८ वैशाख २०८१ शनिबार
समाज

वडाध्यक्षका छोरा अपहृत

अपहृत बालक मोहम्मद एमान ।

कपिलवस्तु – मायादेवी गाउँपालिका– ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षीय छोरा मोहम्मद एमान अपरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः ३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।

एमान कान्छो छोरा हुन् । सुमैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो रङका पल्सर मोटरसाइकलमा आएका २ जनाले अपरण गरी लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मुसलमानले बताए । अपरणबारे आफूलाई दिउँसो ढाई बजेतिर मात्र थाहा भएको उनले बताए । ‘ड्रेस लगाएर मदरसा जानेक्रममा घरको ५० मिटर जति दक्षिणमा रहेको काब्राको रुखमुनिबाट छोरा अपरणमा परेछ,’ उनले भने । उनका अनुसार मुखमा पट्टी बाँंधेका अपहरणकारीलाई गाउँका २ बालिकाले  देखेका थिए । ‘चाकरचौडामा रहेको वडा कार्यालयमा पुर्याइदिन्छौं भनी उनीहरूले फकाएर छोरालाइ अपहरण गरेका रहेछन्’, मुसलमानले भने । बालकलाई अपहरण गरिएको स्थलदेखि भारतीय सीमा सात सय मिटर दुरीमा छ ।

बालककी आमा साजाहाले पनि आफूलाई अपहरणबारे दिउँसो २ बजेपछि थाह भएको बताइन् । ‘छोरा मदरसाबाट दिउँसो २ देखि ३ बजेबीचमा सधैं घर आउँथ्यो तर त्यो दिन आएन’, उनले भनिन्, ‘सोधखोज गर्दै जाँदा २ जनाले मोटरसाइकलमा राखेर लगेको पत्ता लाग्यो ।’ छोरालाई कसले र किन अपहरण गरेको भन्नेबारे अझै थाहा नभएको उनले बताइन् । ‘ मेरो मुटुको टुक्रालाई कसले लग्यो होला, कहाँ, कुन अवस्थामा होला’,  अपरहणबारे घरमा जानकारी लिन पुगेका सञ्चारकर्मीसँग उनले रुँदै भनिन् । उनले छोराको सकुशल रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरिन् ।

आफ्नो छोरालाई नसिम खाँ बादशाहले अपहरण गराएको आरोप वडाध्यक्ष मुसलमानले लगाएका छन् । स्थानीय तहको चुनावपछि नसिमले आफूलाई वडाको आयस्रोत जिम्मा दिन भन्दै पटकपटक धम्की दिने गरेको मुसलमानले बताए । ‘वडाको बुलाहिहवस्थित पोखरीको आयस्ता नसिमले नै यसअघिसम्म जबरजस्ती कब्जा गरेका थिए,’ मुसलमानल भने, ‘पोखरीको आयस्ता दिन अस्वीकार गरेपछि नसिमले नै मेरो छोराको अपरहण गराएका हुन् ।’ हत्या, अपहरण, लुटपाटका मुद्दामा अदालते दोषी ठहर गरेपछि नसिम भारतमा बस्दै आएको पनि मुसलमानले बताए । नसिमकी पत्नी फौजिया नसिम एमाले कोटाबाट प्रदेशसभामा मनोनीत सदस्य छिन् ।

चालू अर्थिक वर्षका लागि गाउँंपालिकाले सो वडालाई १ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको र पोखरीको समेत  आयस्ता वार्षिक ७ लाख रुपैयाँ बढी हुने वडाध्यक्ष मुसलमानले बताए । ‘वर्षौंदेखि नसिमले सो वडामा आफ्नो दबदबा कायम गर्दै आएका थिए । अहिले उसले भनेको आफूले नमानेपछि  छोरा अपहरणको कदम उठाएको हो’, मुसलमानको आरोप छ । अपहरणबारे छिमेकी ससरुद्दिन मुसलमानले फोनबाट जानकारी गराएका थिए । त्यसबेला वडाध्यक्ष मुसलमान गाउँपालिका कार्यालयमा थिए ।

अपरहण घटनालगत्तै त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक भोजजजंग शाहले प्रहरीलाई घटनाबारे बिहीबार साँझ ५ बजेमात्र जानकारी गराइएको बताए । उनले बालकका परिवारतर्फबाट मौखिक जानकारी मात्र गराइएकाले अपहरण या बालक हराएको अझै स्पष्ट नभएको बताए । ‘बालक खोजीका लागि प्रहरी परिचालन गरेका छौं,’ उनले भने । घटनामा नसिमको संलग्नताबारे अझै केही नखुलेको बताए ।

अपहरण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गाउँपालिकाले ४८ घन्टाभित्र बालकलाई को सकुशल मुक्त  नगरिए गाउँपालिकाका सबै कामकाज ठप्प पार्ने निर्णय गरेको छ । गाउँपालिकाको पडकीमा शुक्रबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । गाउँपालिका प्रमुख बजंगी चौधरीले बालकको सकुशल रिहाइ, दोषीमाथि कारबाही र वडाध्यक्ष मुसलमानको सुरक्षा गर्न प्रशासनसँग माग गरेका छन् । उनले माग पूरा नभए गाउँपालिकाको सबै कामकाज ठप्प पार्ने चेतावनी दिए । मुसलमान बहुजन शक्ति पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App