coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘जाउलो खुवाइने ठाउँ नै जावलाखेल’

बुद्धिराज बज्राचार्य
संस्कृतिविद् तथा पूर्वमेयर

म सानो छँदाको उपत्यका सम्झँदा अहिले आफैँलाई आश्चर्य लाग्छ । ६ दशकपहिले उपत्यका हराभरा थियो । प्रशस्त खुला ठाउँ थियो । ललितपुरको चापागाउँबाट काठमाडौंको सुन्धारा जोड्ने राजकुलो थियो । बीचबीचमा पोखरी थिए । अहिले कंक्रिटका भवन ठडिएका ठाउँमा खेतीपाती हुन्थ्यो ।

त्यतिबेलाका मानिसको जीवनशैली साधारण थियो । मानिससँग पैसा हुँदैनथ्यो । खेतबारीमा काम गरेर दैनिकी चलाउँथे । आजभन्दा ६–७ दशकअघि काठमाडौं एउटा कृषिको उर्वर भूमि भनेर चिनिन्थ्यो । त्यतिबेला जसले बढी खेतीपाती गरेको छ, उसैलाई धनी मानिन्थ्यो । वरिपरिका डाँडाकाँडा हरियाली देख्न पाइन्थ्यो । हिजोआज हरियाली खोज्न सहरभन्दा बाहिर जानुपर्छ । पहिले–पहिले पुर्खाले रोपेका रूख–बिरुवा ढलिसकेका छन् । सहरको बीचमा भएका रूख कटान गरी भवन बनाइएका छन् ।

५० वर्षपहिले उपत्यकामा एकनास घर थिए । ती घर झिँगटी, इँटा र माटोले बनेका हुन्थे । घरमा काठ प्रयोग भएका हुन्थे, अहिले परम्परागत मौलिक शैलीमा बनेका घर देखिन्न । सबैले परम्परा भेटेर नयाँ शैलीका घर बनाएका छन् । पुरानो इतिहासको कसैलाई चिन्ता छैन, त्यसैले पनि हाम्रा पुराना मौलिकता गुम्ने डर देखिएको हो ।

४० वर्ष अघिसम्म एक मोहरको ६ माना चामल आउँथ्यो । नुन, चिनी, तेलको मूल्य निकै सस्तो थियो । अधिकांशले आफूलाई चाहिने कृषि सामग्री आफैँले उत्पादन गर्थे । बजारमा किन्ने भने चिनी र नुन थियो । अरु प्रायः चिज घरमै उत्पादन गरिएका हुन्थे । खेतीपातीमा अहिलेजस्तो विषादि प्रयोग हुँदैनथ्यो । 

हरेक चिज अग्र्यानिक हुन्थ्यो । खानेकुरा सफा र राम्रो भएकाले पहिलेका मानिस त्यति बिरामी हुन्नथे । अहिले बजारमा जे किन्न पनि डर लाग्छ । हरेक चिजमा विषादि प्रयोग भएको छ ।  २००५ सालताका उपत्यकामा जम्माजम्मी पाँच लाख हाराहारी जनसंख्या थियो । कात्तिक र मंसिरमा धानका बाला पहेंलै झुलेका देखिन्थे । सहरका भित्री गल्ली धेरै थिए । कहीँकतै मात्रै सडक पुगेको थियो । सहरमा मान्छे भेला हुन जात्रा वा कुनै पर्व आउनुपथ्र्यो ।

उपत्यकाको रातो मच्छिन्द्रनाथ हेर्न मान्छे झुम्मिन्थे । यही पर्वमा होला उपत्यकावासी एक हुने । सबैले मच्छिन्द्रनाथको पूजा गर्थे । पहिले–पहिले सडक साँघुरो भएका कारण पाटन र पुल्चोकमा हिमपाइप राखेर मच्छिन्द्रनाथको पांग्रा गुडाइन्थ्यो । अहिले सडक फराकिला भएका छन् । तैपनि मानिसको चापले सहर अस्तव्यस्त छ ।

आजभन्दा करिब ५० वर्षपहिले ललितपुरको जनसंख्या ३०÷३५ हजार थियो । अहिले आएर तीन लाख पुगेको छ । म आफू ११ वर्षको हुँदाको सहर स्मरण गर्छु, त्यतिबेला उपत्यकाका धेरै ठाउँमा जात्रा–पर्व हुन्थे । ती पर्वमा म महिलाको भेषमा नाच्थेँ । सबैले अचम्म मान्दै मलाई जिस्काउँदै रमाइलो मान्थे । मैले पाँच वर्ष कलाकार भएर पनि काम गरेको थिएँ । त्यो बेला उपत्यकाका धेरै व्यवसायी भीमफेदी गढीमा सामान किन्न जान्थे । म पनि घन्टौँ हिँडेर त्यहाँ पुगेको थिएँ ।

