coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीय संसदमा ३४ प्रतिशत महिला


काठमाडौं – संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको संघीय संसदमा १ सय १२ जना महिलाको प्रतिनिधित्व हुने भएको छ ।
संघीय संसदमा राष्ट्रियसभाबाट ५९ जना, प्रतिनिधिसभातर्फबाट २ सय ७५ गरी ३ सय ३४ सदस्य छन् । त्यसमध्ये १ सय १२ जना महिला निर्वाचित भएका छन् ।सबैभन्दा धेरै एमालेबाट ५० जना छन् । प्रतिनिधिसभामा समानुपातिकबाट ३७, राष्ट्रियसभामा २२ जना र प्रत्यक्षबाट २ गरी एमालेबाट महिला संघीय संसद्मा आएका छन् ।

नेपाली कांग्रेसबाट संघीय संसदमा २६ जना महिलाको उपस्थिति  छ । प्रतिनिधिसभामा २०, राष्ट्रियसभामा ६ जना महिला संघीय संसदमा आएका छन् ।माओवादी केन्द्रबाट २२ जना महिला रहेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट ३, समानुपातिकबाट १६ र राष्ट्रियसभामा ३ जना महिलाले संघीय संसद्मा प्रतिनिधित्व गरेका छन् ।त्यसैगरी संघीय समाजवादी फोरम नेपालका  प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा १ गरी ६ जना महिला छन् ।

राष्ट्रिय जनता पार्टीबाट ६ जना महिलाको उपस्थिति छ । राष्ट्रिय जनमोर्चाबाट १ जना महिलाको प्रतिनिधित्व छ । राष्ट्रियसभाका लागि एकजना महिला सरकारले मनोनीत गर्ने भएको छ ।
निर्वाचनमा ठूला दलले प्रत्यक्षतर्फ महिला एकदमै कम उठाएका थिए । साना अस्तित्वमा नभएका दल, स्वतन्त्र र जित्न नसक्ने स्थानबाट महिला उम्मेदवार बनेका थिए । एमालेले २, माओवादी केन्द्र ३ र राष्ट्रिय जनमोर्चाबाट १ गरी ६ जना महिला प्रतिनिधिसभामा प्रत्यक्ष तर्फबाट विजयी भएका छन् ।
यसअघिको चुनावमा महिलाको अवस्था
पहिलो संविधानसभा २०६४ सालमा भएको आमचुनावमा प्रत्यक्ष चुनाव, समानुपातिक र मनोनीत गरी ६ सय १ जना सांसद थिए ।संविधानसभामा २९ जना महिलाले जितेका थिए । माओवादीबाट २३ जना, कांग्रेसबाट २ जना, एमालेबाट १ जना, मधेसी जनअधिकार फोरबाट २ जना, तराईमधेश लोकतान्त्रिक पार्टीबाट १ जना गरी २९ जना प्रत्यक्ष तर्फबाट विजयी भएका थिए । संविधानसभामा एक सय ९१ जना महिला सभासद् थिए । जुन कुल सभासद् संख्याको ३३.३ प्रतिशत हो ।

२०७० सालमा भएको दोस्रो संविधानसभा पनि ६ सय १ जना सांसद चुनिए । त्यसमध्ये एक सय ७२ जना महिला सभासद्को उपस्थिति थियो । सिट संख्याका आधारमा यो अघिल्लोपटक भन्दा कम हो ।
दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट ६ जना, एमालेबाट ३ जना र एनेकपा माओवादीबाट १ गरी जम्मा १० जना महिलाले प्रत्यक्ष तर्फबाट चुनाव जितेका थिए । प्रतिशतका आधारमा अघिल्लो संविधानसभामा २९.९ प्रतिशत महिला सांसद  थिए ।

 

 

 

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App