coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फिल्म अभिनयमा अर्की सुन्दरी !

तस्बिर : कमल श्रेष्ठ

काठमाडौं – मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस नेपाल तथा अन्य उपाधि विजेताहरूले नेपाली फिल्ममा आफ्नो उपस्थितिलाई सक्रिय पार्दै गइरहेका छन् । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, रुवी राणा, उषा खड्गी, माल्भिका सुब्बाले फिल्ममा उपस्थिति जनाइरहँदा आइतबारबाट अर्की सुन्दरी शुभेक्षा खड्काले पनि अभिनयमा ‘डेब्यु’ गरेकी छन् । शुभेक्षा सन् २०१२ को मिस नेपाल प्रतियोगिताको ‘मिस इन्टरनेशनल’उपाधि विजेता हुन्।

राजधानीमा आइतबार घोषणा गरिएको नयाँ फिल्म ‘रणवीर’मा शुभेक्षा प्रमुख अभिनेत्रीको रूपमा देखिँदैछिन् । ‘पहिले त फिल्म गर्नुहुँदैन भन्ने लाग्थ्यो । त्यसैले कति फिल्मको अफर पनि अस्वीकार गरेँ,’ सुभेक्षाले भनिन्, ‘अहिले फिल्म क्षेत्र फस्टाउँदै गर्दा यो फिल्मको स्क्रिप्टले मलाई तान्यो । अब यसैलाई व्यावसायिक रूपमा अगाडि लैजानेछु ।’ फिल्ममा उनले नायक सुशिल सिटौलासँग जोडी बाँध्नेछिन्।

रोमान्स र एक्सनलाई समेटेर बन्न लागेको फिल्ममा गोविन्दसिंह भण्डारीको डेब्यु निर्देशन रहनेछ । फिल्म ‘मञ्जरी’मार्फत एसोसिएट निर्देशकका रूपमा नेपाली फिल्ममा आएका गोविन्दले दक्षिण भारतीय फिल्ममा एसोसिएट निर्देशकका रूपमा गरिसकेको छन्।
निर्देशक भण्डारीले फिल्मले प्रेम र द्वन्द्वलाई समेट्ने बताए । ‘फिल्मको नाम सुन्नेबित्तिकै जोकोहीलाई पनि धार्मिक वा बदलाको कथाको फिल्म होला भन्ने लाग्ला,’ उनले भने, ‘तर फिल्ममा बदला र धार्मिक कुरा छैन । यो फिल्म विशुद्ध प्रेम र द्वन्द्वमा घुम्नेछ ।’ उनले रणवीर नामक शिक्षित र जागरिलो युवकको जीवनमा आउने उतारचढाव तथा संघर्षलाई फिल्ममा देखाइने जनाए।

फिल्मको शीर्ष भूमिकामा सुशील देखिँदैछन् । सुशीलले फिल्ममा आफ्नो भूमिका प्रेमीसँगै एक्सन ब्वाईको रूपमा रहने खुलाए । फिल्ममा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टीका पहारी, रवि गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, वसन्ती भट्ट, शैलेश्वरी सिंहको अभिनय रहनेछ । फिल्ममा प्रशान्त, टीका, रवि र नरेश खलपात्रको भूमिकामा रहनेछन्।

गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीको लगानी रहने फिल्म सोमबारबाट सुटिङका लागि फ्लोरमा जाँदैछ । डडेलधुरा, महेन्द्रनगर, धनगढी र काठमाडौंमा छायांकन हुने फिल्ममा हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व र महेश पौडेलको छायांकन हुनेछ । फिल्म प्राची फिल्मस् र डिआर फिल्मस्को ब्यानरमा बन्न लागेको हो।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App