coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानवशास्त्र ओझेलमा परेकोमा चिन्ता

पोखरामा भएको मानवशास्त्रसम्बन्धी गोष्ठीमा सहभागी प्राध्यापक । तस्बिर : सन्तोष पोखरेल-नागरिक

पोखरा – मानव जातिको संस्कृति, सभ्यता, विविधता र समाजको बनोटलाई जोड्न सक्ने विषय भएर पनि मानवशास्त्र ओझेलमा परेको मानवशास्त्रीले बताएका छन् । समाजमा जातीय, धार्मिक, सांस्कृतिक विविधता रहेको र त्यसलाई समावेशी बनाउन सघाउने विषय मानवशास्त्रलाई सबैतिरबाट बेवास्ता गरिएको उनीहरुको चिन्ता छ ।

मानवशास्त्रको महत्व समाज र राष्ट्रलाई बुझाउनुपर्ने आवश्यकता उनीहरुले औंल्याएका छन् । हाम्रो भविष्य कता जाँदैछ भनेर मानवशास्त्रीले चिन्ता गर्नसक्ने भए पनि त्यसको महŒव बुझाउन नसकेको मानवशास्त्रका प्राध्यापकले बताए । पोखरामा दुई दिनसम्म चलेको छलफलमा विश्वविद्यालय तहमा समेत मानवशास्त्र विषय ओझेलमा परेको उनीहरुको भनाइ छ ।

मानवशास्त्रका प्राध्यापक ओम गुरुङले विश्वविद्यालय तहमा मानवशास्त्रभन्दा समाजशास्त्र हावी भएको बताए । दुई वर्षअघि नै मानवशास्त्र र समाजशास्त्रको विभाग छुट्टिए पनि मानवशास्त्रलाई धेरैले नचिनेको उनले बताए । ‘मावशास्त्र हाम्रो समाज, संस्कृति र बनोटसँग सम्बन्धित छ,’ उनले भने, ‘तर मानवशास्त्रको महत्व न त विद्यार्थीले बुझे न नीतिनिर्माताले नै बुझेका छन् ।’

मानवशास्त्रका अर्का प्राध्यापक भानु तिम्सिनाले मानवशास्त्रको महत्व कसैले नबुझेको बताए । मानवशास्त्रको पहिचान फरक भए पनि महत्व बुझाउन नसकेको उनको भनाइ थियो । ‘मानवशास्त्रले नै संसार बुझाउँछ तर यसको महŒवबारे नीतिनिर्माता र विद्यार्थीले बुझ्न सकेका छैनन्,’ उनले भने ।पहिचान, स्वायत्तता, आरक्षण, समावेशिताजस्ता विषयमा मानवशास्त्रीले गरेको अध्ययन महत्पूर्ण हुने प्राध्यापक सूर्यभक्त सिग्देलले स्पष्ट पारे । उनले पनि त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसमा मानविकी संकायमा विद्यार्थी घटिरहेको अवस्थामा त्यसको मार मानवशास्त्रलाई पनि परेको बताए ।

ओझेलमा परेको मानवशास्त्र विषयलाई माथि उठाउन राष्ट्रियस्तरको छलफल चलाइएको मानवशास्त्रका प्राध्यापक अमृतकुमार भण्डारीले बताए । उनका अनुसार छलफलमा मानवशास्त्रका प्राध्यापक, विद्यार्थी र स्वतन्त्र अनुसन्धाता गरी ८० जना सहभागी थिए । कार्यक्रममा ३३ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App