coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

काठमाडौं – पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । आपूm स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको सोच थिएन । उनले बढीजसो महिलालाई हुने पाठेघरको क्यान्सरबाट सतर्क रहन पाठेघरको नियमित चेकजाँच गराइरहेकी थिइन् । तर पेटमा समस्या देखिँदा उनलाई ग्याष्ट्रिक भयो होला भन्ने लाग्यो।

२२ महिनाअघि जाँच गर्दा पेटको क्यान्सर भएको पत्ता लाग्यो । त्यतिखेर उनी झसंग भइन् । परीक्षण गर्दै जाँदा आमसयमा चौथो चरणको क्यान्सर भएको पत्ता लाग्यो । त्यो थाहा पाएपछि उनी नेपालका क्यान्सर अस्पताल हुँदै भारतस्थित राजिव गान्धी क्यान्सर अस्पताल पुगिन् । त्यहाँको उपचारपछि बाँकी थेरापीको लागि उनी यतिखेर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन्।

आफूलाई क्यान्सर हुनुमा आफ्नो र पारिवारिक जीवनशैली जिम्मेवार भएको उनलाई लाग्छ । नेवार समुदायकी मान्छे सानैदेखि कुखुरा, खसी, राँगाको मासु उनको भोजनमा नियमित हुन्थे । सुकुटी, पोलेको, पकाएको या अन्य परिकारमा पनि उनी मासुलाई खानामा प्रशस्त समावेश गर्थिन् । श्रेष्ठ भन्छिन्, ‘मेरो पाचन प्र्रणाली बलियो नै थियो । फेरि आफूलाई असाध्यै मासुको परिकार मन पर्ने,’ उनले भनिन् । यो जीवनशैलीसँगै ठीक समयमा खाना नखाएकाले क्यान्सर भएको हुन सक्ने लागेको छ।

भक्तपुर अस्पतालको प्यालिएटिभ केयरमै उपचारर्थ छिन् गोरखा आरुघाटकी ५५ वर्षीया धनमाया बरममगर । उनी दुई वर्षदेखि अस्वस्थ्य भइन् । खान मन नलाग्ने, वान्ता हुने समस्या देखिएपछि उनले सुरुमा ग्याष्ट्रिकको उपचार गरिन् । रोग निको भएन । उनी उपचारको लागि काठमाडौं आइन् । एक महिना अघि मात्र चिकित्सकले उनको आमाशयमा क्यान्सर भएको पत्ता लगाए । अस्पतालका अनुसार उनको चौथो तहको क्यान्सर हो।

यी दुई उपचारर्थ यी दुई पात्रसहित अस्पतालमा यस्ता थुप्रै आमशय क्यान्सरका बिरामीहरू आउँछन् । ती मध्ये धेरै यस्तै खानपान गर्ने व्यक्तिहरूमा क्यान्सर बढी देखिने गरेको छ।

‘आमाशयको पहिलो भागको क्यान्सर नेपालका जनजातिहरूमा नै बढी देखिन्छ, पछिल्लो भागको मंगोलियन र आर्यन दुवैमा बराबर छ,’ भरतपुर क्यान्सर अस्पतालका शल्यचिकित्सक डा. गंगा सापकोटाले भने । चिकित्सकका अनुसार कुन जातिमा आमशयको क्यान्सर छ भन्ने बारेमा यकिन अध्ययन भएको छैन, उपचारमा आउने बिरामीको संख्या भने बढी देखिन्छ ।
नेपाल क्यान्सर अस्पतालका प्रमुख मेडिकल अन्कोलोजिष्ट डा. सुदीप श्रेष्ठ भन्छन्, ‘केही समुदायका बिरामीहरूमा आमशयको क्यान्सर अलिक बढी देखिन्छ।’

क्यान्सर सर्जन डा. सापकोटाका अनुसार यो अस्पतालमा कुल क्यान्सर बिरामीको १५ देखि २० प्रतिशत आमशयको क्यान्सर देखिन्छ । नेपाल क्यान्सर अस्पतालको तथ्याकंअनुसार सन् २०१५ मा ७८ र २०१६ मा ६७ जनामा आमशयको क्यान्सर देखिएको थियो । यी मध्ये कुन समुदायमा आमशयको क्यान्सर छ भन्ने विषयमा यकिन अध्ययन भइनसकेको अस्पतालले जनाएको छ । केही समुदायका बिरामीमा आमशयको क्यान्सर तुलनात्मक रूपमा बढी छन् । तथ्याकंअनुसार प्रतिवर्ष १५ हजार क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन्।

सांस्कृतिक जीवनशैली नै कारण
नेपालमा मासु, रक्सी खाने समुदायमा आमशयको क्यान्सर बढी भएको क्यान्सर चिकित्सकहरूले बताएका छन् । ‘नेपाली केही समुदायले मासुका विविध परिकार बढी खान्छन् नै सँगै रक्सी पनि खाने चलन छ,’ भरतपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. सापकोटाले भने।

चिकित्सकका अनुसार पोलेको, धुवाँमा पकाएको, सुकाएको मासु खाने र नियमित धेरै मासुको प्रयोग गर्ने र  रक्सी सेवन बढी गर्ने जीवनशैलीले आमाशयको क्यान्सर भएको देखिन्छ । धुवाँमा सुकाएको र पकाएको मासुमा क्यान्सरजन्य पदार्थ हुने र मासु तथा रक्सीको मेलले सामान्य कोषमा असमान्य कोष बृद्धि भई क्यान्सर हुन्छ । ‘अस्पतालमा आउने बिरामीको पृष्ठभूमि बुझ्दा मासु र रक्सी खाने व्यक्तिहरु बढी छन्,’ नेपाल क्यान्सर अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. गौतमले भने।

बढी माात्रामा मासु खाने जो कोहीमा मोटोपना बढ्ने र मोटा व्यक्तिलाई पनि आमाशयको क्यान्सर हुन्छ । त्यसमा पनि धुमपान गर्नेलाई थप जोखिम हुन्छ । पछिल्लो समय मासुका विविध परिकार खाने चलन बढेकाले सबै जातजातिले यस्तो जीवनशैलीमा नियन्त्रण गर्न आवश्यक भएको चिकित्सक सुुझाउँछन् । ‘मासु सकेसम्म कम खानु पर्छ र खानै परे मात्रा मिलाएर सामान्य परिकारमा रूपमा खानाले कम असर गर्छ,’ डा.सापकोटाले भने।

प्रकाशित: ८ फाल्गुन २०७४ ००:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App