८ वैशाख २०८१ शनिबार
अर्थ

बैंकको प्रतिफल चार प्रतिशत बिन्दुले घट्यो

काठमाडौं – चुक्ता पुँजीमा भएको वृद्धि अनुसार व्यवसाय बिस्तार गरेर आम्दानी बढाउन नसक्दा बैंकहरुले सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल पोहोरको तुलनामा यो वर्षको पहिलो ६ महिनामा ४.१५ प्रतिशत बिन्दुभन्दा धेरैले घटेको छ ।  बैंकहरुको गर्ने नाफाको आकार बढे पनि प्रतिसेयर आम्दानी (इपिएस) घटेका कारण लगानीकर्ताले पाउने लाभांश रकम गत वर्षभन्दा कम हुने बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले देखाएको हो।

२८ वटा वाणिज्य बैंकले सार्वजनिक गरेको गत पुससम्मको वित्तीय विवरणमा अधिकांशको नाफा बढे पनि चुक्ता पुँजीको अनुपातमा लाभांश दिन सक्ने क्षमता नबढेकाले लगानीकर्ताले पाउने प्रतिफलमा कमी आउने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सोमबार नागरिकलाई बताए।

‘गत वर्षको पुससम्ममा बैंकहरुको औसत इपिएस  १९ रुपैयाँ ४७ पैसा थियो,’ उनले भने, ‘तर, चालु आवको सोही अवधिमा यो घटेर औसत १५ रुपैयाँ ३२ पैसामा झरेको छ ।’ पोहोर पुससम्मको प्रतिफल चुक्ता पुँजीको १९.४७ प्रतिशत हो । यसपालिको पोहोरको भन्दा ४.१५ प्रतिशत बिन्दुले घटेर १५.३२ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकहरुको लाभांश बाँड्ने क्षमता गत आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा यो वर्ष ४.१५ प्रतिशत बिन्दुले घटेको दाहालको भनाइ छ।

अधिकांश बैंकहरुको चुक्ता पुँजी आठ अर्ब नाघेकाले उनीहरुले आगामी वर्ष नगद लाभांश मात्र वितरण गर्ने देखिन्छ । एकातिर बैंकहरुले दिने प्रतिफलमा आउने कमी आउने अर्कोतिर चुक्ता पुँजी केन्द्रीय बैंकले तोकेको मापदण्ड पु¥याइसकेकाले बोनस सेयरभन्दा नगद लाभांश पाउने सम्भावना भएकाले सेयर मूल्य पनि घटेको लगानीकर्ताको भनाइ छ।

अघिल्लो वर्षको साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १४१३.९० मा आइपुगेको छ । बैंकको मुद्दती खातामा वर्षिक १४ प्रतिशतसम्म ब्याज पाउन थालेपछि सेयरमा लगानी गरेर आउने प्रतिफलभन्दा त्यो बढी हुने भएकाले लगानीकर्ता त्यतातिर लागेको पाइन्छ । गत आवमा भन्दा चुक्ता पुँजी औसतमा ३७ प्रतिशतले बढेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा देखिन्छ । नाफा भने १० प्रतिशतले मात्र बढेको दाहालले बताए।

सरकारी स्वामित्वका दुई राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र निजी क्षेत्रबाट सञ्चालित नबिल बैंकको मात्र इपिएस २० प्रतिशतभन्दा बढी छ ।  १० वटा वाणिज्य बैंकको १० प्रतिशतभन्दा कम छ । धेरै मुनाफा आर्जन गरेका बैंकभन्दा थोरै चुक्ता पुँजी भएर धेरै नाफा आर्जन गरेका बैंकको सेयरमा लगानी गर्नु उपयुक्त हुने विज्ञहरुको भनाइ छ।

नेपाल राष्ट्र बैंकले दुई वर्षभित्र तीनदेखि चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन बाध्य भएका हुन् । दुई अर्ब चुक्ता पुँजी भएका अधिकांश बैंकको चुक्ता पुँजी अहिले आठ अर्ब पुगेको छ । आठ अर्ब नपु¥याएका केही बैंक चुक्ता पुँजी पु¥याउने अभियानमा छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यता भएपछि बैंकहरु लक्ष्य तोकेरै पुँजी वृद्धिको बाटो लागेका थिए । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयर तथा मर्जरको बाटो समातेका थिए।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकले आठ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड पुँजी पुु¥याउनु पर्छ । राष्ट्रियस्तरको फाइनान्स कम्पनीले ८० करोड, चारदेखि १० जिल्लाकाले ८० करोड र एकदेखि तीन जिल्लाकाले ४० करोड पुँजी पु¥याउनु पर्नेछ । राष्ट्र बैंकले २०७४ पुस मसान्तसम्म तोकिएको पुँजी नपु¥याउने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा रोक लगाउने निर्देशन जारी गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०७४ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App