coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

चितवन –  चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ। सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर तथा गोरखामा समेत अध्ययन हुने जानकारी दिए। त्यसका लागि आजै क्यामेरा ट्रयापिङ टोली जंगल पठाइने उनले बताए।

जिल्ला वन कार्यालय, हरियो वन कार्यक्रमको सहयोग र समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सालकको अध्ययन गर्न लागेको हो। चितवनको कयरखोलादेखि भण्डारा ब्लकमा अध्ययन हुने भट्टराईले जानकारी दिए।

मुख्यगरी सालकको अवस्था पत्ता लगाई यसको संरक्षित क्षेत्र बनाउने योजनाका साथ अध्ययन हुन थालेको जिल्ला वन अधिकृत केदार पौडेलले बताए।

नेपालमा सालकको राम्ररी अध्ययन हुन सकेको छैन। स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ। यसको खबटा गहनाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ।

विश्वमा आठवटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक मात्रै पाइन्छ। एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले जैविक विविधतामा पारिस्थितिक प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्ने वन्यजन्तु विज्ञले बताएका छन्।

सालकको अवस्थासँगै कुन प्वालमा सालक बस्छ, कस्तो प्रकृतिको माटोमा यसको वासस्थान हुँदो रहेछ भन्ने कुरा पनि अध्ययन गरिने कोषका अनुसन्धान अधिकृत भट्टराई बताउछन्। स्याल दुम्सीले पनि प्वाल खनेको हुन्छ। सालकको र अन्य जनावरको प्वालमा के फरक छ भन्ने पनि अध्ययन हुनेछ।  (रासस)

प्रकाशित: ९ फाल्गुन २०७४ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App