coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

मकवानपुर – साविक विजेता नेपाल आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको पहिलो संस्करणको विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो। 

पहिलो हाफमा दुबै टिमले रक्षात्मकसँगै आक्रामक रुपमा खेलेपनि कुनै गोल गर्न सकेनन्। दोश्रो हाफमा पनि दुबै टिमका खेलाडीहरुले आक्रामकसँगै रक्षात्मक रुपमा निक्कै सावधानीपूर्बक खेलेका थिए। खेल अबधिभर दुबै टिमका खेलाडीहरुले झण्डै एक दर्जन बल पोष्टमा प्रहार गर्ने अवसर पाएपनि गोलमा परिणत गर्न सकेनन्। 

आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले खेलको अन्तिम घडीमा गरेको १ गोल नै मनाङ मस्र्याङ्दीका लागि हारको कारण बन्यो। दोस्रोहाफमा मैदान छिरेका कार्कीले खेलको ९० औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो। मनाङका डिफेन्डरहरुले क्लियर गर्न नसकेको बललाई कार्कीले प्रहार गर्दै जाली चुमाएका थिए। 

प्रतियोगिताको गतवर्षको फाईनल खेलमा आर्मीले मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौँडा–१० स्थित वन विज्ञान संस्थानको खेलमैदानमा आयोजना गरेको खेलमा आर्मीका बिमल पाण्डे खेलको म्यान अफ दी म्याच घोषित हुँदै पाँच हजार रुपैयाँ पाए।

आर्मीले फाईनलमा नेपाल पुलिस क्लब र संकटा क्लबमध्ये एकको सामना गर्नुपर्ने छ। दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लबले संकटा क्लब बिरुद्ध खेल्दै फाईनल प्रतिष्पर्धीको टुङ्गो लाग्ने छ।

खेलपछि आर्मीका कोच नवीन न्यौपानेले रणनीति र खेलाडीको मिहेनतको कारण बिजयी भएको बताए। ‘बिशिष्ठ खेलमा अत्यन्त प्रतिष्पर्धा हुने भएकाले बिशेष रणनीति बनाएर खेलेका थियौ’, उनले भने, ‘पहिलो हाफमा सफल नभएपछि दोश्रो हाफमा आक्रामकतालाई जोड दियौ र सफल भयौ।’ 

सशक्त टिमहरुबिचको खेलमा थोरै मौका प्राप्त हुने र त्यसमध्ये कुनै एक मौका सदुपयोग गर्न सके जित हासिल हुने बुझेरै खेलेकाले सफलता हात लागेको उनले दाबी गरे। फाईनल खेलअघि २ दिन खेलाडीहरुले रेष्ट पाउने बताउँदै उनले लगातार प्रतियोगिताहरु भईरहेकाले चोट लागेका खेलाडी सकुशल नभए नयाँ खेलाडीलाई मैदानमा उतार्ने बताए। खेलपछि आयोजित पोष्ट म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ भने सहभागि भएनन्। हेटौंडा गोल्ड कपको दोश्रो संस्करणको फाईनलमा मनाङलाई रोक्दै आर्मीले उपाधी कब्जा गरेको थियो। 

गत साता नवौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी उचालेको आर्मीको यो १० औं प्रतियोगिता हो। यसवर्षको सर्वाधिक सफल टोली आर्मीले वीरगन्जको विशाल स्मृति, सताक्षी गोल्डकप, मेची नेत्रालय गोल्ड, खप्तड गोल्ड कप र सिमरा गोल्ड कप गरी पाँचवटा उपाधि जितिसकेको छ। 

शनिबारसम्म हुने फुटबल प्रतियोगितामा प्रथम हुने टिमले उपाधीसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने छन्। हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैंया समेत प्राप्त गर्नेछन्।

‘ए’ डिभिजन क्लबहरु थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता सञ्चालन खर्च करिब ६० लाख रुपैंया हुने आयोजकले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७४ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App