coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

धर्मका नाममा विनाश

‘बुद्ध धर्ममा प्राकृतिक संरक्षण’ पुस्तकमा खेन्पो ङागवाङ वोशेर लामा लेख्नुहुन्छ, “शाक्यमुनि बुद्धको जन्म लुम्बिनी उपवनमा सालको रूखमुनि भएको, मगधको बोधगयामा बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गर्नुभएको र कुशीनगरमा दुईवटा सालको वृक्षको बीचमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो।

विपश्वी बुद्धले पाटवृक्ष (पाखुरीको रूख) को मुनि अभिसम्बुद्ध प्राप्त गर्नुभएको, शिखी बुद्धले पुण्डरीकको रूखमुनि बोधिज्ञान प्राप्त गर्नुभएको, विश्वभू बुद्धले साल वृक्षमुनि सम्बोधि ज्ञान प्राप्त गर्नु भएको र क्रकुछन्द बुद्धले शिरीषको रूखमुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । त्यसरी नै कनकमुनि बुद्धले लोकमा अत्यन्त दुर्लभ उदम्वर वृक्षमुनि बोधिज्ञान लाभ गर्नुभयो भने काश्यम बुद्धले निग्रोध (वर) वृक्षको मुनि बोधिज्ञान प्राप्त गर्नु भएको त्रिपिटकअन्तर्गत सूत्रान्त पिटक दीर्घनिकायमा उल्लेख गरिएको छ ।”
    
  भुवनलाल प्रधान ‘धर्मकीर्ति’मा लेख्नुहुन्छ, “महारानी मायादेवी लुम्बिनी वनमा पुगेको बेला मध्यान्ह भइसकेको थियो । चढ्दो गर्मी र वनेली रमिताको आकर्षणले होला– रानी यहाँ पुगेपछि पालकीबाट ओर्लेर पैदल हिँड्दै निकुञ्जमा यताउतिका दृश्य हेर्न थालिन् ।” यसरी नै त्यस वनवाटिकामा पानी, फलफूल, रङ्गीचङ्गी फूलहरू, हरियो घाँसपात भएको चौर, मयुर, सुगा, मैना, कर्याङकुरुङ लगायतका चराचुरुङ्गीको लोभलाग्दो स्वरले त्यो क्षेत्र भरिपूर्ण थियो । विभिन्न जातका जंगली जनावरहरू जस्तै हात्तीका बथान र मृगहरू शान्तपूर्वक घुम्दै उपवनको शोभा बढाइरहन्थे भनिएको छ।

 विनय पिटकअन्तर्गत भिक्षु प्रतिमोक्ष सूत्रमा बुद्धले रूख संरक्षण गर्नुपर्नेबारे भिक्षुहरूलाई ज्ञान दिनुभएको छ । आवलक नाम गरेको भिक्षु (गेलोङ) ले नयाँ निर्माण कार्य गराउँदा रूख काट्थ्यो र कटाउँथ्यो । एउटा रूख काट्दा त्यस रूखमा रहेको देवताहरूलाई चोट लाग्यो । त्यस रूख देवताले उसको हत्या गर्न चाहेका थिए तर भगवान् बुद्धले रोक्नुभयो । एक समय भगवान् बुद्ध आलवी (नगर) मा बसिरहनुभएको बेलामा आलवका भिक्षुहरूले नयाँ निर्माण कार्य गर्नका निमित्त जमिन खन्थे र खन्न पनि लगाउँथे । यो देखेर मानिसहरू कराउन थालेपछि भगवान् बुद्धले यसै प्रसंगमा “भिक्षुहरूले जमिन खन्न वा खन्न लगाउन नहुने” नियम बनाउनुभयो।

एक अर्को समयमा भगवान् बुद्ध उही बसिरहनुभएको बेलामा आलवकका भिक्षुहरूले नयाँ विहार बनाउनका निमित्त रूखहरू काट्थे । यो देखेर एक अर्को भिक्षुले पनि विहार बनाउनका निमित्त एउटा रूख काट्न थाले । त्यस बेला रूखमा बास गर्ने देउताले यो भिक्षुलाई मार्न त ठीक छैन, बरू यो कुरा भगवान् बुद्धलाई किन नबताऊ ? भनेर सबै कुरा बताए । भगवान् बुद्धले भन्नुभयो, “यदि तिमीले त्यस भिक्षुलाई मारेको भए तिमीले धेरै अपुण्य कमाउने थियौ, अब भइहाल्यो अर्को रूखमा बास लेऊ ।” यस घटनाले गर्दा मानिस खिन्न हुन थालेपछि भगवान् बुद्धले भिक्षुहरूको निमित्त “बिरुवाहरू काट्न वा नाश गर्न नहुने” नियम बनाइदिनु भयो । यसका साथै उहाँले “जसले प्रकृतिमा रुख, बिरुवा र घाँसपातको अस्तित्वलाई समाप्त पार्ने धृष्टता गर्छ, उसले नदीमा डुबेर आत्महत्या गरे सरह हुन्छ” पनि भन्नुभयो ।

