७ वैशाख २०८१ शुक्रबार
अर्थ

नाफा घटेको छैन : टेलिकम

काठमाडौं – नेपाल टेलिकमले चालु आर्थिक वर्षमा नाफा नघटेको बताएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा प्राविधिक विषय मिलाउँदा मात्र नाफा घटेको जस्तो देखिए पनि समग्रमा कम्पनी नाफामा रहेको टेलिकमले स्पष्ट पारेको हो ।

कम्पनीको विगतमा आर्थिक वर्षको अन्त्यमा मात्रै गरिने विभिन्न शीर्षकको समायोजन यस वर्षदेखि त्रैमासिक रुपमा गर्न थालिएकोले मात्र नाफा घटेको जस्तो देखिएको स्पष्ट पारेको छ ।

टेलिकमका अनुसार यस वर्षदेखि पहिलो पटक नेपाल लेखामान ३४ (इन्टरिम फाइनान्सियल रिपोर्टिङ) अनुसार वित्तीय विवरण समायोजना सुरु गरेको छ । विगतमा यस्तो समायोजन आर्थिक वर्षको अन्यमा मात्र गरिने गरिन्थ्यो । आर्थिक वर्षको अन्त्यमा मात्र गरिने समायोजन यसवर्ष त्रैमासिक मै गरिएकाले नाफामा प्रभाव परेको देखिएको कम्पनीको भनाइ छ । त्रैमासिक विवरणमा यस्तो प्रभाव देखिए पनि गत वर्षको लेखापरीक्षणपछिको वित्तीय विवरणसँग तुलना गर्दा सो प्रभाव नदेखिने कम्पनीले जनाएको छ ।

‘कम्पनी घाटामा गएको हो भन्ने गलत हो । कम्पनी नाफा मै छ,’ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले नागरिकसँग भनिन्, ‘कम्पनीको आम्दानी राम्रो छ ।’ कम्पनीको पुस मसान्तसम्मको कुल आम्दानी २२ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको लेखापरीक्षणपछिको वित्तीय विवरणको कुल आम्दानीको अनुपातमा चालु वर्षको ६ महिनाको कुल आम्दानी राम्रो रहेको उनले बताइन् ।  कम्पनीले गत साता सार्वजनिक गरेको चालु आवको पहिलो ६ महिनामा राजस्व पछिको खुद नाफा सात अर्ब ४८ करोड २८ लाख रुपैयाँ छ भने वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा सात अर्ब ९१ करोड ८६ लाख  रुपैयाँ रहेको उल्लेख छ।  

त्यसैगरी, कम्पनीको चालु आवको पहिलो ६ महिनाको कुल आम्दनी २२ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको आम्दानी २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App