८ वैशाख २०८१ शनिबार
समाज

अवैध तरिकाले लगाईएको एक्साभेटर प्रहरी नियन्त्रणमा

बागमती नदीको समनपुरमा एक्साभेटर लगाएर उत्खनन गर्दै। तस्वीर : मदन ठाकुर/रौतहट

रौतहट – रौतहटको बागमती नदीमा अवैधानिक तरिकाले उत्खन गरिरहेको एक एक्साभेटरलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ । गएराति १२ बजेको समयमा गढीमाई नगरपालिका १ स्थित बागमती नदिमा अवैधरुपमा एक्साभेटर लगाएर नदी उत्खनन गरिरहेकै बेला इलाका प्रहरी कार्यालय समनपुरको टोलिले नम्बर प्लेट नभएको (अनटेस्ट) एक्साभेटर सहित दुईजनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला समन्वय समिति रौतहटको अनुमति विना रातिको समयमा ढुङ्गा गिटी माफियाहरुले बागमति नदिमा एक्साभेटर लगाएर जथाभावी उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर चालक सिन्धुलीको भण्डार नगरपालिका १० का २४ बर्षिय गणेश मगर र सहचालक गढीमाई नगरपालीका २ समनपुरका २५ बर्षिय पारस सहनीलाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले बताएका छन्।

जिल्ला समन्वय समिति रौतहटले जिल्लामा आन्तरिक विकास निर्माणको कामकाज गर्नको लागि बागमती नदीबाट गिटी,बालुवा, ग्रेभल र वोल्डर निकाल्नको लागि गत पुसको दोश्रो साता ४० दिन सम्म खोलामा एक्साभेटर लगाउन अनुमति दिएको थियो । समन्वय समितिले दिएको म्याद यही फागुन ५ गते समाप्त भएको थियो । म्याद समाप्त भएपछि निर्माण कम्पनीले आफ्नो एक्साभेटर खोलाबाट निकालेपनि स्थानीय केही माफियाहरुले रातिको समयमा अवैध तरिकाले मेसिन प्रयोग गरेर जथाभावि उत्खनन गरिरहेको सूचनाको आधारमा प्रहरीले एक्जाभेटरका चालक र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राति नै झिकाएको प्रहरी प्रमुख एसपी पोखरेलले बताए।

अनटेस्ट नम्बर प्लेटको एक्साभेटर खोलामा लगाउन नपाइने प्रावधान रहेको भएपनि रातिको समयमा बागमति नदिमा उत्खनन गरिरहेको बेला नियन्त्रणमा लिएको एक्साभेटरलाई आवश्यक कार्यवाहीको लागि यातायात कार्यालयमा पठाउने र स्थानीय स्वायत शासन ऐन अन्तर्गको मुद्दा लगाउने एसपि पोखरेलको भनाइ छ।

यसैगरी जिल्ला समन्वय समितिको अनुमतिमै बागमती नदीस्थित कर्मैयाको पुलभन्दा करिब आठसय मिटर दक्षिण बागमती नदीमा एक्साभेटरको प्रयोग गरी निर्वाध उत्खनन भइरहेको छ । समन्वय समतिले दुई मिटर गहिरो खन्न साह निर्माण सेवालाई अनुमति दिएपनि उक्त निर्माण सेवाले दुईवटा एक्साभेटर लगाएर ४ देखी ५ मिटर सम्म नदी उत्खनन गरिरहेका छन्।

बागमती नदीको रमौली नाकामा स्थानीय सडक, पुल, नाला, लगयतका अन्य कामकाजको लागि खोलामा एक्साभेटर प्रयोग गर्न अनुमति दिएपनि त्यसको व्यापक दुरुपयोग भइरहेको छ । सरकारले क्रसर उद्योगको नविकारण प्रक्रियामा रोक लगाएपनि जिल्लाको गरुडा स्थित झाँझ खोला र सहायक राजमार्ग सँगै जोडिएको एक मात्र रहेको शिव शंकर क्रसर उद्योगले खोलाबाट जथाभावि ढुँगा, गिटी र बोल्डर उत्खनन गराएर क्रसर उद्योगमै भण्डारण गरिरहेको पाईएको छ।

जिल्ला समन्वय समिति रौतहटका अधिकृत कृतिराज सुवेदीले खोलमा मेसिन लगाएर उत्खखन गर्न दिएको म्याद सकिएको बताए । सरकारले क्रसर उद्योगमा ढुँगा, गिटी भण्डारण गर्नको लागि खोलामा मेसिन लगाउनमा रोक लगाएको बताउदै यदी शिव शंकर क्रसरले भण्डारण गरिरहेको छ भने कडाइका साथ अनुगमन गर्ने बताए।

अवैधरुपमा एक्साभेटरको प्रयोग भइरहेको विषयमा सरकारको कुनै पनि निकायले थाहा नपाएकोजस्तै गरी आँखा चिम्लेर बसेको अवस्थामा ठेकेदारहरु भने दिन र रात गिटी र बालुवा बाहिर पठाइरहेका  छन्।

स्थानीयले विरोध गर्दा जिल्लाको अनुमतिपत्र देखाएर चुपो लगाउने काम भइरहेको छ । सम्बन्धित निकायको ध्यान नजाँदा ठेकेदारहरु मोटाइरहेको तर वैधानिक किसिमले काम गर्ने ठेकेदारलाई भने गिटीको अभाव भएको देखिएको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App