७ वैशाख २०८१ शुक्रबार
विचार

कठै यो मास्कमाडौं !

राजधानी काठमाडौंमा अहिलेको समयमा बाँचिरहेका मानिसलाई कलाकारले प्रस्तुत गर्नुपर्दा विगतका भन्दा थप एउटा पोसाकको अंश थप गर्नुपर्ने हुन्छ– मास्क । मास्क अर्थात् मुखौटा अनिवार्य रूपमा लगाएर नहिँडी यहाँका जनतालाई सुखै छैन । राजधानी काठमाडौं दुई दशकअघिसम्म निकै स्वच्छ थियो।

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख पिएल सिंहले स्वच्छ, सफा हराभरा काठमाडौंको नारा अघि सार्दासम्म पनि राजधानी त्यति बिग्रिसकेजस्तो लाग्दैनथ्यो । यसै स्वच्छ, सफा, हराभरा भएजस्तो लाग्थ्यो । तर, काठमाडौंको अवस्था हिजोभन्दा आज र आजभन्दा भोलि बिग्रँदो छ । वरिपरि हरिया डाँडाले घेरिएको सुन्दर काठमाडौंलाई यहींका मानिसले बिगारेर अहिलेको विरूप अवस्थामा ल्याइपु¥याएका छन्।

देशैभरिबाट यहाँ आएर राज्यको माथिल्लो श्रेणीमा पुगेका व्यक्तिहरू छन्, यहाँ । सिंहदरबार यहीं छ, जसले सिंगै मुलुक विकासको जिम्मा लिएको छ । तर, राजधानीलाई समेत ठीक ढंगले राख्न नसक्ने सरकारले बाँकी देशका निम्ति के गर्न सक्ला र ? त्यसमा पनि वातावरणजस्तो विषयलाई विशेष महत्वसाथ अघि सार्नुपर्नेमा सबैभन्दा कम ध्यान दिइएको देखिन्छ । त्यसमा पनि जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुलाई आफ्नो हैसियत घटेको जस्तो ठान्ने प्रवृत्ति देखिन्छ।

धन्न, पछिल्लो दिनमा यो मन्त्रालय पाउँदा गौरव अनुभव गर्ने व्यक्ति यसको जिम्मेवारीमा पुगेका छन् । सामान्य प्रशासनमन्त्री भएका बेला ग्रिनकार्ड÷पिआरधारी कर्मचारीलाई हटाउन निजामती सेवा नियमावलीमै संशोधन गराउन अथक प्रयास गर्ने लालबाबु पण्डितको जिम्मामा जनसंख्या तथा वातावरण मन्त्रालय परेको छ।

यो मन्त्रालयको जिम्मेवारी पाएपछि उनले ढुक्कैसँग घोषणा गरेका छन्, ‘मास्कमाडौंलाई काठमाडौं बनाउँछु ।’ अरू कसैले यसो भनेका भए पत्याइहाल्न गाह्रो हुने थियो । तर, आफूले थालेको काम जसरी पनि पूरा गर्ने भएका पण्डितले आफ्नो यो सार्वजनिक प्रतिबद्धतालाई यथार्थमा परिणत गर्न सक्नेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ।

उनीजस्तै संकल्पशक्ति बलियो भएका व्यक्ति नलागी राजधानी काठमाडौंको अवस्था सुध्रिनेछैन । र, यो काम कठिन छ भन्ने जानकारी उनलाई पक्कै पनि हुुनुपर्छ । राजधानी काठमाडौंको यो विरूप अवस्था हुनुपछाडि धेरै तथ्यले काम गरेका छन् । सबैभन्दा उल्लेख्य पक्ष भने यहाँ समन्वय अभाव हो । वातावरणमन्त्रीका रूपमा समन्वयकारी भूमिका निर्वाह गरे र काम नगर्ने मन्त्रालय, विभाग र कार्यालयलाई पनि उनले सहभागी गराए भने राजधानीको अवस्था सुधार गर्न सम्भव छ । धुवाँ र धुलोले यहाँको जनजीवन कष्टकर भइसकेको छ । राजधानी काठमाडौंको प्रदूषणले गम्भीर महामारीको रूप लिइसकेको छ।

वर्षमा करिब १० हजार नागरिकको प्रदूषणका कारण नेपालमा ज्यान जान थालेको तथ्यांकसमेत सार्वजनिक भइसकेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला १० वर्षमा मृत्यु हुनेको संख्या करिब १५ हजार रहेको छ । यहाँ त बर्सेनि प्रदूषणबाट झन्डै त्यति नै नागरिकको मृत्यु हुने गरेको छ । राजधानीका सडक समयमै निर्माण नगर्ने, प्रदूषणको कारक बनेका गाडीलाई मापदण्डभित्र नल्याउने, सवारीसाधनमा प्रयोग गरिने इन्धनको गुणस्तर कायम नगर्ने अनेकन् कारणले काठमाडौंलाई प्रदूषित बनाएको छ । दैनिकजसो यहाँ उड्ने धुलोका कण र धुवाँले नागरिकलाई सास फेर्न गाह्रो भइसकेको छ।

काठमाडौं भौगोलिक हिसाबले कचौराजस्तो आकारको छ । त्यही भएर यहाँको प्रदूषण सजिलै उडेर जान सक्दैन । प्रदूषण सजिलै हावाले उडाएर लैजान सकेको भए पनि अवस्था केही भिन्न हुने थियो । सकेसम्म यहाँ प्रदूषण हुन नदिने, सडक किनारामा रूख रोपेर हरियाली कायम गर्ने र विकास निर्माणका काम समयमै पूरा गर्ने हो भने काठमाडौं अत्यन्त सुन्दर देखिनेछ । राजधानी काठमाडौंलाई प्रदूषित बनाउन कत्ति पनि मेहनत गर्नु परेन । तर, यसलाई स्वच्छ तुल्याउन लर्तरो प्रयासले पुग्दैन । पर्यटकका लागि समेत आकर्षक हाम्रो काठमाडौंलाई पहिलेकै जस्तो स्वच्छ र सफा बनाउन मन्त्री पण्डितले गरेको संकल्प चाँडै पूरा होस्।
 

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App