६ वैशाख २०८१ बिहीबार
अर्थ

आठ वर्षमा १६ किलोमिटर सडक

गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत धौलेमा गएको भदौमा सडक चौडा गरिँदै । भदौदेखि यो सडकको काम रोकिएको छ ।तस्बिर : सुमन-नागरिक

मुगु, – त्रिदेशीय महत्व र प्रमुख व्यापारिक मार्गका रुपमा हेरिएको गमगढी–नाक्चेलाग्ना सडकका लागि जिल्लामा नै परियोजना कार्यालय स्थापना गर्ने भनिए पनि हालसम्म झोलामा सीमित रहेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७३ पुस ७ गतेको बैठकले चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने गमगढी–नाक्चेलाग्ना सडकको निर्माण कार्य छिटो गर्न सदरमुकाम गमगढीमा नै परियोजना कार्यालय स्थापना गर्ने निर्णय गरेपनि हालसम्म परियोजना कार्यालय स्थापना हुन सकेको छैन ।मन्त्रिपरिषदको निर्णयसँगै सरकारले सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख इन्जिनियर अंगलाल रोकायालाई परियोजना कार्यालय प्रमुख रहने गरी कार्यालय सञ्चालन गर्न निर्देशन दिएपनि रोकाया परियोजना कार्यालयमा आएका छैनन्।

खटाइएका कर्मचारी परियोजना कार्यालयमा नआउँदा नाक्चेलाग्ना–गमगढी सडक निर्माणको कार्य समेत अगाडि बढ्न सकेको छैन । गमगढी नाक्चेलाग्नासम्मको कुल ८५ किलोमिटर सडकमध्ये हालसम्म जम्म १६ किमि सडकमात्रै खनिएको छ । ०६६ बाट निर्माण कार्य थालिएको यो सडकलाई सरकारले उत्तर दक्षिण सडक आयोजना अन्तर्गत राखेको छ ।

सडकको निर्माण कार्य सुरु गरिएको आठ वर्ष बित्न लाग्दा समेत जम्मा १६ किमि सडक खनिएकामा औसतमा हिसाब गर्दा नाक्चेलाग्नासम्मको ८५ किमि सडकको ट्र्याक खोल्न मात्र ४२ वर्ष लाग्ने देखिन्छ । अघिल्लो वर्ष आफूलाई यो परियोजना हेर्ने गरी सरकारले खटाएको र अहिले पनि आफूलाई यही परियोजनामा जान सरकारले भने पनि आफूले जुम्ला र मुगुका सबै सडक आयोजना हेर्ने भएकाले मुगु जान नसकिएको इन्जिनियर रोकायाले बताए । अहिले जुम्लामा समेत अन्य कार्यालय प्रमुख नखटाइएको र आफू पनि मन्त्रालयमा काजमा बसेर दुवै जिल्ला हेर्ने गरेकोे रोकायाको भनाइ छ ।

गमगढी–नाक्चे–लाग्ना सडकको निर्माण कार्य छिटो गर्न जिल्लास्तरीय राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवाला निकायले नाक्चेलाग्ना गमगढी सरोकार समिति बनाई निरन्तर सरकारलाई दवाव दिँदै आएपनि सरकारले खटाएका कर्मचारी जिल्ला नआउँदा सडक निर्माण कार्य कछुवा गतिमा भइरहेको  छ ।

चालु आवका लागि सरकारले परियोजना कार्यालय सञ्चालन तथा कर्मचारी व्यवस्थापनका लागि ६६ लाख ६६ हजार रुपैयाँ बजेट विनियोजन गरेको भएपनि परियोजना कार्यालयमा कर्मचारी आउन सकेका छैनन् भने सडक निर्माणका लागि चार करोड रुपैयाँ बजेट मात्र व्यवस्था गरिएको छ । सरकारले हरेक वर्ष सडक निर्माणका लागि न्यून बजेट विनियोजन गर्ने र ठेकेदारले पनि सडक निर्माणका लागि चाहिने औजार उपकरण पनि पर्याप्त व्यवस्था गर्न नसक्दा सडक निर्माण कार्य सुस्त भएको रोकायाले जानकारी दिए ।

अहिले पनि गमगढीदेखि छाइलसम्म खनिएको सडकलाई सात मिटर चौडा गर्न ठेकेदारलाई निर्देशन दिइएपनि गमगढी–लुम्स खण्डमा पर्ने पाँच सय मिटर सडक चौडा गर्नै नमिल्ने अवस्थामा रहेको उनले बताए । हरेक वर्ष सरकारले विनियोजन गर्ने रकम थोरै भएकाले सडक निर्माण कार्य पनि ढिलो भएकाले आगामी वर्षका लागि ७० करोड रुपैयाँसम्म बजेट विनियोजन गर्न माग गरिएको तथा बजेट स्वीकृत हुँदा साथ मुगु गाउँसम्मका लागि नै ठेक्का खोलिने इन्जिनियर रोकायाले दाबी गरे ।

परियोजना कार्यालय स्थापना गर्न उपयुक्त घर नभेटिएकाले कार्यालय स्थापना हुन नसकेको उनले बताए । अहिले कार्यालय हेर्ने जिम्मा जिल्ला समन्वय समितिका लेखा अधिकृत रमाकान्त आचार्यलाई दिईएको भएपनि सरकारले अर्को कर्मचारी व्यवस्था नगरुन्जेल परियोजना कार्यालय हेर्ने व्यक्ति कोही नहुने उनले तर्क गरे । समग्रमा अहिले परियोजनाको कार्यालय झोलामा चलिरहेको उनले बताए । सडक निर्माण कार्य गएको भदौसम्म आंशिक रुपमा भएपनि अहिले रोकिएको छ ।


 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App