाट २५ हजार आम्दानी भइरहेको राईले बताए । राइका अनुसार माछा, तरकारी लगायतबाट आउने आम्दानी पनि सन्तोषजनक छ । यस वर्षदेखि कृषि समुहलाई अलैंचीबाट पनि आम्दानी आउन थालेको छ । अलैंचीको बेर्ना बिक्री गर्नका लागि गत वर्षदेखि उनीहरुले नर्सरी लगाएका छन् । मलका लागि उनीहरुले कृषि फर्मभित्र गाईभैंसी पालेका छन् ।

 

प्रकाशित: १० फाल्गुन २०७४ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App