 गौतम बुद्धले मानव जातिका लागि दिनुभएको प्रमुख सन्देशमध्ये ‘प्राणीमात्रको रक्षा गर’ एक हो । संरक्षण दिन छुटाइएको राष्ट्रिय वन र राष्ट्रिय निकुञ्जहरूलाई पनि वनवाटिका एवं उपवनको रूपमा लिन सकिन्छ । ‘निकुञ्ज’को अर्थ ‘नि’भनेको जनावर र ‘कुञ्ज’ भनेको घर हो । प्राणीको घर नै मासेपछि कसरी प्राणीको रक्षा हुन्छ ? श्रीमद्भागवतम्मा प्राणी मात्रको रेखदेख गर्नु मानव जीवनको सबैभन्दा महान् कर्म हो भनिएको छ ।
    
रामबहादर बम्जनले बाराको हलखोरिया दह क्षेत्रको वृक्षको छहारीमा ध्यान गरेर तपस्वी नमोबुद्ध कहलाए । यो क्षेत्र अहिले पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ । तर उक्त क्षेत्रलाई निकुञ्ज बाहिर पारेर वनविनाश गर्ने दाउमा उनका अनुयायीहरू लाग्नु बुद्धको निर्देशन र बौद्ध धर्मको विरुद्धमा छ।

गजेन्द्र मोक्षलार्ई चितवन राष्ट्रिय निकुञ्जको त्रिवेणीधाममा भएको घटना भनी भ्रममा पारी उक्त क्षेत्रलाई निकुञ्ज बाहिर पारिएको नजिरका आधारमा पर्सा राष्ट्रिय निकुञ्जको हलखोरिया क्षेत्रलाई निकुञ्ज बाहिर पार्ने कसरत भइरहेको छ । बुद्ध र हिन्दु धर्मावलम्बीहरूले धेरै ठाउँमा धर्मको नाममा अनधिकृत रूपमा निकुञ्ज र वन क्षेत्र कब्जा गर्ने गरेका छन् । धर्मको लागि वन चाहिने हो भने, वन भएको निजी जग्गा खरिद गर्ने वा आफ्नो हकभोगको जग्गामा वृक्षरोपण गरी वनको विकास गर्नु नै धर्म र कानुनसम्मत हुन्छ।
नेपाल र विश्वका संरक्षणकर्मीका लागि चितवन राष्ट्रिय निकुञ्ज नै मथुरा, अयोध्या, लुम्बिनी, मक्कामदिना र जेरुजसेलम हो । नियोजित ढंगले त्रिवेणीधामको उक्त क्षेत्र निकुञ्ज बाहिर पारेर सिमाना हेरफेर गरियो । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जको सिमाना हेरफेर गरेर नेपाल सरकारले विश्व समुदायमाझ झूटको खेती गरेको छ।

नेतालाई राजनीतिक स्वार्थ र निकुञ्ज, राष्ट्रिय निकुञ्ज विभाग तथा वन मन्त्रालयका कर्मचारीहरूको आफ्नो व्यक्तिगत स्वार्थका लागि कमल नयानाचार्यको झूटको खेतीमा खेताला बनेर संरक्षणकी मातृभूमिरूपी नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको छातीमा लात्ती हानेका छन् । यसरी नै अरू निकुञ्ज क्षेत्रहरूको सिमाना पनि हेरफेर गर्दै जाने हो भने निकुञ्ज ध्वस्त पार्ने कार्यको जिम्मेवारी कसले लिने ? धर्मका ठेकेदार हुँ भन्नेहरूले नै धर्मलाई धरापमा पारिरहेका छन् । धर्मका रक्षक हुँ भन्नेहरूबाट नै धार्मिकता हराएको छ

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App