६ वैशाख २०८१ बिहीबार
अर्थ

हरिवनमा सडकको काम अधुरै, नयाँरोडमा सुरु

हरिवनबजारस्थित राजमार्गको किनारस्थित रेलिङमुनी बनाइएको पक्की नाला माटोले पुरिएको अवस्थामा । (तस्बिर:टंक क्षेत्री- नागरिक)

सर्लाही – हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ नाला र रेलिङ (बार) निर्माणको काम अधुरै छाँडिदा हरिवन बजार अव्यवस्थित देखिएको छ । हरिवन बजारको काम अधुरो रहँदारहँदै सोही प्रकृतिको काम डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले नयाँरोडमा १५ दिनदेखि काम सुरु गराएको छ ।

निर्माण कार्य जिम्मा लिएको ठेकेदारले बीचैमा काम छाडेपछि सडक विभागको उक्त काम अधुरै रहेको हो । नाला निर्माण भएपनि माथिबाट स्ल्याभ (ढकनी) नराखिएकाले माटो र फोहोरले पुरिएको छ भने रेलिङ (बार) निर्माणका लागि ठड्याइएका पिलरसमेत भाच्चिएर यत्रतत्र लडेका छन् ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर रामेश्वर साहले ठेकेदारले बीचमै छाडेर हिँडेका कारण काम अधुरै रहेको जानकारी दिए । ‘ठेकेदारलाई काम गर्न स्थानीयले अवरोध गरेकाले त्यहाँको काम अधुरै रहेको हो,’ उनले भने, ‘त्यसैले सोही बजेटबाट नयाँरोडमा काम सुरु गराएका छौं ।’

हरिवनमा एक वर्षअघि नै उक्त काम सुरु भएको थियो । तर ठेकेदारले बचमै काम छाडेपछि निर्माण गरिएको नाला पुरिएको छ भने बजारमा कतै रेलिङ ठडिएको छ भने कतै खाली रहेको छ ।उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहन श्रेष्ठले नाला एवं रेलिङ निर्माण कार्य अधुरै छाडिँदा हरिवन बजार अव्यवस्थित देखिएको बताए । ‘कतै नालामा स्ल्याभ नै राखिएको छैन त कतै रेलिङको पिलरमा पाइप नै राखिएको छैन,’ उनले भने, ‘बनाएको नालासमेत पुरिइसकेको छ ।’

बजार क्षेत्रको करिब एक किलोमिटर राजमार्ग खण्डको दायाँबायाँ नालासहितको रेलिङ निर्माण कार्य सुरु भएपनि आधाभन्दा कम काम भएर त्यसै रोकिएको हो । डिभिजन सडक कार्यालयले स्थानीय सरोकारवाला पक्षसँग समन्वय गरेर काम पूरा नगराउँदा हरिवन बजारको स्वरुप नै बिग्रेको मात्र नभई राज्यको लाखौं बजेट दुरुपयोग भएको स्थानीयको आरोप छ । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले हरिवन बजारको काम पूरा गराउन डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा पहल भइरहेको जानकारी दिए ।

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App