६ वैशाख २०८१ बिहीबार
समाज

वन उपभोक्तालाई औजार वितरण

उपभोक्ता समूहको आयस्रोत बढाउन र वन संरक्षणका लागि औजार वितरण गरिँदै । तस्बिर : नागरिक

रसुवा – रसुवाका सामुदायिक वन उपभोक्ता समूहहरूको आयस्रोत बढाउन र वन संरक्षणका लागि औजार वितरण गरिएको छ । स्थानीय औजारको प्रयोगले काठको बढी क्षति हुने तथा धेरै समय लाग्ने भएकाले जिल्ला वन कार्यालय रसुवाले १३ प्रकारका औजार वितरण गरेको हो । वन व्यवस्थापन गर्नुपर्ने सक्रिय समूहलाई धनुस आरो, गिड्ने आरो, फेसो, रति, ब्लेडलगायत सामग्री वितरण गरिएको जिल्ला वन अधिकृत हरिशचन्द्र सापकोटाले जानकारी दिए ।

२ लाख ३० लाखको लागतमा खरिद गरिएको सामग्री १५ वटा समूहले पाउनेछन् । ‘अहिलेसम्म ८ वटा समूहले सामग्री पाइसकेका छन्,’ सापकोटाले भने, ‘७ वटा समूहलाई सामग्री वितरण हुन बाँकी छ ।’
संरक्षण तथा संवद्र्धनका लागि डाँडागाउँ, थाम्बुचेत र गोल्जुङ इलाका वन कार्यालयअन्तर्गतका १५ समूहका लागि खरिद गरिएको सामग्री यो वर्ष वितरण गरिएको हो ।

वनको संरक्षण, संवद्र्घन तथा सदुपयोग गर्नका लागि औजारको प्रयोग आवश्यक रहेको सापकोटाले बताए । ‘औजारको प्रयोगले रुखको मोटाइ बढ्ने, बिरुवा छिटो हुर्कने र चिरानी काठ राम्रो निस्कने हुँदा समूहहरूको आयस्रोतसमेत बढ्छ,’ उनले भने । आधुनिक सामग्रीको प्रयोगले वन पैदावरको उत्पादनमा वृद्धि हुने, लागत कम हुने र छोटो समयमा धेरै काम गर्न सकिने उनको भनाइ थियो ।

त्यसैगरी कार्यालयले जिल्लाभित्र गठित सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई समूहले संरक्षण गरेका वनको रुखका हाँगा, लाथ्रा, पोल, झाडी तथा रुख कटानसम्बन्धी स्थलगत शिक्षण अभ्यास सुरु गरेको छ । जिल्लाको पाँच हजार दुई सय ८२ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा ७१ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । समूहमा चार हजार सात सय ९४ जना प्रत्यक्ष संलग्न छन् ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App