७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

लिबियामा राजनीतिक संकट अन्त्य गर्न आग्रह

त्रिपोली – लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा जारी राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गरेका छन् । उनले देशको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानुन निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानुन पारित गरेर देशमा राजीतिक गतिरोधको अन्त्य गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । जनमत संग्रहसम्बन्धी कानुन निर्माणका लागि बिहीबार संसदको अधिवेशन आह्वान गरिएको छ । ‘जनमत संग्रहसम्बन्धी कानुनका बारेमा निर्णय गर्न हामीले संसदको बैठक आह्वान गरेका छौं, अब यसैबाट देशले निकास पाओस् भन्ने हाम्रो आग्रह छ’ उनले बताए।

लिबियामा नयाँ संविधान लेखनको प्रक्रिया सुरु भइसकेको छ । संविधानसभाले मस्यौदा संविधान पारित गर्न खोजिरहेको छ, तर त्यसले जनताको मतलाई समेट्न असमर्थ भएको आरोप लागेको छ । जनमत संग्रहका लागि सहयोग गर्न राज्यका सबै निकाय र अन्तर्राष्ट्रिय समुदायलाई पनि प्रधानमन्त्री फाएजले आग्रह गरेका छन्।

आइतबार अर्थात् फेब्रुअरी १८ का दिन लिबियाका पूर्वशासक मोहम्मर गद्दाफीको शासन अन्त्यको घोषणा भएको सातौं वार्षिकीको अवसर पारेर प्रधानमन्त्री फाएजले टेलिभिजन सम्बोधन गर्दै राजनीति गत्यावरोध अन्त्यका लागि सबैलाई आग्रह गरेका हुन्। शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण तथा अधिकार र स्वतन्त्रताको सुनिश्चित गर्न लिबियामा जनमत संग्रह गर्नुपर्ने आवाज उठेको छ। साथै संविधान लेखनका केही विषयमा आम सहमतिका लागि पनि जनमत संग्रहको माग गरिएको छ।

गत जुलाईमा भएको मतदानमार्पmत संविधानसभाले मस्यौदा संविधान संसद्मा पठाएको छ । तर त्यसलाई अन्तिम रूप दिन संसद्को पनि कार्य गरिरहेको संविधानसभाले जनताको सहमति आवश्यक परेको जनाएपछि त्यसका लागि आवश्यक पर्ने जनमत संग्रहको कानुन निर्माण प्रक्रिया सुरु हुँदै छ।

सर्वोच्च अदालतले कतिपय विषयमा जनताको राय लिनका लागि जनमत संग्रहमा जान सकिने खालको निर्णय दिएको थियो । विवादास्पद विषयको टुंगो लगाउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको प्रधानमन्त्री फायजले टेलिभिजन सम्बोधनका क्रममा बताएका छन्।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App