coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

सिंगापुर– सिंगापुरमा ६ दिनसम्म चलेको एसियाकै सबैभन्दा ठूलो एयर सो ‘सिंगापुर एयर सो’ मा ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन । यसबारे संसारकै दुई प्रमुख जहाज निर्माता कम्पनी अमेरिकाको बोइङ र युरोपको एयरबसले पनि कुनै घोषणा गरेनन् ।

नयाँ जहाज खरिद–बिक्रीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने चलन रहे पनि त्यसलाई आयोजकले स्थगित गरेका छन् । बोइङ र एयरबस दुबै कम्पनीले एउटा पनि प्रमुख कारोबार नभएको जानकारी दिएका छन् । त्यसैगरी ब्राजिलको जहाज निर्माता एम्ब्रेयर र क्यानडाको जहाज निर्माता बम्बार्डियर जसले साना जहाज उत्पादन गर्छन्, तिनले पनि कुनै व्यापारिक सम्झौता सार्वजनिक गरेका छैनन् ।

क्षेत्रीय उडान गर्ने वायुसेवा कम्पनीहरू आपूर्ति बढी भएका कारण जहाज संख्या थप्न केही सचेत देखिएका छन् । यद्यपि, हवाई यात्रु संख्या भने केही अवधियता उल्लेख्य दरले बढेको छ । फेब्रुअरी ६ देखि ११ सम्म सिंगापुरमा एयर सो आयोजना भए पनि अन्तिम दुई दिन भने सर्वसाधारणका लागि खुला गरिएको थियो।
‘अधिकांश जहाज निर्माता कम्पनी कारोबार मूल्यांकनमाथि विश्वस्त भइरहेका थिए, तर हामीसँग भएको संख्याले कुनै अर्थ राखेन,’ एयर सोका प्रबन्ध निर्देशक लेक सेटले भने ।

‘नयाँ जहाज बिक्रीमा सबैभन्दा कम संख्या रेकर्ड भएको छ,’ आइएचएस मार्किटका प्रमुख अर्थशास्त्री राजिब विश्वासले भने, ‘सन् २०१४ को यही एयर सोमा ३२ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद–बिक्री भएको थियो भने २०१६ मा १२ अर्ब ७० करोड डलरको कारोबार भएको थियो । तर, यसपालि ती दुवै वर्षका अंकलाई छुन सकिएन ।’

एयर सोमा सामान्य संख्यामा जहाज बिक्री भएपछि तीव्र गतिमा बढिरहेको एसियाको उड्डयन बजारमा भिन्नता देखापरेको छ । युरोपेली जहाज निर्माता एयरबसले सन् २०१७ देखि २०३६ भित्र एसियाली बजारलाई यात्रुबाहक र कार्गो गरी नयाँ १४ हजार थान जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गत वर्ष नै गरेको थियो । यो भनेको विश्व उड्डयन बजारको कूल मागको ४२ प्रतिशत हो ।

‘गएका पाँच वर्षमा एसिया प्रशान्त क्षेत्रका धेरै वायुसेवा कम्पनीले ठूलो संख्यामा जहाज खरिद अर्डर गरेका थिए,’ विश्वासले भने, ‘त्यही अर्डरअनुसार बोइङ र एयरबसले अझै जहाज आपूर्ति गर्न सकेका छैनन् ।’
अस्ट्रेलियामा मुख्यालय रहेको उड्डयन विश्लेषण कम्पनी सेन्टर फर एसिया प्यासिफिक (कापा) का अनुसार मलेसियाको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्लैले आफ्ना जहाज संख्या दुई सय चारबाट बढाएर सन् २०२१ सम्ममा तीन सय पुर्याउने घोषणा गत वर्ष नै गरेको थियो ।

यता अनुसन्धान कम्पनी एन्डेउ एनालिटिक्सका सुकोर युसोफले कमजोर नाफाका कारण एसियाली वायुसेवा कम्पनीहरूले जहाज खरिदमा त्यति चासो नदिएको दाबी गरेका छन् । ‘यद्यपि, एसियामा यात्रु चाप भने उल्लेख्य दरमा बढिरहेको छ तर नाफा भने सामान्य मात्र छ,’ उनले भने, ‘वायुसेवा कम्पनीलाई पैसा आम्दानी गर्न असाध्यै गाह्रो छ ।’

मध्यपूर्व एसियाका ठूला र धनी वायुसेवा कम्पनीले यसअघि गत नोभेम्बरमा दुबईमा आयोजित दुबई एयर सोमा ठूलो परिमाणमा जहाज खरिद अर्डर गरेका थिए । तर, यसपालि सिंगापुर एयर सोमा उनीहरूले खासै चासो दिएनन् । एसियाका ठूला वायुसेवा सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज लगायतले सस्तोमा उडान गर्ने बजेट एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नुपरेका कारण थप जहाज खरिद अर्डर नगरेको विश्लेषकको भनाइ छ ।
सानो सफलता
सिंगापुर एयर सोमा ठूला जहाज निर्माता कम्पनीले पर्याप्त खरिद अर्डर नपाए पनि साना आकारका जहाज निर्माता कम्पनीले भने उल्लेख्य सफलता हात पारेका छन् । फ्रान्स र इटालीको संयुक्त लगानीमा स्थापित टर्बोप्रप जहाज निर्माता कम्पनी एटिआरले यो एयर सोमा दक्षिणपूर्वी एसियाली वायुसेवा बैंकक एयरवेज र बर्जेया होटल्स एन्ड रिसोर्ट्सलाई १२ करोड डलरमा ६ थान जहाज बिक्री गरेको छ । जापानको जहाज निर्माता कम्पनी होन्डा एयरक्राफ्टले आठ करोड डलरमा फ्रान्सेली एयर ट्याक्सी सञ्चालक विजेटलाई १६ थान होन्डाजेट बिक्री गरेको छ ।

त्यसबाहेक जहाज मर्मत, ओभरहल क्षेत्रले भने एयर सोमा राम्रो व्यापार गरेको छ । जहाज निर्माता बोइङले यो सो अवधिमा ९० करोड डलरबराबरको मर्मत अर्डर प्राप्त गरेको घोषणा गरेको छ । जसमा मलेसियाको सरकारी वायुसेवा कम्पनी मलेसिया एयरलाइन्स र जापानको अल निप्पोन एयरवेजका जहाजका ल्यान्डिङ गियर फेर्ने सम्झौता भएको छ ।
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App