१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आमिरले रानीसँग किन माफी मागे ?

मुम्बई – चर्चित अभिनेत्री रानी मुखर्जीले बलिउडमा ४ वर्षपछि कमब्याक गर्दैछिन्। २३ मार्चमा प्रदर्शनमा आउने फिल्म ‘हिच्की’मार्फत पुनरागमन गर्न लागेकी रानीले आफ्नो करियरको सुरुवाती संघर्षबारे बीबीसीसँग खुलेर बताएकी छन्।

रानीका अनुसार सुरुवाती दिनमा फिल्मकर्मीले उनको आवाजलाई पत्याएका थिएनन्। आज उनको आवाज चर्चित छ, तर सुरुवाती दिनमा उनको आवाज आदर्श अभिनेत्रीजस्तो पातलो नभएको भन्दै उनले सास्ती खेप्नुपरेको थियो। 

फिल्म ‘गुलाम’को किस्सा सुनाउँदै रानीले आफूसँग आमिर खानले माफी मागेको पनि खुलासा गरिन्। फिल्म गुलामको अभिनेत्रीमा छानिएकी रानीको आवाज मोटो भएको र त्यो फिल्ममा नसुहाउने भन्दै प्रमुख अभिनेता आमिर खान, निर्देशक विक्रम भट्ट र निर्माता मुकेश भट्टले उनको भुमिकाका लागि आवाज डबिङ्ग गराएका थिए। 

त्यसक्रममा गुलामसँगै करण जोहरको फिल्म ‘कुछ कुछ होता है’मा काम गरिरहेकी रानीलाई करणले पहिलो फिल्ममै आवाज डबिङ्ग हुने भएपछि आफ्नो फिल्म ‘कुछ कुछ होता है’मा वास्तविक आवाज राख्ने निर्णय सुनाए। 

रानी भन्छिन– करण नयाँ निर्देशक थिए। उनी मेरो भुमिकाको आवाज कुनै अरुसँग डब गराउन सक्थें। तर उनले मलाई विश्वास गरे र मलाई तिम्रो आवाज तिम्रो आत्मा हो भने। उनको यो विश्वासले म मा आत्मविश्वास जगायो र हिम्मत बढायो।
उनका अनुसार करणले बलिउडकै सर्वाधिक हिट फिल्म ‘कुछ कुछ होता है’ मा उनको रियल आवाज राखे जुन निकै चर्चित भयो।

रानी अगाडि भन्छिन्, ‘कुछ कुछ होता है’ हेरेपछि आमिर खानले मलाई फोन गरेर म सँग माफी मागे। ‘मलाई विश्वास थिएन कि तिम्रो आवाज फिल्मका लागि उपयुक्त छ, तर फिल्म हेरेपछि मैले तिमीमाथि टिप्पणी गरेको आफ्नो शब्द फिर्ता लिन्छु। तिम्रो आवाज साँच्चिकै राम्रो छ’ भनेर मसँग पश्चताप गरे।

उसो त रानीले सुरुवाती दिनमा आवाज मात्रै होइन होचो भएको गुनासो पनि सुन्नुपर्यो। तर सौभाग्य नै भन्नुपर्छ यति हुँदा हुँदै पनि उनले सलमान खान, शाहरुख खान, आमिर खानजस्ता स्टार अभिनेतासँग काम गर्ने अवसर पाइन्। उनी आफ्नो सफलता र ठूला निर्देशक, निर्माता, अभिनेता र प्राविधिकसँग काम गर्न पाएकोमा खुसी छिन्। भन्छिन– सफलता एकैपटक पाइँदैन्, सफलताले जीवनलाई पछ्याउँछ। निरन्तर कर्म गर्नुपर्छ।

प्रकाशित: ८ फाल्गुन २०७४ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App