७ वैशाख २०८१ शुक्रबार
अर्थ

हाते कागज उद्योग पुनः सञ्चालन गर्ने तयारी

रसुवाको लहरेपौवास्थित शिवाज एग्रिकल्चर (हाते कागज) उद्योगमा उत्पादन गरिएका नेपाली कागज । तस्बिर : नागरिक

रसुवा – जिल्लाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको झिकुरी नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा आउने भएको छ । माओवादीको १० वर्षे शसस्त्र द्वन्द्वको कारण बन्द भएको उद्योग १४ वर्षपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

वार्षिक करिब चार लाख २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उद्योग द्वन्द्वको त्रासमा बन्द भएको थियो । २०५० देखि सञ्चालनमा आएको उद्योग २०६० मा बन्द हुन पुगेको थियो । सो उद्योग २०४७ मा दर्ता भएको देखिन्छ।

संकटकालको समयमा उद्योग सञ्चालन गर्न कठिनाइ भएपछि उद्योग बन्द गर्नु परेको सञ्चालक तिर्थ गुरुङले बताए । ‘विद्यालय नजिकै उद्योग सञ्चालन गरेको थिए, २०५९ साउनतिर माओवादीले विद्यालयमा आगो लगाए,’ उनले भने, ‘द्वन्द्वले उग्र रुप लिन थालेपछि ज्यान जोगाउन उद्योग बन्द गरिदिएँ ।’ गुरुङ त्यतिबेला डाँडागाउँ माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए भने साबिकको डाँडागाउँ गाविसको सदस्य।

उद्योग बन्द भएपछि उनले लामो समयसम्म नविकरणका लागि समय दिन सकेनन् । सामुदायिक वन तथा निजी वनमा प्रसस्त कच्चा पदार्थ (लोक्ता) पाइने भएपनि अहिले ती सबै प्रयोगबिहीन भएको उनको भनाइ छ । ‘उद्योग सञ्चालन गर्नका लागि कच्चा पदार्थको अभाव छैन,’ उनले भने, ‘पहिलेको भन्दा अहिले बजार भाउ पनि राम्रो छ।’

२०५० मा कागज उत्पादन गर्दा डेढ रुपैयाँदेखि दुई रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछन् । ‘२०५७ तिर तीन रुपयाँदेखि चार रुपैयाँसम्ममा बिक्री हुन थाल्यो । अहिले त बजारमा राम्रो भाउ पाउने रैछ,’ उनले भने । उनको उद्योगबाट दैनिक १० कोरी कागज उत्पादन हुने गरेको थियो । गर्मी महिनामा एउटा कागज उत्पादन गर्न करिब आधा घन्टा लाग्छ । सुरुमा उद्योग स्थापना गर्न करिब डेड लाख रुपैयाँ लगानी लागेको गुरुङले बताए ।जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिमा तीनवटा नेपाली हाते कागज उद्योग दर्ता भएको देखिन्छ।

तीनवटा दर्ता भएपनि अहिले जिल्लामा एउटामात्रै उद्योग सञ्चालनमा छ । आर्थिक अभाव, राजनीतिक अवस्था र कच्चा पदार्थको अभाव लगायत कारण ती उद्योग सञ्चालनमा आउन नसकेका हुन् ।
उत्पादन भएका कागजले राम्रो बजार पाउने गरेको छ । उद्योग स्थापना तथा सञ्चालनका लागि समितिले आधुनिक प्रविधि सहयोग गर्ने वरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालले बताए । उद्योगी व्यवसायीलाई प्राविधिक समस्या आएमा कार्यालयबाट प्राविधिक सल्लाह दिने, प्राविधिक खटाउने लगायतका कार्य गरिने उनको भनाइ थियो । जिल्लामा उत्पादन हुने कागज काठमाडौंमा खपत हुने गरेको छ ।

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App