coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारततर्फ पेट्रोलियम पदार्थको व्यापक ‘तस्करी’

नेपालगन्जको सुर्खेतरोडस्थित कुसुम फिलिङ पम्पमा भारतीय ट्रकले इन्धन भर्दै । तस्बिर : अर्जुन-नागरिक

नेपालगन्ज – नेपालगन्जको सुर्खेतरोडस्थित ‘कुसुम फिलिङ’ पम्पमा मंगलबार बिहान युपी २७ टी ३५९४ नम्बरको भारतीय ट्रकले चार सय लिटर डिजल हालेर ट्यांकी फुल गरी सीमा पार गर्यो ।

उक्त ट्रकले त्यति ठूलो परिमाणको डिजल आवश्यकताभन्दा बढी ट्यांकीमा भरेको तथ्यले नै सीमावर्ती जिल्लाबाट पछिल्लो समय ठूलो परिमाणमा पेट्रोलियम पदार्थ दिनहुँ निकासी भइरहेको पुष्टी गरेको छ । नेपालको भन्दा उता डिजल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १६ देखि २० रुपैयाँ बढी महंगो पर्ने भएकाले अचेल दिनहुँ भारततर्फ जाने सवारी साधन प्रायः ट्यांकी फुल गरी फर्किने गर्छन् ।

व्यवसायीका अनुसार विगत एक वर्षदेखि भारत र नेपालको पेट्रोलियम पदार्थको मूल्यमा ठूलो अन्तर आएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका कुसुम फिलिङका सञ्चालक अजयकुमार टण्डन भारतभन्दा नेपालमा मूल्य सस्तो हुँदा ठूलो परिमाणमा भारतीय नम्बरका सवारी साधनमार्फत पेट्रोलियम पदार्थ भारततिर जाने गरेको बताउँछन् ।

‘भारतीय नम्बरका ठूला सवारी साधन एउटैमा अढाई सयदेखि पाँच सय लिटरसम्मको ट्यांकी हुन्छ,’ उनले भने, ‘भारतबाट सिमेन्टको क्लिंकर लगायत सामान बोकेर आउने र फर्किदा फुल ट्यांकी गरेर जाने गर्छन् ।’ व्यवसायीको नजरमा सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले थाहा पाउँदा पाउँदै पनि केही गर्न नसकिएको उनले बताए । ‘भारतमा पेट्रोलिम पदार्थ महंगो हुँदा ट्यांकी फुल गरेर भारतीय सवारीसाधन जाने गरेको हामीलाई प्रष्टसँग थाहा छ,’ टण्डनले भने, ‘तर हामीले उनीहरुलाई तेल दिँदैनौ भनेर कसरी भन्न सक्छौं ?’

भारतले नेपाल आउने पेट्रोलियम पदार्थमा अन्तःशुल्क लिँदैन । तर, आफ्नै देशमा पेट्रोलियम पदार्थका लागि अन्तःशुल्क लिने भएकाले मूल्यमा असमानता देखिएको व्यवसायी टण्डनको भनाइ छ । भारतबाट ल्याएको पेट्रोलियम पदार्थ ‘वैध रुपले तस्करी’ भएर भारततर्फ गइरहेको व्यवसायी बताउँछन् । ‘तस्करी भनौं भने गाडीमा फुल ट्यांकी गरेर लगिरहेका छन्, तस्करी भएको नभनौं त दिनहुँ हजारौं लिटर उतातिर गइरहेको छ,’ एक व्यवसायीले भने।

यसबाट एकातिर नेपालमा पेट्रोलियम पदार्थको अभाव सिर्जना हुने र अर्कोतिर तेल तस्करी भएर जाँदा ठूलो मात्रामा राजस्व गुमेको उनीहरुको ठहर छ । सरकारी निकायलाई पटक–पटक जानकारी गराउँदा पनि नियन्त्रणका लागि कुनै पहल नभएको उनीहरुले बताएका छन् । नेपालगन्ज नाका, कोहलपुर तथा राजमार्ग क्षेत्रका पम्पमा अचेल भारतीय सवारी साधनको चाप बढी मात्रामा देख्न सकिन्छ।