६० वर्षपहिले उपत्यकामा मानिसले नै बोकेर गाडी भित्र्याउने गर्थे । अहिलेजस्तो बाइरोड बनेको थिएन । रिङरोडमा भर्खरै  ट्र्याक खोलिएको थियो । एक–दुई गाडी गुडेका हुन्थे । मानिसको संख्या कम भएकाले पनि सवारीसाधनको खासै आवश्यक पर्दैनथ्यो । मानिसहरू खर्पन र साइकलमा कृषि सामान बोक्थे ।  मैले केही समय लुगा सिलाउने काम पनि गरेको थिएँ । पहिले–पहिले ललितपुरका बज्राचार्य जातिले न्युरोडमा ठुल्ठूला नेता र राणाको कपडा सिलाउने गर्थे । पाटनबाट हिँडेर न्युरोड पुग्न तीन घन्टा लाग्थ्यो । मैले पनि दुई वर्ष लुगा सिलाउने काम गरेँ ।

०४२ देखि ०५८ सम्म म तत्कालीन ललितपुर नगरपालिकाको मेयर भएर काम गरेँ । त्यतिबेला सहरलाई मौलिक बनाउन मैले आधुनिक र परम्परागत सहरको अवधारणा पनि ल्याएको थिएँ । त्यतिबेला कसैले पनि घरमा प्लास्टर लगाउन पाउँदैनथे । त्यो नियम पाटन क्षेत्रमा अहिले पनि लागू छ । पहिलेपहिले घरको तला ६ फिटको हुनुपथ्र्याे । अहिले नौ फिट बनाइएको छ । अहिले उपत्यकामा घर बनाउने कुनै मापदण्ड नभएको जस्तो देखिन्छ । सबै पक्षबाट पुरानो सहर बिग्रँदै छ । २० वर्ष पहिलेसम्म उपत्यकामा बाहिरका मानिस खासै थिएनन् । अहिले सहरले थेगिनसक्नु जनसंख्या छ । सबै अवसर यहीँ पाइने भएपछि देशैभरका मानिस यहाँ आउने क्रम बढ्यो ।

विगतको सहर सम्झँदा अहिले रुन मन लाग्छ । कति सुन्दर थियो, त्यतिबेलाको सहर । अहिले सबैतिर अस्तव्यस्त छ । विदेशी आए भने पनि मेरो सहर भनेर देखाउन लाज लाग्ने अवस्था आएको छ ।
अहिले अन्य पुराना कुरा गुमाए पनि हामीले प्रायः जात्रा, पर्व गुमाएका छैनौँ, यो खुसीको कुरा पनि हो । म जान्नेबुझ्ने हुँदा मच्छिन्द्रनाथको रथ पु¥याउने दिन जावलाखेलमा असहाय गरिबलाई जम्मा पारेर जाउलो खुवाइन्थ्यो । मानिसहरू भेला नभएको दिन गरिब–दुःखी आऊन् भनेर टपरीमा जाउलो भाग लगाएर राख्ने गरिन्थ्यो । अहिले पनि रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याएको दिन गरिब र दुःखीलाई भोजन गराउने चलन छ । यसैले पनि यो ठाउँको नाम जावलाखेल राखिएको रहेछ ।

मैले सुनेअनुसार भक्तपुरको पाँचतले मन्दिर रातो मच्छिन्द्रनाथ देवता राख्नलाई बनाइएको थियो । पछि काठमाडौंका बज्राचार्य र ललितपुर पाटनका ज्यापुबीच कुरा नमिलेपछि मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिएको हो । यो आजभन्दा १५ सय वर्षअगाडिको कुरा हो । मैले पनि जानकारबाट यो कुरा थाहा पाएको थिएँ । पाटन क्षेत्रमा केही काम गर्नुप¥यो भने अझै पनि सत्यमोहन जोशीदाइ र मलाई स्थानीयले खोजी गर्छन्, किनकि हामीले सानैदेखि नै यो क्षेत्रमा भिजेर काम गर्यौँ ।

बाल्यकालदेखि नै मिलेर पाटन क्षेत्रका सम्पदा रेखदेख गर्दै आएका थियौँ । ४० वर्षपहिले सत्यमोहनदाइको घरबाट उपत्यकाका सबै सम्पदा छर्लंग देखिन्थ्यो । पाटन क्षेत्रमा स्वच्छ हावा र ठाउँठाउँमा कलात्मक ढुंगेधारा थिए । अहिले पुराना संस्कृति र ती दृश्य हराउँदै छन् । आकाश नै छेक्ने गरी बनाइएका भवनले उपत्यकालाई कुरूप बनाएका छन् । सरकारमा बस्नेहरू सहरप्रति  जिम्मेवार भएको भए सहर यति साह्रै भद्रगोल हुने थिएन ।
(शिवहरि घिमिरेसँगको कुराकानीमा आधारित)
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App