८ वैशाख २०८१ शनिबार
खेल

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

बाँके – प्रदेशको मौलिकतालाई प्राथमिकतामा राख्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ मा आगामी वर्ष हुँदै छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार तयारी समिति प्रमुख विनोद मैनाली, कीर्तिमानी धावक हरि रोकायले लोगो, मस्कट सार्वजनिक गरेका थिए।

आठौं राष्ट्रिय खेलकुदको मस्कटमा पदक लगाएको हात्तीको छावाले मसाल बोकेर दौडँदै गरेको छ । प्रदेश नम्बर ५ मा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको महत्व झल्काउने गरी हात्तीको छावालाई प्रयोग गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव विष्टले बताए । यसै गरी आठौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका विभिन्न ३५ खेललाई चिनाउने गरी हात्तीको छावालाई प्रयोग गरेर लोगो निर्माण गरिएको छ । यसै गरी राष्ट्रिय झन्डाको चन्द्र र सूर्य माथि भएको लोगोमा लुम्बिनी र लोगोको बायाँतर्फका विभिन्न रंगका सात रेखाले सात प्रदेशलाई चिनाउने खोजिएको छ । लोगोमा भएको आठ परेवाले आठौं राष्ट्रिय खेलकुदलाई झल्काउन खोजेको छ।

मंगलबार सार्वजनिक गरिएको ‘राष्ट्रिय खेलकुद पर्व यो यसै प्रदेशमा । देशको छवि उचो राख्छौं अन्तर्राष्ट्रियमा’ बोलको आठौं राष्ट्रिय खेलकुुदको गीत नारायण खतिवडाले लेखेका हुन् । गीतले खेलकुदको महत्व, गति, शान्ति सद्भावलाई समेट्न खोजेको बताइएको छ।

‘नेपालगन्ज खेलाडीको सहर हो । यहाँका नागरिकले खेल र खेलाडीलाई माया गर्छन् । आठाैं राष्ट्रिय खेलकुद यहाँ हुनु भनेको हाम्रो प्रतिष्ठा र सम्मानसँग जोडिएको छ।’

लोगो सार्वजनिक कार्यक्रममा सदस्यसचिव विष्टले विगतको जस्तो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न ढिलाइ नहुने बताए । ‘विगतमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दा धेरै समस्या आएका छन् । सातौं पनि हामीले ५ वर्षपछि गर्न सफल भएका थियौं । विगतको अनुभवले आठौं प्रतियोगिता गर्न सजिलो हुनेछ,’ विष्टले भने, ‘आठौं राष्ट्रिय प्रतियोगिता ५ नम्बर प्रदेशमा भव्य हुनेछ । अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार र खेलसामग्रीको प्रयोग गरेर आठौं खेलकुद गर्ने तयारी गरिरहेका छौं । प्रदेशको ऐतिहासिक सहर नेपालगन्जमा आठौं राष्ट्रिय  खेलकुद समयमा हुन्छ । त्यसमा कुनै शंका नगरे हुन्छ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाले प्रदेश नम्बर ५ को खेलकुद विकासमा दूरगामी प्रभाव पार्ने विष्टले बताए । उनले भने, ‘बाँकेमा खेल पूर्वाधार निर्माणमा धेरै लगानी भैरहेको छ । खेलका लागि बाँके उर्वर भूमि हो । यहाँबाटै हामीले धेरै नेतृत्वकर्ता व्यक्ति पाएका छौं खेलकुदमा।’

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले ५ नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद आयोजनाका लागि नगरले सहकार्य र सहयोग गर्न तयारी रहेको बताइन् । उनले भनिन्, ‘नेपालगन्ज खेलाडीको सहर हो । यहाँका नागरिकले खेल र खेलाडीलाई माया गर्छन् । आठाैं राष्ट्रिय खेलकुद यहाँ हुनु भनेको हाम्रो प्रतिष्ठा र सम्मानसँग जोडिएको छ । हामी नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुदका प्रतियोगितालाई नजिकबाट कसरी सहयोग र राम्रो गर्न सक्छौं भन्ने बारेमा योजना बनाइरहेको छौं । आठौं राष्ट्रिय  खेलकुदलाई लक्षित गरेर केही पूर्वाधार निर्माण गर्न पनि नगरपालिका तयार छ।’

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App