भारतीय सवारी साधनको चापले गर्दा यहाँका डिजल तथा पेट्रोल पम्पले १० देखि ४० प्रतिशतसम्म खपत बढाएको मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन नेपालगन्जका अध्यक्ष टिपी न्यौपानेले बताए । ‘भारतमा तेल महंगो हुँदा नेपालबाट सस्तो मूल्यमा तेल किनेर भारततिरै लैजाने क्रम बढेको छ,’ उनले भने, ‘भारततिर तेल फर्केर जाँदा पेट्रोलियम पदार्थको अभाव सिर्जना हुने स्थिति आउने खतरा छ ।’

विशेषगरी भारतसँग सीमा जोडिएका बाँके, बर्दिया, दाङ लगायत जिल्लामा सञ्चालित पम्पको खपत दर ह्वात्तै बढेको उनले बताए । नेपालमा दुई वर्षअघि नाकाबन्दी हुँदा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो । भारतमा पेट्रोलियम पदार्थ मंहगो हुँदा यहाँका व्यवसायीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई मागे अनुसारको तेल दिइरहेका छन् । तरपनि नेपाल आयल निगमले कुनै चासो नदिएको सम्वद्ध सरोकारवालाको आरोप छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख विनितमणि उपाध्यायले पेट्रोलियम डिलर्सहरुलाई यसबारे लिखित रुपमै निर्देशन दिइसकेको बताउँछन् । ‘हामीले स्पष्ट रुपमा सबै पम्पलाई चिठी लेखेर भारतीय नम्बरका गाडीलाई अधिकतम एक सय लिटर मात्रै तेल दिनु भनेका छौं, पम्पहरुले हाम्रो आग्रहलाई कत्तिको पालना गरेका छन्, त्यो कुरा हामीले अनुगमन गरेर पत्ता लगाउने कोसिस गर्दैछौं,’ उनले भने।

निगमले एक महिनाअघि सबै पम्पलाई पत्राचार गरेपनि अधिकांशले नियम पालना गरेका छैनन् । यस विषयमा उपाध्याय भन्छन्, ‘हामीसँग प्रष्ट नीति÷निर्देशन छैन, व्यवसायीलाई चिठी लेखेर भन्ने काम बाहेक अरु केही गर्न सकिँदैन, अब अलि कडाइका साथ हामी जान्छौं ।’ सीमावर्ती क्षेत्रका जिल्लामा भारतीय सवारी साधनको चाप बढ्दा विगतभन्दा पेट्रोलियम पदार्थको खपत दर ह्वात्तै बढेको उनले बताए ।

निगम क्षेत्रीय कार्यालय नेपालगन्जले बाँके, बर्दिया, दाङ लगायत १३ जिल्लालाई लक्षित गरी भारतको गोण्डाबाट सरदरमा दैनिक ३० वटा ट्यांकरमार्फत ६ सय किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्छ। यसमध्ये एक सय किलोलिटर पेट्रोल आउँछ । भारततर्फ बढ्दो तेल निकासी रोक्न सरकारले नै उचित पहल गर्नुपर्ने पेट्रोलियम व्यवसायीको सुझाव छ । ‘यसमा हामी व्यवसायीले भन्दा पनि राज्यको निकायबाट पहल हुन आवश्यक छ,’ व्यवसायी टण्डनले भने, ‘बरु पेट्रोलियम पदार्थको मूल्यमा भारतसँग समान गरेर त्यो पैसालाई कुनै राष्ट्रिय योजनामा लगाउन सके राष्ट्रलाई फाइदा पुग्थ्यो होला ।’


 

प्रकाशित: ९ फाल्गुन २०७४ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App